झिमरुक, १२ भदौ । प्युठान ऐरावती गाउँपालिका–६ बिजुली बैरेनीका लालमणि पाण्डेले व्यावसायिक रुपमा घाँसका विरुवा उत्पादन गर्दै आएका छन् । चालिस वर्षीय पाण्डेले १३ वर्षसम्म अस्थायी करारमा साविकका २४ गाविसमा सामाजिक परिचालकको जागिर छोडेपछि व्यवसायिक रुपमा घाँसका विरुवा उत्पादन शुरु गरेको बताए ।
विसं २०७३ मा उनले घरेलु तथा साना उद्योग कार्यालय र पशु कार्यालयमा क्षितिज बाख्रा तथा घाँसेवाली बीउबेर्ना नामक फर्म दर्ता गरी व्यवसाय शुरु गरेका थिए । पहिलो वर्षको चार महिनामै नर्सरीबाट विरुवा उत्पादन गरी बिक्री वितरण गरेको बताउनुभयो । पाण्डेले आफ्नै पाखो बारी र खेतमा करीब चार रोपनी क्षेत्रफलमा घाँसका विरुवा उत्पादन गरेको बताए । हाल फर्ममा डाले र मसिनो गरी करिब १४ हजार घाँसका विरुवा उत्पादन भएका छन् ।
उनले घाँसका विरुवाहरु बिक्री गरेर आर्थिक उपार्जन समेत आर्जन गर्दै आएका छन् । पहिलो वर्ष रु १५ हजार, दोस्रो वर्ष रु ६० हजार, तेश्रो वर्ष रु ६१ हजारबराबरको घास बिक्री गरेको सञ्चालक पाण्डेले बताए । त्यस्तै गत असारमा रु एक लाख २० हजारको घास उत्पादन गरेपनि रु ३७ हजार बराबरको मात्र घाँसका विरुवा बेच्न सफल भएका छन् ।
पाण्डेले गाउँपालिकाबाट रु.५० हजार अनुदान र आफ्नो लगानीमा रु।२५ हजार गरी रु ७५ हजार लगानीमा घाँसका विरुवा उत्पादन व्यवसाय शुरु गरेका थिए । व्यवसायलाई फस्टाउनका लागि स्थानीय तहमा पशु कार्यालयबाट किसानहरुलाई प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिएमा व्यवसायमा फाइदा पुग्ने उनले बताए । पाण्डेले घाँसका विरुवा उत्पादनसँगै बाख्रापालन समेत गरेका छन् । हाल उनको फर्ममा १४ वटा बोयर क्रस बाख्रा रहेको छ ।
COMMENTS