तीज विशेष: ‘योग्य श्रीमानका लागि व्रत बस्ने होईन, आफैं दक्ष बन्नेतर्फ लाग्नुपर्छ’

हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज यस वर्ष भने कोभिड-१९ का कारण प्रभावित बन्न पुगेको छ । राष्ट्रप्रमुख एवम् सरकार प्रमुख लगायत सरोकारवाला सबैले यस वर्षको तीजलाई घर–घरमै बसेर रमाईलोसँग मनाउन अनुरोध गरेसँगै देशैभरका धार्मिकस्थलहरु सुनसान छन्, चहलपहल शून्य छ । यसै सन्दर्भमा रहेर हामीले समाजमा स्थापित केही राजनीतिक व्यक्तिहरुसँग सपना थामी र धुर्व अधिकारीले गरेको कुराकानी :

तीजले सामाजिक र सांस्कृतिक पक्षलाई बलियो बनाउदै लगेको छ । – अष्टलक्ष्मी शाक्य, नेतृ, (नेकपा)

हिन्दु नारीहरुको महान् पर्व तीजको धार्मिक, सांस्कृतिक पक्षका विषयमा बताईदिनुस् न ?
यो हिन्दु नारीहरुको मात्रै चाड होइन, सुरुवातमा हिन्दु नारीहरुले धेरै नारीहरुले मनाउँथे होला, अहिले त सबै नारीहरुको पर्व हो । यो जात, ऊ जात भन्ने छैन । सबैले तीज मनाउने चलन बसेको छ, यो राम्रो पक्ष हो भन्छु म । सबै पर्व, सबैको लागि साझा हुनुपर्छ । त्यसैले यो पर्व राष्ट्रिय पर्वको रुपमा विकसित हुँदैगएको छ । दोस्रो कुरा, यो वर्ष, अहिलेको अवस्थामा त, स्वास्थ्यभन्दा ठूलो कुरा अरु केही पनि छैन ।

कोभिड–१९ बाट विश्व नै पिडित भइरहेका बेलामा नेपालमा नै ठूलो प्रभाव पारिरहेको बेलामा तीजभन्दा पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुप¥यो, कोभिडसँग लड्नुप¥यो । तीजको उपलक्ष्यमा दाजुभाई, दिदीबहिनी सबैलाई शुभकामना पनि छ । तीज मनाउन पाइएन भनेर सुंकुचित हुन जरुरी छैन, चिन्ता लिन पर्दैन । तीज पर्वलाई निरन्तरता दिन सकिन्छ, आफ्नै घरभित्र । किनभने, टोलमा पनि सबै दिदबिहिनीसँग मिलेर मनाउन सकिँदैन यतिबेला । सांस्कृतिक हिसाबले, राजनीतिक, आर्थिक र सामाजिक हिसाबले धेरै महत्वपूर्ण छ ।

आजको दिनमा तीजको ऐतिहासिक एवम् मौलिक पक्ष कुन अवस्थामा छ ?
तत्कालीन समयमा माईती जान धेरै गाह्रो थियो । विवाह गरेर गईसकेपछि बल्ल–बल्ल आउने तीजमा माईत गएर दुःख बिर्सेर रमाइलो गर्ने, त्यस्तो खालको चलन थियो । त्यो बेलाका गीतहरु पनि फरक खालका थिए । दुःख, कष्ट र पीडाका गीत गाइन्थ्यो । मलाई घरमा यस्तो दुःख भयो, दमन भयो भनेर थिचोमिचो भयो भनेर माइतमा गएर दुःख, व्यथा पोख्ने चलन थियो तीजका भाकामा ।

