पूर्वी लद्दाखमा चिनियाँ र भारतीय सेनाबीच फेरि झडप

काठमाडौं, १५ भदौ । पूर्वी लद्दाखमा सोमबार भारतीय र चिनियाँ सेनाबीच फेरि झडप भएको छ। सोमबार पूर्वी लद्दाखमा दुई देशका सेनाबीच झडप भएको भारत सरकारले नै पुष्टि गरेको हो ।

चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई भारतीय सेनाले रोकेको बताइएको छ। भारले चिनियाँ सेनाले सीमा सम्बन्धी भएको सहमति उल्लंघन गरेका कारण झडप भएको दाबी गरेको छ । भारतीय अधिकारीहरुले जनाए अनुसार चिनियाँ सेनाले सीमामा यथास्थितीको अवस्था बदल्न खोज्दा भारतीय सेनाले त्यसको प्रतिकार गरेको जनाईएको छ ।

भारतले चिनियाँ सेनासँग झडप भएको बताएपनि चिनियाँ पक्षले यस विषयमा कुनै प्रतिक्रिया नदिएको बीबीसीहिन्दीमा समाचार छ । यस झडपमा भएको हताहतीको विषयमा भने कुनै पनि जानकारी दिईएको छैन ।

भारतीय र चिनियाँ सेनाबीच गत जुन १५ मा पनि झडप भएको थियो। साढे २ महिनापछि पुनः दुई देशका सेनाबीच सीमाको विषयमा झडप भएको हो। गत जुनमा लद्दाख नजिकको विवादित क्षेत्र गलवान उपत्यकामा झडप भएको थियो। उक्त झडपमा २० भारतीय सेनाको मृत्यु भएको थियो। चीन पक्षले भने आफ्ना सेनाको अवस्थाको बारेमा जानकारी दिएको थिएन।

हालैको झडप दुईदिन अगाडि अगष्ट २९ को राति भएको भारतीय सेनाको भनाई छ । चिनियाँ जनमुक्ति सेनाले सीमाको यथास्थितीलाई परिवर्तन गर्ने प्रयास गरेपछि भारतीय सेनाले प्रतिकार गर्दै त्यस्तो हुन नदिएको भारतको भनाई छ ।

भारत सरकारको प्रेस सूचना ब्युरोले भारत र चीनका सेनाबीच भएको हालको झडपको विषयमा जानकारी दिएको हो । ब्युरोले भनेको छ, ‘भारतीय सेनाले पाङगोङ सो तालमा चिनियाँ सेनाको उक्साहटपूर्ण कदमलाई रोकिदिएको छ। भारतीय सेना संवादमार्फत शान्ति स्थापना गर्न चाहन्छ। साथै आफ्नो क्षेत्र र अखण्डताको सुरक्षाको लागि पनि प्रतिबद्ध छ। यहाँ जारी विवादको विषयलाई लिएर ब्रिगेड कमाण्डरस्तरमा बैठक जारी छ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board