काठमाडौँ, १४ भदौ । कोभिड–१९ को जोखिम रोक्न जारी गरिएको बन्दाबन्दी हटेपछि विस्तारै कामको खोजीमा लागेका असङ्गठित क्षेत्रका मजदुर निषेधाज्ञा शुरु भएसँगै पुनःसडकमा आउन थालेका छन् । बजार सबै बन्द भएर कामविहिन भएपछि बाध्यताबस भोक मेटाउन बाध्यताबस सडकमा अउनु परेको मजदुरको दुखेसो छ । काठमाडौँको रत्नपार्कस्थित बसपार्कमा साँझको समयमा झण्डै पाँचदेखि सात सय मजदुर खाना कै लागि भेला हुने गरेका छन् ।
ज्याला मजदुरी गर्ने सिन्धुपाल्चोक कान्छा स्याङतान पाँच महिनादेखि बेकामे छन् । बीचमा बन्दाबन्दी खुले पनि राम्ररी काम पाउनु भएन । बन्दाबन्दी हट्दा ज्याला मजदुरीले जेनतेन खानसम्म पुगेको थियो । निषेधाज्ञा भएपछि भने फेरि पहिले झैँ भोकभोकै बस्नुपर्ने अबस्था आएपछि रत्नपार्कमा संस्थाले बाँडेको खानेकुरा खान थालेको स्याङ्तानले बताउँछन्, उनी भन्छन्, “हामीलाई काम गर्न देउ, गरेर खान्छौँ ।”
उनीहरुलाई हन्ड्रेड ग्रुपलगायत संस्थाले नियमित खाना खुवाउँदै आएको छ । खान पाउने भएपछि उपत्यकाका तीनै जिल्लामा कामविहिन मजदुर दिउँसो तीन बजे नै यहाँ भेला हुन्छन् । उनीहरुलाई चार बजेको समयमा खाना खुवाउने गरेको उक्त गु्रपका संस्थापक अङ्शु यादवले बताए। उनका अनुसार रत्नपार्कमा झण्डै सात सयलाई खाना खुवाउने गरिएको छ । “विगतमा दुई÷तीन सय आउँथे, अहिले बढेर छ/सात सय पुगेका छन्”, यादवले भने, “चैत १३ गतेदेखि हामीले शुरु गरेको खाना खुवाउने अभियान अहिलेसम्म जारी छ ।” विगतमा ठाउँठाउँमा पुगेर खाना खुवाउने गरिए पनि अहिले धेरै ठाउँमा जान नसकिएको उनले बताए ।
सडकमै भेटिनुभएका होटल मजदुर पूर्णप्रसाद पाण्डेलाई विगतमा खानाको दुःख थिएन । बागबजारको होटलमा खाना पकाउने कुक उनी होटल बन्द भएपछि कामविहिन भए । उनी पनि संस्थाले दिएको खाना खान रत्नपार्कमा आउँछन् । शनिबार खानाको लाइनमा बस्नुभएका पाण्डेले अन्य क्षेत्रमा पनि मजदुर भोकभोकै रहेको बताए । थाहा पाएका निकै टाढाबाट खाना खान यहाँ आइपुग्छन् ।
त्यस्तै पीडा काठमाडौँमा १२ बर्षदेखि भारी बोक्दै आउनुभएका सिन्धुपाल्चोकका कुमार श्रेष्ठको पनि छ । कोरोनाले गर्दा काम पाउन नसकेको दुखेसो गर्ने श्रेष्ठ पनि अहिले सडकमा काम विहिन हुनुहुन्छ । कहिलेसम्म खानाको लागि सडकमा भौतारिनुपर्ने हो भनेर उनी पनि चिन्तित छन् ।
विगतमा सरकारले चैत ११ बाट बन्दाबन्दी लागु गरेको थियो । त्यसको अर्को हप्तामा असङ्गठित क्षेत्रका मजदुरलाई सरकारले खाना खुवाउने निर्णय गरेको थियो । सरकारको उक्त निर्णयमा विभिन्न संस्थाले समेत साथ दिए । ठाउँठाउँमा भोजन गराएर भोकाहरुको पेट भर्ने वातावरण मिलेको थियो । बीचमा बन्दाबन्दी खुकुलो हुँदै आएपछि उनीहरुलाई सरकारले काम दिने निर्णय गरेको थियो । उक्त निर्णय कतिपय स्थानीय तहले लागू गरे पनि प्रभावकारी हुन सकेको थिएन । कोभिड–१९ को सङ्क्रमण जोखिम भएको भन्दै उक्त खाना खुवाउने अभियानलाई सरकारले नै निरुत्साहित ग¥यो ।
गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य हुँदा मजदुर कामको खोजीमा हिँडेपछि धेरै मजदुर सडकमा देखिएका थिएनन् । यही भदौ चार गते उपत्यकामा अत्यावश्यक काम बाहेकका गतिविधिमा पूर्ण रोक लगाउने गरी निषेधको आदेश जारी भएपछि भने मजदुर पुनः सडकमा आउन थालेका हुन् ।
त्यसरी सडकमा आएका मजदुरलाई विभिन्न संस्थामा आवद्ध युवाको सक्रियतामा खाना खुवाउँदै आइएको छ । खाना खुवाउने अभियान चलाएको हन्ड्रेड गु्रपले संस्थाले गरेको काम फेसबुकमा हाल्ने गरेको छ । संस्थाका प्रतिनिधि आफैँ पनि पैसा उठाएर मजदुरलाई खानाको जोहो गर्ने गरेका छन् । फेसबुकबाट थाहा पाएर कति मनकारीले सहयोग पनि गर्छन् । त्यही रकमबाट खाना खुवाउने अभियान सफल भइरहेको यादवले बताए । बानेश्वरमा खाना बनाउने र टेम्पुलाई दैनिक एक हजार तिरेर खाना ल्याउने गरिएको छ ।
अभियानमा लायन्स क्लवलगायत विभिन्न संस्थाले सहयोग गर्ने गरेको छ । लायन्स क्लवका प्रतिनिधि इन्द्रबहादुर कार्की सामाजिक उत्तरदायित्व अन्तरगत मजदुरको भोक मेटाउनका लागि आवश्यक सहयोग गर्न थालेको बताउँछन् । उनले मजदुरहरुलाई सरकारले उचित व्यवस्थापन गर्न सके प्रभावकारी हुने सुझाव दिए ।
यसरी सडकमा आइपुगेका मजदुरहरुले भने स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सकेका छैनन् । उनीहरुमा प्रभावकारी चेतना समेत पुग्न सकेको देखिएन । सडकका बेवारिसेमा समेत कोभिड–१९ देखिन थालेको वर्तमान अबस्थामा ति मजदुरले सामाजिक दूरी कायम गर्न नसक्दा जोखिम बढ्दो छ । महिनौदेखि प्रयोग भएको फोहर मास्क गोजीमा राखेर बसेका मजदुरले न त हात धुने गर्छन्, न त सेनिटाइज नै प्रयोग गर्न सक्छन् ।
COMMENTS