कोरोना ग्राफमा वृद्धि: सुरक्षा निकायकै सोह्र सयमा संक्रमण

काठमाडौँ, १२ भदौ । विश्वयापी महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको दर सुरक्षा निकायमा समेत बढिरहेको छ । मुलुकभर सङ्क्रमणको ग्राफमा वृद्धि भइरहेका बेला हरेक गतिविधिको अग्रपङ्क्तिमा खटिने सुरक्षा निकाय पनि त्यसबाट अछुतो छैन ।

प्राप्त विवरणमा तीन सुरक्षा निकाय ९नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी मा एक हजार ६३३ जनामा सङ्क्रमण्मा देखिसकेको छ । त्यसमध्ये झण्डै ५० प्रतिशत अर्थात् ८६१ निको भएर घर फर्किएका छन् । सुरक्षा निकायमा गत जेठको पहिलो सातासम्म १२ जनामा मात्रै सङ्क्रमण देखिएको थियो । त्यसपछि सङ्क्रमण दरमा एक्कासी वृद्धि भएको र साउनपछि भने ह्वात्तै बढेको पाइएको छ ।

सबैभन्दा बढी नेपाल प्रहरीमा सङ्क्रमित भेटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले अहिलेसम्म नेपाल प्रहरीका ७९५ जनामा सङ्क्रमण देखिएको बताए । उनका अनुसार उपत्यकामा मात्रै १६३ जना फेला परेका छन् । पाँच सयभन्दा बढी निको भएर फर्किसकेका उनले बताए ।

सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक राजु अर्यालका अनुसार बिहीबारसम्म ४३५ सशस्त्र प्रहरी सङ्क्रमित भएका छन् । त्यसमध्ये १८९ निको भएको र अन्यको विभिन्न स्थानमा उपचार भइरहेको छ । उपत्यकामा मात्रै ७३ जनामा देखिएको उनले जानकारी दिए ।

नेपाली सेनामा आजसम्म ४०३ जनामा सङ्क्रमण देखिएको छ । अहिलेसम्म ११६ जना निको भएर फर्किसकेका सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । प्राप्त विवरणअनुसार अहिलेसम्म मुलुकभर ३५ हजार ५०० भन्दाबढी सङ्क्रमित भइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board