‘हामीले बेकारमा हिन्दूराष्ट्रको परिचय गुमायौं’

(एक सय चार वर्ष लामो इतिहास बोकेको राणाशासनकालका अन्तिम प्रधानमन्त्री श्री ३ मोहन शम्शेर जंगबहादुर राणाका नाति तथा विजयशम्शेर जबरा र रानी सरला कुमारी राज्यलक्ष्मीका सुपुत्र एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबरासँग देशको विगतदेखिको वर्तमान राजनीतिक परिदृश्य र वर्तमान सरकारको गतिविधि लगायतका विषयमा गरिएको कुराकानीको आधारमा तयार पारिएको आलेखको दोस्रो भाग)

तत्कालीन राप्रपामा भएको दुई फरक राजनीतिक धारको बिजारोपण र वर्तमान राजनीतिक अवस्था
२०३६ सालको जनमतसंग्रहलाई कसरी बुझ्ने भन्ने विषयमा पञ्चहरुमा मुख्यतः दुई पक्ष धार बन्दै गयो । एक, पशुपतिशम्मेर पक्ष र दोस्रो, सूर्यबहादुर थापा पक्षबीच झण्डै दुई पार्टीजस्तै भएर कामहरु भए । जनमतसंग्रहपछि केही खुकुलो भएर गएको राजनीति मरिचमान प्रधानमन्त्री भएर आएपछि केही संकुचित भएको पशुपतिशम्शेरको बुझाइ छ ।

तर यो अभ्याससँगै बहुदल आयो, बहुुदल आएपछिको पछिल्लो वार्तालापमा राजा र पञ्चायतको तर्फबाट लोकेन्द्रबहादुर चन्दले प्रधानमन्त्री र पशुपतिले जलस्रोत, परराष्ट्र, अर्थ, सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालयहरुको जिम्मेवारी सम्हालेका थिए । त्यो बेला निकै अप्ठ्यारो स्थिति भएको र आफूले तत्कालीन प्रधानमन्त्री चन्दलाई प्रमुख सहयोग गरेको पशुपतिको भनाइ छ । तत्समयको वार्तालापमा केही भूलहरु भए पनि अधिकांश कामहरु राम्रै भएको र तत्कालीन पञ्चायत व्यवस्थाबाट राजासहितको बहुदलीय प्रजातन्त्रमा सुरक्षित अवतरणमा आफूहरुले महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

त्यसबेलाको राजनीतिक घटनाक्रमलाई मुख्यतः दुई कालमा परिभाषित गर्दै उनी भन्छन्– मेरा बाजे मोहनशम्शेरले राणाशासनबाट तत्कालीन प्रजातन्त्रमा गराएको सुरक्षित अवतरण जसमा विजयशम्शेरले मुख्य भूमिका खेल्नुभएको थियो भने, अर्को वि.सं.२०१८ सालमा पञ्चायत आएपछि बहुदलीय प्रजातन्त्रका लागि मैले पनि भूमिका खेलें ।’ मुख्यतः त्यो समय मरिचमान सिंहले हिन्दुस्तानसँग ठूलो द्वन्द्वको बाटो रोजेका कारण आफूहरु असहमत भएको र पार्टीभित्रै पनि मुख्यतः दुई धार बन्दै गएको उनले बताए–‘शायद त्यो नभएको भए यति छिट्टै व्यवस्था नबद्लिन पनि सक्थ्यो ।’

मेरा बाजे मोहनशम्शेरले राणाशासनबाट तत्कालीन प्रजातन्त्रमा गराएको सुरक्षित अवतरण जसमा विजयशम्शेरले मुख्य भूमिका खेल्नुभएको थियो भने, अर्को वि.सं.२०१८ सालमा पञ्चायत आएपछि बहुदलीय प्रजातन्त्रका लागि मैले पनि भूमिका खेलें ।’

दुइ तिहाइ सरकारले ऐतिहासिक अवसर गुमायो
वर्तमान सरकार (केपी ओली नेतृत्वको सरकार)लाई ऐतिहासिक रुपमा पनि ठूलो अवसर भएको तर सो अनुसार सरकारले काम गर्न नसकेको उनको ठहर छ । तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादीसहितको एकीकृत पार्टी नेकपाको एलायन्सलाई नेपाली जनताले अभूतपूर्व विश्वास दिएको छ, उनले बताए – ‘यस्तो ठूलो बहुमत बहुदलीय कालदेखि नै कुनै सरकारले प्राप्त गरेको थिएन ।

