पहिराले तीन घर बगायो, २५ परिवार विस्थापित

काठमाडौं ८ भदौ । वागचौर नगरपालिका­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन् । ओखरेनी गाउँमा पहिराको उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् । ओखरेनी गाउँमा तीन घर पहिराले बगाएको र गाउँभरिमा सयांै स्थानमा पहिरो गएकाले स्थानीयवासी घर छाडेर विद्यालयमा बसेका छन् । यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ ।

अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घर भासिएको तथा घर वरिपरि पहिरो गएर पुरिने अवस्था भएकाले गाउँले विद्यालयमा बसेको स्थानीयवासी वीरसिंह डाँगीले जानकारी दिए। “यस ठाउँमा सय वर्ष पहिले यस्तै खालको पहिरो गएको हो भन्ने सुनेका थियौ, आज आफ्नै आँखाले यस्तो विजोग देख्नुप¥यो”, उनले भने ।

पहिराले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरुको गुनासो छ । “विस्थापित भएर आएकाहरुसँग न त खाने कुरा छ, न लत्ताकपडा नै ल्याउन पाएका छन् । यस्तो अवस्थामा हामी कसरी बस्नू, अहिलेसम्म कतैबाट केही राहत पाएका छैनौं”, स्थानीयवासी पदम खत्रीले भने । वाफुखोलाको ओखरेनीमा पहिराले ठूलो क्षति भएकाले तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको बागचौर नगरपालिका­१२ का वडाध्यक्ष दीपककुमार वलीले बताए । “अहिले वडा कार्यालयमार्फत मुचुल्का तयार गर्ने काम भइरहेको छ र राहतका लागि पहल गरिनेछ”, उनले भने । बाफुखोलामा रहेका करिब ५५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराको उच्च जोखिममा छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board