तर, अहिले समाज विकसित हुँदै जाँदा हामी यो ठाउँसम्म आईपुगेपछि हिजोकै कुरा गर्ने हो भने निरकुंश पञ्चायत व्यवस्थाकै कालमा तीज मनाइरहँदा पनि लृुकीछिपि मनाउनुपथर्यो । किन यो तीजलाई पनि साँस्कृतिक पर्वको रुपमा हेरिन्थ्यो । जमघट गरेको, नाचगान गरेको त्यो व्यवस्थाले मान्दैनथ्यो । त्यसकारण पनि महिलाहरु एक ठाउँमा बसेर, नाचगान गरिरहँदाखेरी दमन गथ्र्यो । धरपकड गथ्र्यो, लखेट्ने काम हुन्थ्यो हिजो । हामीले त्यो देख्यौं, त्यो भोग्यौं ।

जब निरंकुशता हट्यो, पञ्चायत व्यवस्था हट्यो, लोकतन्त्र आयो तयसपछि राजनीतिक व्यवस्था परिवर्तन भएसँगै समाज पनि परिवर्तित हुँदै गयो, विकास हुँदै गयो । लोकतन्त्र विकास भएपछि मानिसका सोचहरु परिवर्तन हुँदै आयो त्यो सँगसँगै संस्कृति पनि बद्लियो, फराकिलो हुँदै आयो । एकअर्कामा दुःखसुखका गतिहरु मात्रै होइन, आफ्ना हक अधिकारका कुराहरु गर्नुपर्छ । लोकतन्त्रको गीत गाउनुपर्छ, परिवर्तनको गति गाउनुपर्छ । सबै महिलाहरु मिलेर महिलाहरु पनि सक्षम छन्, यो देश निर्माणमा, समाज निर्माणमा, यो राष्ट्र निर्माणमा पुरुषसँगसँगै अघि बढ्न सक्छौं भनेर त्यो खालको धारणा, त्यो खालको सोच विकास भएको देखिन्छ । गीतहरुमा पनि त्यो कुराहरु झल्कियो । समाजका अन्याय र उत्पीडनका लागि समाज रुपान्तरणका लागि महिला, पुरुष समान छ भन्ने धारणा यो अगाडि बढेको देखिन्छ ।

लोकतन्त्र विकास भएपछि मानिसका सोचहरु परिवर्तन हुँदै आयो त्यो सँगसँगै संस्कृति पनि बद्लियो, फराकिलो हुँदै आयो । एकअर्कामा दुःखसुखका गतिहरु मात्रै होइन, आफ्ना हक अधिकारका कुराहरु गर्नुपर्छ । लोकतन्त्रको गीत गाउनुपर्छ, परिवर्तनको गति गाउनुपर्छ ।

हामी यो संघीय, लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दाखेरी महिलाहरुको राष्ट्रपतिदेखि, प्रधानन्यायाधीश, सभामुख जस्ता महत्वपूर्ण स्थानहरु सुरक्षित भएको छ । आफ्ना क्षमताहरुलाई प्रस्तुत गर्न सफल भएका छन् । सामाजिक हिसाबले तीजलाई हिजोभन्दा पनि फरक तरिकाले रमाईलो मात्रै होइन, सद्भाव विकास गर्ने, एकआपसमा एकताको भाव विकास गर्ने । तीज महिलाहरुले मात्रै होईन, पुरुषले पनि मनाउनुपर्छ । यो पारिवारिक हिसाबले पनि मनाउनुपर्छ भन्ने हिसाबले विकास भएको देखिन्छ, यो राम्रो पक्ष हो भन्छु म । हिजो कस्तो थियो भन्दाखेरी श्रीमान्को आयुुु लामो होस् भनेर निराहार बत बस्ने, पानी नै नखाई ब्रत बस्ने आज यो सोच बदलिएको छ । अब पानी नखाइकन बत बस्नुहुँदैन, पर्दैन त्यो । महिलाले मात्रै ब्रत बस्नुपर्छ भन्ने छैन, पुरुषले पनि ब्रत बस्न सकिन्छ ।