गिरिजाकाल र हामीहरु नै मन्त्री भएको देउवाकालमा मात्रै अलिकति लामै सरकार चल्यो तर त्यसपछि एकवर्ष, डेढ वर्षभन्दा त बढी सरकार टिक्दै टिकेन । पहिलो पाली स्थायी सरकारले नेपालको विकास गर्न अवसर पाएको हो । तर यो साढे दुइ/तीन वर्षको अवधिमा मैले हेर्दाखेरी चाहिं यो अवसर पूरै खेरगएको छ । के भाको छ र खै ? ठूल्ठूला भ्रष्टाचार भाको छ, तर मुलुक बनाउने काम भाको छैन ।’

अहिले कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारमा पनि सन्तोषजनक काम नभइरहेको उनको ठम्याइ छ । बाहिरबाट छाडा रुपमा मान्छे आउन दिएका कारण उपत्यका लगायत देशैभरमा कोरोनाको जोखिम बढेको भन्दै वर्तमान सरकारप्रति उनले आरोप लगाए– ‘अहिले मुलुकभरी भेन्टिलेटर, आईसियूको कमी भइराछ, यो कसरी रोक्ने, यस विषयमा पनि कुरा भाछैन । रोगसित लड्ने काम सरकारले गर्याछैनन् ।

बरु आफ्नै पार्टीभित्रको झगडामा सरकार व्यस्त छ ।’ बरु, विगतमा केही चीजहरु संस्थागत भए पनि, अहिले हरेक चीजलाई पार्टीकरण गर्ने चलन बढेको उनको बुझाइ छ– ‘मुलुकको हित हेर्न, राष्ट्रको हित हेर्नेभन्दा पनि पार्टीको र व्यक्तिको स्वार्थ हेर्ने चलन बढ्दै गएको छ ।’

आजको परराष्ट्रनीति नाजुक अवस्थामा छ
नेपालको कस्तो दयनीय अवस्था आएको छ भने, मुलुकको मामिलामा विदेशी हस्तक्षेप गर्नु त यसै खराब कुरा हो, नेपाल कम्युनिष्ट पार्टीको झगडा मिलाउने मामिलामा एउटा शक्ति राष्ट्रको दूतावास अगाडि सर्ने अवस्था आयो । कुनै शक्ति राष्ट्रको नेताको थट् (दर्शन)को प्रशिक्षण यहाँको सत्ताधारी पार्टीका प्रमुख नेताहरुलाई गरिन्छ । एमालेले एकताका जनताको बहुदलीय जनवाद अपनाएको छ भन्ने आफूले सुने पनि कुनै एकतन्त्रीय शासन भएको देशको सोचाइ लिइरहेको उनको मूल्यांकन छ– ‘यो अवस्थामा मुलुक स्वतन्त्र छ भनेर कसरी भन्ने ?’ ।

‘परराष्ट्रनीति भनेको राज्यको राष्ट्रिय संस्थागत शक्तिबाट सञ्चालन हुनुपर्नेमा पार्टीहरुको आन्तरिक किचलोले प्रभावित तुल्याइरहेको छ । यसले देशको स्वतन्त्र अस्तित्वमाथि नै खतरा निम्त्याइरहेको छ ।’ यस्ता खेलहरु, क्रियाकलापहरु बढ्दै गएमा नेपाल शक्तिराष्ट्रहरुको क्रिडास्थल समेत बन्न सक्ने उनको चेतावनी छ ।

बहुचर्चित अमेरिकी परियोजना एमसीसीको प्रसंग जोड्दै उनले भने- ‘ठूलो राष्ट्रसगको सम्बन्धलाई पार्टीको झगडामा खेलौना बनाएर तल्लो स्तरको अवमूल्यन नगरौं । यस्ता विषयमा राज्यका संस्थाहरुले निर्णय लिनुपर्छ ।’

‘नेपाल कम्युनिष्ट पार्टीको झगडा मिलाउने मामिलामा एउटा शक्ति राष्ट्रको दूतावास अगाडि सर्ने अवस्था आयो । कुनै शक्ति राष्ट्रको नेताको थट् (दर्शन)को प्रशिक्षण यहाँको सत्ताधारी पार्टीका प्रमुख नेताहरुलाई गरिन्छ । एमालेले एकताका जनताको बहुदलीय जनवाद अपनाएको छ भन्ने आफूले सुने पनि कुनै एकतन्त्रीय शासन भएको देशको सोचाइ लिइरहेको उनको मूल्यांकन छ– ‘यो अवस्थामा मुलुक स्वतन्त्र छ भनेर कसरी भन्ने ?’

