भारतमा एकैदिनमा ७९ हजारलाई कोरोना संक्रमण

नयाँ दिल्ली, १४ भदौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या वृद्धि हुँदै गइरहेको छ । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् ।

भारतको संघीय स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा ७८ हजार ७६१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जानकारी दिएको छ । मन्त्रालयले आइतबार विहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार योसँगै भारतका कुल सङ्क्रमितहरुको सङ्ख्या ३५ लाख ५० हजारको नजिक पुगेको छ ।

पछिल्लो एक दिनको विवरणमा कोरोनाका कारण मृत्यु भएकाहरुको सङ्ख्या ९४८ रहेको उल्लेख गरिएको छ । भारतमा कोरोनाका कारण सङ्क्रमित भएकामध्ये सात लाख ६५ हजार ३०२ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

कूल सङ्क्रमित मध्ये २७ लाख १३ हजार ९३४ जना भने सङ्क्रमणमुक्त भइसकेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ६३ हजार ४९८ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसबाट विश्वमै धेरै प्रभावित देशहरुको सूचीमा रहेको भारतमा सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्रमा मात्रै अहिलेसम्म एक लाख ८५ हजार ४६७ जना सङ्क्रमित भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यसपछि धेरै आन्द्र प्रदेश, दिल्ली प्रदेश र कर्नाटक प्रदेश क्रमशः रहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board