ब्रत बस्ने भनेको एकअर्कामा सुस्वास्थ्य होस्, हार्दिकता होस्, परिवारमा सुख, शान्ति, कामनासहित बस्ने हो । संस्कृति पनि नयाँ सोच र नयाँ ढंगबाट विकास भयो । यसले पनि नयाँ सन्देश दिइरहेको छ । महिला संकुचित र निरीह भएर बस्ने होइन । महिला हिंसाको मात्रै पिडित भएर बस्ने होईन, विभेद मात्रै सहेर बस्ने होइन, आजका महिला सक्षम छन् है, पुरुषसँगसँगै अगाडि बढ्नुपर्छ । परिवारले पनि साथ दिनुपर्छ । सबैले सबैलाई माया गर्नुपर्छ भन्ने भावनाको सन्देश चाही तीजले मात्रै होईन, अरु पर्वले पनि दिईरहेको मैले महसुस गरेको छु । यो एउटा जाति मात्रै होइन, सबै जाति मिलेर मनाउने पर्व सुरु भयो । तीज सामाजिक र साँस्कृतिक पक्षलाई बलियो बनाउदै लगेको छ, फराकिलो बनाउदै लगेको छ । र, यसले महिला र पुरुष समान छन् भन्ने धारणा अगाडि बढाउदै लगेको छ भन्ने मैले ठानेको छु ।


तीजको गीतले लैङ्गिक एवम् सामाजिक विभेद अन्त्य गर्ने खालको चेतना दिनुपर्छ । – पूर्णकुमारी सुवेदी, पूर्व-उपसभामुख

हिन्दु नारीहरुको महान् चाड हरितालिका तीजको साँस्कृतिक एवम् धार्मिक महत्वबारे यहाँको धारणा बताइदिनुस् न ?
हिन्दु संस्कृतिअनुसार विवाहित, अविवाहित महिलाहरुले शिवको पूजा गरेर व्रत बसेर तीज मनाउँदै आएका हुन् । तर पनि भौतिकवादी दृष्टिकोण पनि छ । वर्षभरीको एक दिन राम्रो खानपान गरेर नाचगान र रमाईलो गरेर मनाईने पर्व हो । नेपाली समाजमा यस्ता धेरै पर्वहरु छन्, जस्तै असारमा दही चिउरा खाइन्छ, साउनमा तीज, जनैपूर्णिमा, कृष्णाष्टमी, दशैं, तिहार यी हाम्रा रमाइला चाडपर्व हुन् ।

तीजको सन्दर्भमा हिजोको दिनमा हामीसँग सञ्चारको सुविधा थिएन, रमाइलो गर्न, कुराकानी गर्न, भेटघाट गर्न विवाहित महिलाहरुले वर्षमा एक पटक मात्रै माईत जान पाउँथे । हिजोको दिनमा फोन थिएन, माइती र छोरीचेलीबीचमा वर्षभरी नै हालखबर थाहा हुँदैनथ्यो । त्यसबेला तीजमा वर्षदिनमा एक दिन माइत जाने परम्परा थियो । त्यो बेला ठूला–बडाका बुहारीहरु धेरै गहना लाउथे, राम्रा कपडाहरु लाउँथे । तर गरिबहरुले त्यो गर्न सक्दैनथे ।

भौतिकवादी चिन्तनबाट भन्नुपर्दा, संस्कारलाई संरक्षण गर्दै जाने भन्ने हो र यसको साँस्कृतिक पहिचानलाई जोगाउनुपर्छ भन्ने हो । श्रीमान् र श्रीमती त आकाश र धर्ती हो । दुई हातले नै ताली बज्ने होइन र ? श्रीमान्को आयु बढ्नलाई श्रीमतीले ब्रत बस्नुपर्छ भनेर लेखियो तर श्रीमतीको लागि चाहिं केही गर्नुपर्छ भनेर किन लेखिएन ? साँस्कृतिक तथा लैङ्गिक विभेद छ । यो पितृसतात्मक सोच र संस्कार हो । यो चलनलाई निरन्तरता दिनुपर्छ भन्नेमा म सहमत हुन सक्दिन । दुवै नर–नारी मानव, मानवै हो नि, यसमा विभेद किन ? श्रीमतीको कामलाई श्रीमान्ले सघाउनुपर्छ, एकले अर्कालाई सघाउनुपर्छ ।