सिमा अतिक्रमणविरुद्धको मुद्दामा अभूतपूर्व एकता
भारतबाट अतिक्रमित नेपाली भूमि फर्काउन सरकारले गरेको पहलमा यहाँका राजनीति दल र नागरिकले गरेको समर्थनलाई पशुपतिशम्शेर अभूतपूर्व एकताको रुपमा परिभाषित गर्छन् । ‘पछिल्लो समय जारी भएको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक हुँदा प्रधानमन्त्रीलाई अभूतपूर्व सहयोग भएको छ । तर नक्सा प्रकाशित गरेर मात्रै पुग्दैन । तर हामी भारतसँग लडाइँ गर्न सक्दैनौं, डिप्लोमेटिक रुपमा कुरा गर्नुपर्छ, सम्बन्ध सुधार्नुपर्छ, अलि परिपक्व हुनुपर्छ ।’

तर अहिले प्रधानमन्त्रीले अयोध्या लगायतका विभिन्न विषयमा उठाइरहेको चर्चा भने अपरिपक्वताको उदाहरण भएको उनी बताउँछन् । यसले त तरंग मात्रै मच्चाउने हो, समस्या समाधान नदिने बताउँदै भन्छन्–‘झगडै–झगडा गरेर हुँदैन । संविधान फेरबदल भो, अब यसलाई वस्तुगत रुपमा पनि फेरबदल गर्नुपर्छ । पहल गर्नुपर्छ, कूटनीतिक बाटो अपनाउनुपर्छ तर त्यो भएको छैन । फूर्ति लाउने र डिङ हाँक्ने काम मात्रै भइरहेको छ । परराष्ट्रनीति पनि त्यस्तै, त्यस्तै बन्न थाल्यो ।’

प्रजातन्त्रको सुरुवाती वर्षहरुमा गिरिजाप्रसाद कोइरालाले ३ वर्षे शासनकाल र मनमोहन अधिकारीको ९ महिने सरकार सञ्चालन राम्रोसँग भएको पशुपतिको मूल्यांकन छ । ‘पछि देउवाको कालमा पनि पटक्कै काम नभएको भने होईन । त्यसपछिको सुवर्ण मौका भने वर्तमान सरकारलाई छ । तर, यो मौका बाँदरको हातमा नरिवल जस्तै भयो । राजनीतिमा मूल्य मान्यता नै रहेन,’ उनी भन्छन्– ‘गिरिजा, मनमोहन हुँदासम्म मूल्य-मान्यता राम्रो थियो, पछि राप्रपा, काँग्रेस र सद्भावना पार्टी मिलेर देउवा नेतृत्वको सरकार बन्यो । तर, अहिले त मुलुकको हितमा कुनै काम भएको पाईदैन ।’

‘प्रजातन्त्रको सुरुवाती वर्षहरुमा गिरिजाप्रसाद कोइरालाले ३ वर्षे शासनकाल र मनमोहन अधिकारीको ९ महिने सरकार सञ्चालन राम्रोसँग भएको पशुपतिको मूल्यांकन छ । ‘पछि देउवाको कालमा पनि पटक्कै काम नभएको भने होईन । त्यसपछिको सुवर्ण मौका भने वर्तमान सरकारलाई छ । तर, यो मौका बाँदरको हातमा नरिवल जस्तै भयो । राजनीतिमा मूल्य मान्यता नै रहेन,।’

