काठमाडौं, १० भदौ । नेपाली कांग्रेसले कोरोना महामारी नियन्त्रणका लागि सरकारले चाल्नुपर्ने कदमहरुका बारेमा १३ बुँदे सुझाव प्रस्तुत गरेको छ । नेपाली कांग्रेसद्वारा गठित कोभिड-१९ अनुगमन समितिको तर्फबाट देशभरिको अवस्थाको निरन्तर अनुगमनका आधारमा प्राप्त निष्कर्ष सरकार समक्ष प्रस्तुत गरेको हो ।
सरकारले लकडाउन गर्ने, खोल्ने, फेरि बन्द गर्ने बाहेक कोरोना संक्रमण रोक्ने र लकडाउनका कारण आर्थिक सामाजिक असरहरुलाई कम गर्न कुनै ठोस योजना ल्याउन नसकेको भन्दै सरकारकै संवेदनहीनताका कारण संक्रमण नियन्त्रण भन्दा बाहिर जान थालेको आरोप कांग्रेसले लगाएको छ । नागरिक जीवन अत्यन्त संकटमा परेको भन्दै यस अवस्थामा तत्कालै गर्नु पर्ने कामहरुका बारेमा सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गठित कोभिड–१९ अनुगमन समितिले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो ।
कांग्रेसले अस्पतालहरुमा आवश्यक अक्सिजनको पूर्ण सुनिश्चितता र भेन्टीलेटरको तत्काल व्यवस्था गर्न माग गरेको छ भने स्वास्थ्यकर्मीहरुलाई विमाको व्यवस्था तत्काल कार्यान्वयन गर्न आग्रह गरेको छ । त्यसैगरि चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि हुने गरेको दुव्र्यवहार र भौतिक आक्रमण रोक्न र दुव्र्यवहार गर्नेमाथि कारबाहीको माग समेत कांग्रेसले गरेको छ ।
COMMENTS