”हामी त्यो बेला तीजमा पनि राजनीतिक गीतहरु गाउँथ्यौं, प्रगतिशील गीतहरु गाउँथ्यौं, सामाजिक जीवनमा घट्ने घटनाका पात्रहरुका नाट्यप्रस्तुतिहरु देखाउँथ्यौं, गीत गाउँथ्यौं जसले मानिसहरुलाई जागरुक गराउँथ्यो, प्रगतिशील बन्न अभिप्रेरित गथ्र्यो, आफ्नो हक–अधिकारबारे अवगत गराउँथ्यो”


हिजोको दिनमा श्रीमान्लाई पूजा गर्नुपर्ने, व्रत बस्नुपर्ने, प्रत्येक दिन ढोग्नुपर्ने त्यो रुढीवादी हो तर आजका दिनमा प्रगतिशील÷कम्युनिष्ट विचारधारा भएकाहरुले पनि तडकभडक गर्ने, धेरै गरगहना लाउने, देखासेखी गर्ने गरिराछन्, यो अनुचित हो । विगतमा त के थियो भने, सामन्तवादी व्यवस्थामा छोरी, बुहारीले कति गहना लाको छ ? भनेर हेर्नलाई यो तीज पर्व मनाउँथे । तर आजका दिनमा पनि यसमा खासै परिवर्तन आउन सकेन ।

राजनीतिक तथा सामाजिक रुपान्तरणमा तीजको महत्व के छ भन्ने लाग्छ यहाँलाई ?
म त राजनीतिक कार्यकर्ता, सामाजिक, राजनीतिक रुपान्तरणमा कम्युनिष्ट कार्यकर्ता भएर लागें । हामी त्यो बेला तीजमा पनि राजनीतिक गीतहरु गाउँथ्यौं, प्रगतिशील गीतहरु गाउँथ्यौं, सामाजिक जीवनमा घट्ने घटनाका पात्रहरुका नाट्यप्रस्तुतिहरु देखाउँथ्यौं, गीत गाउँथ्यौं जसले मानिसहरुलाई जागरुक गराउँथ्यो, प्रगतिशील बन्न अभिप्रेरित गथ्र्यो, आफ्नो हक–अधिकारबारे अवगत गराउँथ्यो । तर आजकालका तीजका गीतहरु अतिरञ्जित छन् यसले उच्छृङ्खलता, अराजकता र समाजलाई नै विकृत बनाउँदै लगेको छ । यसमा हामी थप सचेत जरुरी छ ।

पहिलाका आमा, दिदीबहिनीहरुले विवाहमा लगाएको सारी नै तीजमा पटक–पटक लगाउँथे । उनीहरुलाई गौरवको महसुस हुन्थ्यो, त्यसमा मौलिकता पनि थियो । तर आजकल भने त्यो मौलिकता हराईसक्यो । आज तडकभगक गर्ने, फोटो खिचाउने, भाइरल बन्ने ? २०/२५ हजारको सारी लगाउनुपर्ने ? त्यो पनि तीजमा मात्रै । यस्तो पनि हुन्छ ? यसका निम्ति सकारात्मक रुपान्तरण आवश्यक छ, नेपाली समाज सुहाउने, साँस्कृतिक पहिचान झल्कने पहिरन आवश्यक छ ।

खासमा तीजको गीत कस्तो हुनुपथ्र्यो भन्ने लाग्छ ?
सामाजिक, लैङ्गिक विभेद आर्थिक एवम् सांस्कृतिक विभेद अन्त्य गर्ने खालको चेतना दिनेखालको हुनुपर्छ, तीजका गीत भनेको । समाजमा सानो, ठूलो, धनी, गरीब, उच्च, नीच, जातीयलगायतका कुनै पनि विभेदलाई निरुत्साहित गर्नेखालको हुनुपर्छ । समाजलाई हामीले पछाडि फर्काउनुहुन्न, प्रगतिशील मार्गमा अगाडि बढाउनुपर्छ, अग्रगामी हुनुपर्छ, पश्चगामी हुनुहुँदैन । त्यसै पनि महिलाहरु आर्थिक रुपमा कमजोर छन्, हुन्छन् । आर्थिक क्रियाकलापमा महिलाको संलग्नता कम छ, आर्थिक अधिकार पनि कम छ ।

