काठमाडौं, ९ भदौ । कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न जारी गरिएको निषेधाज्ञाको स्थितिको समीक्षालगायत निर्णय लिन उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक आज बस्दैछ ।
कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्ने तयारी भएको छ ।
बैठकले १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्नेछ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र उपत्यकाभित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।
सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा स्थगनको निर्णय गरेको छ । फोरमले निषेधाज्ञा भदौ १५ गतेसम्म बढाउन पनि सिफारिस गरेको छ ।
फोरमको सिफारिस आज प्रशासनसंगको संयुक्त बैठकमा पेस गरिनेछ । बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि बुधबार राति सकिदैछ । सोमबार नै भक्तपुर र ललितपुर जिल्ला सुरक्षा समिति र डीसीसीएमसी बैठकले निषेधाज्ञाको अवधि बढाउने निर्णय गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्