काठमाडौँ, ८ भदौ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड केयुकेएल आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र सात किमी ढल बिस्तार गर्ने भएको छ ।
उपत्यकामा खानेपानीको बढी समस्या रहेका स्थानमा खानेपानी पाइप बिस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले विभिन्न स्थानमा पाइप बिस्तारको काम गरिरहेको छ ।
उनका अनुसार निर्देशनालयले पाइप बिस्तार गरिसकेका वा आगामी दिनमा गर्न लागेको बाहेकका स्थान छनोट गरी नयाँ पाइप बिस्तार गरिएको हो । उनले भने,“निर्देशनालय पनि नपुगेको र पानीको पनि समस्या रहेका स्थान छनोट गरिएको छ ।”
गत आवमा झण्डै सात किमी ढल निर्माण गरेको लिमिटेडले आगामी आवमा पनि त्यति नै लम्बाईको ढल बिस्तारको योजना बनाएको छ । उपत्यकामा ढल निर्माणको मुख्य जिम्मेवारी लिमिटेडको भए पनि शहरी विकास मन्त्रालय र स्थानीय सरकारले पनि ढल निर्माण गर्दै आएका छन् । आपसी समन्वयको अभावमा वर्षेनी वर्षाको समयमा सडक पानीले भरिने गरेका छन् ।
उनका अनुसार लिमिटेडले ढल आवश्यक भएका स्थनमा निर्माण र मर्मत दुवैलाई कार्यक्रममा राखेको छ । उनले भने “ढल निर्माणको काम मुख्य सडक र भित्रि सडक सबैतिर हुनेछ ।” लिमिटेडले गत आवमा ढल बिच्छाउने कार्यक्रममा लक्ष्यको ९० प्रतिशत प्रगति हासिल गरेको थियो ।
COMMENTS