काठमाडौं, ८ भदौ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापा कोरोना नियन्त्रण गर्न काठमाडौं महानगरलाई सुझाव दिएका छन् । थापाले काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेटेर कोरोना महामारीमा आवश्यक स्रोत र जनशक्ति परिचालन गर्दै महानगरका संरचनालाई गतिशील बनाउन सुझाव दिएका हुन् ।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहनु भएका थापाले आइतबार महानगरका मेयर शाक्य र महानगरका स्वास्थ्य शाखाका प्रमुखलाई भेटेर जनप्रतिनिधिहरूसँग समन्वय गर्न पनि आग्रह गरेका हुन् । ‘उच्च जोखिममा रहेको काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण छ। हामी सबै सहयोग गर्न तयार छौँ,’ भने ।
‘सबै तह र निकायसँग समन्वय गर्नुहोस्। महानगरको संरचनालाई गतिशील बनाउनुहोस्। आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस्। नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो।’ उनले महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला भएको पनि बताए । ‘कन्ट्याक्ट् ट्रेसिङलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्नुपर्छ,’ उनले भने। ‘काठमाडौँका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्नुपर्छ,’ थापाको सुझाव छ।
मेयर शाक्यलाई थापाले राखेका सुझाव
१) ‘काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिनुस्। हामी सँगै काम गर्न चाहान्छौँ। तपाईँ सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस्।
२. महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्न ।
३. कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्डरटोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन ।
४. अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौंका अन्य नगरपालिकासँग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न ।
५. खाद्यान्न पसल दिनको १(२ घण्टा मात्र खोल्न दिँदा झन् भीडभाड बढ्ने हुन्छ । त्यसैले पसल बिहान ६ देखि राति ८ सम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घरपिच्छे सामान पनि पाइन्छ र भीड पनि नहुने हुन्छ ।
६. कोरोना संक्रमणसँग जोडिएका विभिन्न सूचनाहरूलाई लिएर नगरबासी अलमलमा परेका छन् । नगरवासी अलमलमा परेका छन्। नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सोको प्रभावकारी सम्प्रेषण गर्न ।
COMMENTS