निषेधाज्ञा पालना गराउँदै वडाध्यक्ष

चितवन, ७ भदौ । बिहान ८ बजे तिर भरतपुर महानगरपालिका–११ को जागृति चोकमा वडाध्यक्ष बाबुराम अधिकारी निषेधाज्ञा पालना गर्न आग्रह गर्दै सवारी साधन रोक्दै थिए । सँगै रहेका प्रहरीले निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै जरिवाना रसिद काटिरहेका थिए ।

आफैँले भोट दिएर जिताएका वडाध्यक्षले जरिवाना गर्न लगाएकोमा केहीको चित्त दुखाइरहेका थिए । वरपर बसेर हेर्नेहरुले भने वडाध्यक्षको तारिफ गरिरहेका थिए । महानगर क्षेत्रमा आज नवौँ दिन निषेधाज्ञा जारी छ । अधिकारी भन्छन्, “म बिहानैदेखि राति अबेरसम्म वडा सदस्य, प्रहरी, स्वास्थ्यकर्मी र वडा सचिवसहित निषेधाज्ञा पालनका लागि लागिरहेको छु ।”

यो भरतपुर महानगरको सबै भन्दा ठूलो वडा हो । यहाँ ३५ हजार जनसङ्ख्या रहेको अधिकारी बतउँछन् । भरतपुरको मुख्य शहरी क्षेत्र सँगै रहेकाले यहाँ न्यून वगका सुकुम्वासीदेखि सम्पन्नसम्म बसोबास गर्दछन् । वडा सदस्यहरुसहित वडाको भोजाडमा रहेको प्रहरी चौकीमा रहेका प्रहरी सहायक निरीक्षक वसन्त पौडेल, जलदेवी स्वास्थ्य चौकीका प्रमुख चिरञ्जीवी कँडेल, वडा सचिव ओमप्रकाश न्यौपानेले अधिकारीलाई साथ दिईरहेका छन् ।

वडामा हालसम्म १६ जनालाई कोरोना सङ्क्रमण भइसकेको कँडेलले बताए । तीमध्ये एक जनाको मृत्यु भएको छ भने नौ सक्रिय सङ्क्रमित छन् । जिल्लाका सात स्थानीय तहमा ९८ वडा छन् । ती अधिकांश स्थानमा वडाध्यक्ष यसरी नै रोग नियन्त्रणका लागि जुटिरहेका छन् । भरतपुर–३ का वडाध्यक्ष चन्द्रमित्र पण्डित घरमा बस्दा दिनभर फोनमै काम गरिरहनु पर्ने र निषेधाज्ञा लागु गराउन सडकमा जानुपर्दा छुच्चो हुनुपरेको बताए । उनले भने, “निषेधाज्ञा सरकारका लागि नभएर हाम्रा लागि हो । हामी सबै सचेत हुनुपर्छ ।”

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङ जनप्रतिनिधिहरुले निषेधाज्ञा कार्यान्वयन गराउन प्रहरीलाई साथ दिएको बताउँछन् । बिहान सबेरैदेखि राति अबेरसम्म कार्यक्षेत्रमा खटिरहेका छन् । गुरुङले रोगको जोखिमको बारेमा आम जनताले बुझिरहेको बताए । उनले भने, “सबै एकजुट भयौं भने रोगसँग लड्न सक्छौ ।”

जिल्लामा दैनिक सङ्क्रमित बढ्दै गएको छ । आजसम्म सङ्क्रमितको सङ्ख्या ३३३ नाघिसकेको छ भने जिल्लाका तीन जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ । दैनिक सङ्क्रमित बढ्दै गएपछि जिल्लाभर निषेधाज्ञा जारी छ । बिहान र बेलुका अत्यावश्यक पसलहरु खुलेका भए पनि अन्यलाई रोक लगाइएको छ । जनप्रतिनिधिहरु यसरी जुटिरहँदा समेत अवज्ञा गर्नेहरु पनि ठाउँठाउँमा भेटिएका छन् । निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई कारवाही तीव्र पारिएको गुरुङले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले वडा तहका जनप्रतिनिधिहरुको भूमिका प्रशंसनीय रहेको भन्दै वडा र टोलले निषेधाज्ञा कार्यान्वयनमा भूमिका निर्वाह गरिरहेको । उनले भने, “समन्वयमा उनीहरुको भूमिका प्रभावकारी छ । अझै उहाँहरु लाग्नु पर्दछ ।” सबै एकजुट भएर कोरोना रोकथाम र नियन्त्रणमा लाग्नुपर्ने उनले बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board