जनता आवास कार्यक्रममार्फत तनहुँमा १९९ घर निर्माण

दमौली, १६ भदौ । जनता आवास कार्यक्रममार्फत तनहुँमा १९९ घर निर्माण गरिएको छ । गरिब तथा आर्थिकरुपमा विपन्न परिवार छनोट गरी जिल्लाको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका र ऋषिङ गाउँपालिकामा घर निर्माण गरिएको हो ।

निर्माण गरिएका घरमध्ये एक जना लाभग्राहीले मात्रै चार किस्ता गरी रु तीन लाख ३२ हजार ५०० भुक्तानी पाएका छन् । त्यस्तै ४८ लाभग्राहीले तेस्रो किस्ताबापतको रु दुई लाख ९९ हजार २५० भुक्तानी पाएका छन् । शहरी विकास तथा भवन कार्यालय गोरखामार्फत तनहुँको शुक्लागण्डकी नगरपालिकामा ३०, भीमाद नगरपालिकामा २८, व्यास नगरपालिकामा ३७, भानु नगरपालिकामा २४, म्याग्दे गाउँपालिकामा २२, बन्दीपुर गाउँपालिकामा १३, आँबुखैरेनी गाउँपालिकामा १३, देवघाट गाउँपालिकामा १७ र ऋषिङ गाउँपालिकामा १५ घर निर्माण गरिएको जनता आवास कार्यक्रम तनहँुका प्राविधिक शङ्कर गैह्रेले जानकारी दिए ।

बाँकी लाभग्राहीले भने पहिलो र दोस्रो किस्ताबापतको रकम मात्रै पाएका छन् । तनहुँ जिल्लामा नै पूर्वाधार विकास कार्यालय स्थापना भएको र सोही कार्यालयमा जनता आवासको बजेट आउने भएकाले त्यसपछि मात्रै अन्य लाभग्राहीलाई भुक्तानी दिन सकिने उनले बताए । “जनता आवास कार्यक्रमका लागि रु एक करोड ३९ लाख बजेट आउने तयारी छ, उक्त बजेट आएपछि बाँकी लाभग्राहीलाई भुक्तानी दिन्छौँ”, उनले भने ।

विसं २०६७ देखि सञ्चालनमा रहेको जनता आवास कार्यक्रम सङ्घीय सरकारले प्रदेश सरकार मातहत सञ्चालन गर्दै आइरहेको छ । घर निर्माणको सम्पूर्ण काम शहरी विकास तथा भवन कार्यालय गोरखामार्फत हुँदै आइरहेको छ । उक्त कार्यालयले तनहुँसहित गोरखा, लमजुङ, मनाङ र नवलपुरमा जनता आवास कार्यक्रममार्फत घर निर्माणको काम गरिरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति