सुदूरपश्चिममा आज “नानी गौरा” मनाइँदै

बैतडी, ८ भदौ । सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ । व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ । आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ । सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ ।

हिजो भिजाएका बिरुडाले गौराको पूजाआजा गर्ने चलन रहेको सुर्नया गाउँपालिका–६ का हरिना अवस्थीले बताए । बिरुडाका साथै बारीमा फलेका विभिन्न फलफूलहरु पनि गौरादेवीमा चढाउने प्रचलन रहिआएको छ । उनले भने, “आज दिउँसो गौरादेवीको पूजाआजा गरेपछि साँझपख मिठोमसिनो खाने चलन छ । बिरुडा र फलफूलसहित व्रतालु महिलाले सगुन फाग गाएर गौरादेवीको पूजाआजा गर्छन् ।”

पौराणिक कालमा भगवान् महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले निराहार नित्य आराधना गरी शिव प्राप्त गरेको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झानाका रूपमा यो पर्व मनाउने परम्परा चल्दै आएको स्थानीय संस्कृतिका जानकार गणेशदत्त अवस्थीले बताउनुभयो । दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो ।

भोलि सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ । भोलि नै महिलाहरुले धारण गर्ने विशेष प्रकारको धागो दुबधागो गौरादेवीमा समर्पण गरेर गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन धारण गर्ने चलन रहिआएको छ । तागाधारी पुरुषले जनेउ धारण गरेजस्तै सुदूरपश्चिममा महिलाहरुले गौराको समयमा दुबधागो धारणा गर्ने गर्दछन् । शुक्लपक्षमा परेको गौरालाई उजेली गौरा र कृष्णपक्षमा परेको गौरालाई अँधेरी गौरा भनिन्छ ।

यो वर्ष कोरोना कारण गाउँघरमा गौराको रौनक नभएको स्थानीयवासीले बताएका छन् । कोरोना भाइरसका कारण सामूहिकरूपमा जमघट नहुनुपर्ने भएकाले गौराको रौनक नभएको दशरथचन्द नगरपालिका–२ का गणेशबहादुर बोहराले बताउनुभयो । यो वर्ष सांस्कृतिक पर्वका रूपमा मात्रै गौरा मनाइँदैछ ।

गौराको समयमा सामूहिक खेलिने ठाडो खेल, ढुस्को, धमारीलगायतका सांस्कृतिक खेलहरु यो वर्ष नहुने भएका छन् । सामूहिकरूपमा भीडभाड गरेमा कोरोना जोखिम बढ्नै भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board