काठमाडौं, १६ भदौ । कोरोना विरुद्धको उपचारमा प्रयोग हुँदै आएको रेम्डेसिभिरको इन्जेक्सन अब नेपालमा आधिकारिक रुपमा उपलब्ध हुने भएको छ । कोरोनाको उपचारमा प्रभावकारी देखिएको भन्दै विश्वका विभिन्न देशहरुमा परीक्षणकै हिसाबले प्रयोगात्मक रुपमा उपचारमा प्रयोग हुँदै आएको उक्त इन्जेक्सन अब नेपालमा पनि उपलब्ध हुने भएको हो ।
रेम्डेसिभिरको इन्जेक्सनलाई विश्वप्रख्यात औषधि उत्पादक संस्था सिप्ला लिमिटेडले उत्पादन गरेको हो । नेपाली बजारमा उक्त लाइफोलाइज्ड पाउडर इंजेक्सन (सिप्रिमी) नेपाली बजारमा आएको बताईएको छ । नेपालका लागि सिप्रिमीको आधिकारिक वितरक येटिचेम वितरक प्रा. लिमिटेडले रेम्डेसिभिरको पहिलो ब्याच सिप्रिमी १०० मिग्रा नेपाली बजारमा ल्याएको हो ।
सोमबार राजधानीमा ‘भर्चुअल प्रेस मिट’को आयोजना गर्दै कम्पनीले सिप्रिमी ल्याइएको घोषणा गरेको हो । वितरक येटिचेमले मुलकमा कोरोना भाइरसको संक्रमण र जोखिम बढिरहेको अवस्थामा बजारको माग र आवश्यकताको आधारमा कम्पनीले सिप्रिमीको माग गरेको र उता उत्पादक कम्पनी सिप्लाले पनि इंजेक्सन दिन तयार भएकाले बजारमा सिप्रिमी उपलब्ध गराउन सकिएको जनाएको छ ।
उक्त इंजेक्सन कोभिड-१९ उपचारको प्रतिवद्धतासहित तत्काल आवश्यकताका आधारमा औषधि प्रशासन विभाग (डीडीए) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत स्वीकृतिमा आयात गरिएको कम्पनीले जनाएको छ ।
४८० शीशाहरूमा उपलब्ध सिप्रिमीको सानो ईकाई १०० मिग्रा कम्पनीले नेपाली बजारमा उपलब्ध गराएको छ । पहिलो चरणमा १०० मिग्रा उपलब्ध गराएको येटिचेमले सिप्लाले उत्पादन गरेको रेम्डेसिभिरको थुप्रै जेनेरिक उत्पादनमध्ये यो नै सबैभन्दा कम मूल्यको भएको बताएको छ । यसको नेपाली बजार मूल्य प्रति शीशी ६ हजार ४ सयरुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
सिप्रिमीको घोषणा गर्दै येटिचेम डिस्ट्रिब्युटरका अध्यक्ष प्रभु आर वैद्यले दुई हजार (२०००) शीशीको लागि अनुमति पाएको बताए । उनका अनुसार औषधि तीन ब्याजमा उपलब्ध हुनेछ । ४८० शीशाहरुको दोस्रो ब्याच १० सेप्टेम्बरमा उपलब्ध हुनेछ भने बाँकी १०४० शीशाहरु २५ सेप्टेम्बरसम्ममा उपलब्ध गराइनेछ ।
नेपालमा कोभिड-१९ बाट संक्रमित गम्भीर बिरामीको संख्यामा उल्लेख्य वृद्धि भएदेखि नै सरकारले खाँचोमा परेका बिरामीलाई रेम्डेसिभिर दिने व्यवस्था गरेको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी) द्वारा डाक्टरहरूको प्रत्यक्ष निगरानीमा राखिएको प्रोटोकल र दिशानिर्देशहरू पालन गरेर मात्र विरामीहरुमा रेम्डेसिभिरबाट उपचार गर्न पाइनेछ । तर रेम्डेसिभिरबाट विरामीमा कुनै खालको साइड इफेक्ट नहुने कम्पनीले जनाएको छ ।
COMMENTS