२३८ दिनको भोक हड्तालबाट टर्कीकी कानुन व्यवसायी इब्रुको निधन


एजेन्सी । टर्कीका श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी कानुन व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ । उनलाई टर्कीको फासिवादी एकेपी सत्ताले सेप्टेम्बर २०१७मा गिरफ्तार गरेको थियो ।

आफूलगायत गिरफ्तार साथीहरुको रिहाई, जेलभित्र मानवीय व्यवहार गर्न र स्वच्छ र स्वतन्त्र न्यायालयका लागि माग राखेर उनले जेलभित्रै भोक हड्ताल सुरु गरेकी थिइन् । उनलाई उनको प्रोग्रेसिभ लयर्स एशोसियसनका आफ्ना १८ जना सहकर्मीसँगै गिरफ्तार गरिएको थियो । परिवर्तन, न्याय र समानताको पक्षमा आवाज उठाउने उनीहरुलाई टर्कीको सत्ताले प्रतिबन्धित पार्टी रेभ्युलुसनरी पिपुल्स लिबरेसन फ्रन्टको सदस्य भएको आरोप लगाउँदै आतंकवादी करार गरेको थियो ।

कानुन व्यवसायी तथा मानवअधिकारकर्मी इब्रु तिम्तिक

तिम्तिकलाई गत मार्चमा १३ वर्ष ६ महिनाको लामो काराबासको सजाय सुनाइएको थियो । कठोर कारावासमै तिम्तिकले जनवरी २ देखि स्वच्छ सुनुवाइ, स्वतन्त्र न्यायलय जस्ता न्यायपुर्ण मागहरु राखी भोक हडताल सुरु गरेकी थिइन् ।

लामो समयको भोक हडतालका कारण उनको स्वास्थ्यमा गम्भीर समस्या पैदा भएपछि बन्दी अवस्थामा नै उनलाई जुलाई ३० मा अस्पताल भर्ना गरेको भए पनि आफ्ना माग पुरा नभएसम्म कुनै औषधी उपचार लिन तिम्तिकले इन्कार गरिन । अन्ततः अगस्ट २७ मा २३८ दिन लामो भोक हडतालसँगै उनले शाहदत प्राप्त गरिन । अस्पतालमा उनलाई राखेको कोठा चिसो र अँध्यारो भएको र औषधी खुवाउन जबर्जस्ती गरेकाले उनको निधन भएको उनका समर्थकहरुले बताउका छन् ।


टर्कीमा तिम्तिक सहित राजनीतिक परिवर्तनका निम्ति भोकहडताल गर्दै यो वर्ष मात्रै टर्कीकी चर्चित जनगायिका हेलिन बेलेक लगायत चारजनाले शाहदत प्राप्त गरेका छन् । ४२ बर्षिया तिम्तिकको सहादत प्राप्त गर्दाको तौल जम्मा ६५ पौण्ड रहेको थियो । तिम्तिकका साथी तथा शुभचिन्तकहरुले उनको शवको विरोध प्रदर्शनसहित अन्त्यष्टी गर्दै गर्दा टर्कीको पुलिसले टियर ग्यास समेत हानेको न्यूज एजेन्सीहरुले उल्लेख गरेका छन् ।

टर्कीको एकेपी फासिवादी शासन व्यवस्था नै तिम्तिकको हत्यारा भएको भन्दै उनका समर्थकहरुले विरोध प्रदर्शन गरिरहेका छन् । र, उनको निधनमा विश्वका कैयौं मुलुकका कम्युनिस्ट पार्टी तथा साम्राज्यवादविरोधी पार्टीहरुले उनको सहादतमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति