कोभिड–१९ सङ्क्रमण बढेपछि सुरक्षा सतर्कता बढाइँदै

काठमाडौं, १२ भदौ । कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि रोकथाम र नियन्त्रणका लागि प्रदेश नं ५ का विभिन्न जिल्लामा निषेधाज्ञा तथा लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि रुपन्देहीसहित प्रदेशका विभिन्न जिल्लामा सुरक्षा सतर्कताका लागि निषेधाज्ञा तथा लकडाउन गरिएको हो । कतिपय जिल्लामा लकडाउन यथावत छ भने कतै लकडाउनको तयारी गरिएको छ ।

आज मात्रै रुपन्देहीमा ५२ जना नयाँ कोभिड–१९ सङ्क्रमित थपिएका छन् । जिल्लाका विभिन्न ल्याबमा गरिएका परीक्षणमा दिउँसोसम्ममा जिल्लाका छ पालिकाका ५२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदारनाथ शाहले जानकारी दिए । सबैभन्दा धेरै सिद्धार्थनगरमा १८, बुटवल उपमहानगरपालिकामा १७, तिलोत्तमामा पाँच, मायादेवीमा दुई, शुद्धोधनमा दुई र ओमसतियामा आठ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा, लुम्बिनी प्रादेशिक अस्पतालको ल्याब र नेशनल प्याथ ल्याबबाट आएको रिर्पोट अनुसार २३ महिला र २९ पुरुषमा सङ्क्रमण देखिएको छ । आज थपिएका सङ्क्रमितसँगै जिल्लामा कुल सङ्क्रमितको सङ्ख्या आठ सय ६५ पुगेको छ भने मृतकको संख्या आठ पुगेको छ । जिल्लामा तीन सय ६० जनाले कोरोना जितेका छन् । जिल्लामा सङ्क्रमण बढेपछि प्रशासन कार्यालयले नियन्त्रणका लागि लकडाउनलाई निरन्तरता दिइएको छ । प्रशासनले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

पाल्पामा थप एक हप्ता निषेधाज्ञा

जिल्ला प्रशासन कार्यालय पाल्पाले थप एक हप्ता निषेधाज्ञा जारी गरेको छ । आज राति १२ः०० बजेदेखि यही भदौ १९ गते राति १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानले बताए ।

निषेधाज्ञाको अवधिमा सार्वजनिक सवारीसाधनबाहेक एम्बुलेन्स, शववाहन, खाद्य, सामाग्री, औषधि, पानी, दूध, फलफूल, ग्यास, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा झण्डाबाहक र कुटनीतिक नियोगका सवारीसाधन निर्वाध चल्ने छन् ।

दाङमा आइतबारदेखि लकडाउन

दाङमा आइतबारदेखि एकसातासम्म लकडाउन गरिने भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दाङको आज बसेको बैठकले आइतबार राति १२ः०० बजेदेखि लकडाउन गर्ने निर्णय गरेको हो । केन्द्रका संयोजक तथा दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार यही भदौ २१ गतेसम्म लकडाउन हुनेछ । लकडाउनको समयमा अतिआवश्यकबाहेक अन्य गतिविधि गर्न नपाइने उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board