अस्ट्राजेनिकाको कोभिड–१९ को खोप तेस्रो चरणमा

वासिङ्टन, १६ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताए ।

उनले अस्ट्राजेनिकाको खोपलाई अमेरिकी सरकारले जतिसक्दो चाँडो अनुमति दिने तयारी गरेको पनि बताए । पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले भने“अस्ट्राजेनिकाको खोप तेस्रो चरणमा प्रवेश गरेको घोषणा गर्न पाउँदा मलाई खुशी लागेको छ । अरु पनि खोपहरु अहिले तेस्रो चरणमा प्रवेश गरिसकेका छन् । संयुक्तराज्य अमेरिकामा मानिसले नसोचेको रुपमा हामीले काम गरिरहेका छौं ।”

उनले यो प्रक्रियालाई वर्षौं लाग्न सक्थ्यो भन्दै आफ्नो प्रशासनले केही महिनाभित्रैमा सफलता हासिल गर्न सकेको दाबी गरे । बेलायतको अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धाताहरुले तयार पारेको अस्ट्राजेनिकाको खोप संयुक्तराज्य अमेरिकाका ८० स्थानमा करिब ३० हजार वयस्क व्यक्तिलाई लगाउने तयारी गरिएको छ ।

अस्ट्राजेनिकाले एक व्यक्तव्य जारी गर्दै संयुक्तराज्य अमेरिकामा १८ वर्ष वा सोभन्दा माथिको उमेरका करिब ३० हजार व्यक्तिलाई तेस्रो चरणको परीक्षणमा समावेश गर्न लागिएको जनाएको छ । यो खोप स्वस्थ व्यक्ति वा एचआईभी भएका वा नयाँ कोरोनाभाइरस संक्रमण हुनसक्ने सम्भाव्य व्यक्तिलाई दिइनेछ । अस्ट्राजेनिकाले जनवरी २०२१ सम्ममा कोभिड–१९ का लागि प्रभावकारी खोप तयार पार्ने उद्देश्यसहित कार्य गरिरहेको छ । कम्पनीले पहिलो चरणमा करिब ३० करोड सुरक्षित खोप उत्पादन गरी वितरण गर्ने योजना बनाएको छ ।

अस्ट्राजेनिका अहिले कोभिड–१९ को खोप उत्पादनका लागि अग्र स्थानमा रहेको छ । तेस्रो चरणको खोप परीक्षणका क्रममा रहेका अन्य कम्पनीहरुमा अमेरिकाका मोडर्ना र पिफाइजर रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board