कोरोनाको त्रासः महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा, सप्तरीमा सात दिन निषेधाज्ञा

महोत्तरी, १६ भदौ । कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले थप एक साता अवधिका लागि यो आदेश जारी गरेको हो ।

सोमबार थपिएको निषेधाज्ञाको अवधि भदौ २२ गतेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जारी गर्नुभएको आदेशमा उल्लेख छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि लागू हुनेगरी भदौ १ गते १० दिनका लागि निषेधाज्ञा घोषणा गरेको थियो । यद्यपि त्यसअघि पनि साउन २१ गते नै जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्र र महोत्तरी गाउँपालिका–३ र ५ मा निषेधाज्ञा जारी थियो ।

भदौ लागिकन जिल्लाभरि जारी गरिएको निषेधाज्ञाबीच नै यहाँ सङ्क्रमण ह्वात्तै बढेको छ । जिल्लामा कोरोना भाइरसबाट मृत्यु भएका कूल १० मध्ये आठको मृत्यु भदौ लागिकन भएको हो । तीमध्ये दुई जनाको मृत्यु सोमबार भएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ । जिल्लामा सोमबार साँझसम्म ११९ महिला र एक हजार १२४ पुरुषसहित एक हजार २४३ जनामा सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये सात जनामा सोमबार नै पुष्टि भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । भदौ लागेयताका १५ दिनमा जिल्लामा २३४ नयाँ सङ्क्रमित थपिएका छन् ।

जिल्लामा लगातार निषेधाज्ञा थपिँदै गए पनि यसको अनुगमन भने नभएको गुनासो बढेको छ । साना सवारी साधन ९साइकल, मोटरसाइकल, जिप, टेम्पु० निर्वाध चल्नु र जताततै भीडभाड बढे पनि त्यसको निगरानीमा प्रहरी, प्रशासन र स्थानीय तहको नेतृत्व उदासीन देखिएको बर्दिवास–१४ का अम्बिकाप्रसाद गौतमको गुनासो छ ।

सात दिन निषेधाज्ञा
सप्तरी– कोरोना सङ्क्रमणको विस्तारलाई रोकथाम र नियन्त्रण गर्न सप्तरीको तीन स्थानीय तहमा थप सात दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ । कोरोनाको सङ्क्रमण बढी देखिएको राजविराज नगरपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा आगामी भदौ २२ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइने सोमबार निर्णय भएको छ ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले सोमबार जारी गरेको सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ९३० र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम तीन स्थानीय तहमा अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जनाइएको छ ।

सङ्घीय सांसद, प्रदेशसभा सदस्य, राजनीतिक दलका प्रतिनिधिको उपस्थितिमा सोमबार बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा लगत्तै बसेको जिल्ला सुरक्षा समितिको बैठकले सो निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्दकुमार ठाकुरले बताए ।

सप्तरी जिल्लाभरि साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा गए मध्यराति सकिन लागेको बेला बैठकले निषेधाज्ञाको क्षेत्र कम गर्दै तीन स्थानीय तहमा भने जारी राख्ने निर्णय गरेको हो । उक्त क्षेत्रमा अत्यावश्यक सेवाअन्र्तगतका खाद्यान्न, तरकारी र फलफूलका पसल बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइने छ । अन्य स्थानीय तहमा अत्यावश्यक सेवाअन्र्तगत पर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ ।

नेपाल सरकारले सञ्चालन गर्न रोक लगाएको बाहेकका पसल, सेवा र व्यवसाय स्वास्थ्य सतर्कता अपनाएर मात्र सञ्चालन गर्न पाइए पनि साप्ताहिक हाटबजार सञ्चालन गर्न नपाइने निर्णय भएको बैठकमा सहभागी नेकपाका प्रदेश सदस्य सुखराम यादवले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board