राप्रपाको भूमिका पनि उल्लेखनीय रहेन
‘त्यसबेला हामी (राप्रपा) ले पनि सत्ता प्राप्त गर्यौं तर केही गर्यौं भन्न सक्ने अवस्था भने छैन । देउवा सरकार ढलाउने खेल मलाई मन परेको थिएन तर, देउवा सरकार ढलेपछि पनि दुइ राप्रपाले दुइ चोटी प्रधानमन्त्री प्राप्त गर्यो । लोकेन्द्रजी र सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुभयो, तर उहाँहरुको कार्यकाल पनि अत्यन्तै छोटो । ७, ८ महिनाको त्यो सरकारको कार्यकालमा केही हुन सक्दैन, यति समयमा त कसैले पनि केही गर्न सक्दैन’, उनी भन्छन्– उल्लेखनीय काम राप्रपाले पनि गर्यो भन्ने ठाउँ छैन । अब छोटो अवधिमा त, बसैको बाउले पनि केही गर्न सक्दैन । सूर्यबहादुरको सरकार त झन् सातै महिनामा ढल्यो । त्यसैले देउवापछिको मौका यही सरकारलाई छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी अझै सान्दर्भिक
‘राप्रपा स्थापना एउटा सोचका साथ भएको हो । जुन सोचले हिन्दू धर्म मुलुकमा हुनुपर्छ भनेर । जनमुखी शासन, उदारवादी शासन प्राप्त गर्नुपर्छ । राष्ट्रप्रमुख व्यवस्था उचित भएन भन्ने दुइ लहरको संयुक्त र राप्रपा एक हुने प्रयास जारी छ । हामी एकत्रित भएपछि एउटा शक्ति निर्माण हुने आशा छ । कताकता मान्छेको दृष्टिमा कम्युनिष्ट पार्टी पनि नासिंदै गइरहेको र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि जति विरोध गर्नुपर्ने हो त्यो गर्न सकिरहेको छैन ।’ काँग्रेस विरोधी पार्टी हो कि के हो, बुझ्न नसकेको भन्दै उनले बताए ।

‘यो अवस्थामा एउटा वैकल्पिक शक्तिको रुपमा जसले मूल्य र मान्यताको राजनीति गर्दै जनपक्षीय काम गर्न सकोस्, भन्ने उद्देश्यकासाथ मिलेर अगाडि बढ्ने तयारीमा राप्रपा छ । हामीले अहिलेको अवस्थामा नेपालको मूल सोच हिन्दु धर्मलाई लिएर अगाडि बढ्या’छौं । हामी मुलुक चलाउन सक्ने हिन्दु पक्षधर शक्तिहरु एक भएर मुलुकलाई नयाँ बाटोतिर लैजान्छौं ।’ उनी राप्रपाको सान्दर्भिकता पुष्टि गर्दै भन्छन्

‘यो अवस्थामा एउटा वैकल्पिक शक्तिको रुपमा जसले मूल्य र मान्यताको राजनीति गर्दै जनपक्षीय काम गर्न सकोस्, भन्ने उद्देश्यकासाथ मिलेर अगाडि बढ्ने तयारीमा राप्रपा छ । हामीले अहिलेको अवस्थामा नेपालको मूल सोच हिन्दु धर्मलाई लिएर अगाडि बढ्या’छौं । हामी मुलुक चलाउन सक्ने हिन्दु पक्षधर शक्तिहरु एक भएर मुलुकलाई नयाँ बाटोतिर लैजान्छौं ।’ उनी राप्रपाको सान्दर्भिकता पुष्टि गर्दै भन्छन्– ‘जब यो मुलुक हिन्दू थियो, संसारभरी एउटै मात्र हिन्दूराष्ट्र थियो, नेपाल । चाहे त्यो हिजो अयोध्यामा पर्ने हिन्दुस्तानमा होस्, चाहे संसारभरका हिन्दुहरुले हेर्ने ठाउँ यो हाम्रो नेपाल हिन्दूराष्ट्र थियो ।

हामीले त्यो परिचय बेकारमा गुमायौं । सम्पूर्ण हिन्दूहरुको हृदय प्रतिबिम्ब गर्ने स्थलको रुपमा नेपाल अगाडि बढ्न सक्ने स्थिति छ । यो पशुपतिनाथको मुलुक, सीताको जन्मस्थल र यसको साथसाथै हिन्दूत्व भनेको बौद्धलाई पनि हिन्दूको अवतार मान्ने यो फराकिलो सोच, सबैलाई समेट्छ । त्यो आधारमा परम्परागत सोच राखेर, मुलुकको हित गर्ने, जनताको उपकार गर्ने पार्टीको रुपमा राप्रपाले आफूलाई प्रस्तुत गरेको छ ।’

आलेखको पहिलो भाग ‘ज्ञानेन्द्र पहिलो पटक राजा हुँदा सिंहदरवारमा उहाँसँग खेल्ने र हेर्ने जिम्मा मेरो थियो’ पढ्न यहाँ क्लिक गर्नुहोस् ।


(यो आलेखको तेस्रो बुधबार प्रकाशित हुनेछ ।)

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board