सन्दीपको चौथो खेल बुधबार बिहान

काठमाडौं,९ भदौ । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो चौथो खेल बुधबार बिहान खेल्दैछन् । ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएलअन्तर्गत सन्दीप सम्मिलित टोली जमैका तलावाजले चौंथो खेलमा गुएना अमेजन वारियर्ससित प्रतिस्पर्धा गर्नेछ । जमैका र वारियर्सबीचको खेल बुधबार बिहान सवा तीन बजे शुरु हुनेछ । क्विन्स पार्क ओभलमा हुने उक्त खेलमा जमैका दोस्रो जितको पर्खाइमा हुनेछ । पहिलो खेल जितेको सन्दीपको टोली जमैका त्यसपछिका दुई खेलमा लगातार पराजित भएको थियो ।

जमैकाले पहिलो खेलमा सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले हराएको थियो । दोस्रो खेलमा जमैका ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले तथा तेस्रो खेलमा गुएना वारियर्ससित १४ रनले पराजित भएको थियो । जमैका ३ खेलमा एक जीत र दुई हारका साथ २ अङ्क जोडेर प्रतियोगिताको अङ्कतालिकामा चौंथो स्थानमा छ भने गुएना चार खेलमा दुईमा जीत तथा दुईमा हार बेहोर्दै चार अङ्क जोडेर अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

सन्दीपले हालसम्म खेलेका तीन खेलमा चार विकेट लिएका छन् । सन्दीपले आइतबार गुएनासितको तेस्रो खेलमा चार ओभरमा ८ रन खर्चिएर २ विकेट लिए । यो उनको हालसम्मकै उत्कृष्ट खेल प्रदर्शन थियो । सन्दीपले सेन्ट लुसियाविरुद्धको पहिलो खेलमा ४ ओभरमा २३ रन खर्चेर एक विकेट लिएका थिए । यस्तै ट्रिनबागो नाइट राइडर्सविरुद्ध भएको दोस्रो खेलमा उनले ४ ओभरमा ३० रन दिँदै एक विकेट लिए ।

सन्दीप तेस्रो पटक सिपिएल खेल्दै छन् । उनले यस अघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट तथा दोस्रो पटक सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेलेका थिए । यस वर्षको सीपीएलका लागि जमैकाले २० वर्षीय सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board