तीजका साँस्कृतिक पक्षहरुलाई अँगाल्दै, विकृत पक्षहरुलाई छोड्दै नयाँ तरिकाले अगाडि बढ्नुपर्छ, तर मेटिनु चाहिं हुन्न । हामीले भोलिका सन्ततिलाई, विशेषगरी छोरीबुहारीलाई के सिकाउने ? धार्मिक, साँस्कृतिक चेतना दिनुप¥यो नि, नयाँ चेतना दिनुपर्यो । हाम्रो समाजमा नमस्कार गर्ने, जस्तो हिन्दु संस्कारअनुसार तुलसीको बोट रोप्ने कति महत्वपूर्ण संस्कारहरु छन् । यसलाई संरक्षण गर्नुपर्छ । विसं.२०३२ साल देखि नै तीजको ब्रत बस्दिनँ, यसअघि भने सासु–सुसुरासँगै रहँदा बस्ने गर्थे तर पछि मैले उहाँहरुलाई कन्भिन्स गराएँ । त्यसयता कहिल्यै पनि म ब्रत बसेको छैन तर पनि परिवारमा रमाइलो त गर्नैपर्छ ।

सुन, चाँदी, हिरामोती तपाईको घरमा होला, बजारमा देखाइरहनुपर्छ भन्ने मलाई लाग्दैन – शान्ता चौधरी, सांसद, नेकपा

नेपाली दिदीबहिनीहरुको महान् चाड हरितालिका तीज, यस वर्ष कोरोनाको महामारीमा कसरी मनाइएको छजस्तो लाग्छ ?
हाम्रो थारु समुदायमा तीज पर्व मनाउने चलन छैन । तर पछिल्लो समय हाम्रो समुदायमा पनि यसको प्रभाव बढ्दै गएको छ । तीज पर्व मनाउनु राम्रो कुरा हो । धर्म, संस्कार–संस्कृतिमा सामाजिक जागरण ल्याएकोमा खुशी छु । हाम्रो नेपाली समाजमा सबै चाडपर्व, संस्कार, संस्कृतिलाई सम्मान गर्ने परम्परा छ । हिजो दर खाने दिन साथीभाइबीचमा सामान्य तरिकाबाट मनाइयो घरमै पाकेका सामान्य परिकारहरु खाइयो । कोभिड–१९ ले संसार र सारा नेपाललाई एकखालको डर, त्रास र दुःखित तल्याईरहेको छ, त्यसलाई केही समय भुलाइयो दर खाएर ।

स्वास्थ्यलाई प्रमुख ख्याल गर्दै, बाँचिरहे त अर्को साल पनि तीज आउछ, भेट्न पाईन्छ, नाचगान गर्न पाइन्छ । पहिलाका वर्षहरुमा जस्तै रमाइलो गरौंला, यो वर्षलाई स्वास्थ्यलाई ख्याल गर्दै सरकारले भनेका नियमहरुलाई पालना गर्दै घरमै रहेर तीज मनाऔं । यस्तो समयमा घरबाहिर निस्कने, हुलहुज्जत गर्ने, तडकभडक गर्ने, संक्रमण बढाउने खालका गतिविधिहरु नगरौं, संयमित बनौं । साथीभाइहरुसँग भेटघाट नगरौं ।

गिट्टी कुट्ने, श्रम गर्ने, मिहेनत गरेर खाने श्रमजिवी महिलाहरुलाई त वर्षमा एकजोर नयाँ लुगा लाउन पनि गाह्रो हुन्छ । यो सामाजिक विभेद भएन र ? हुनेखाने महिलाहरुले त्यत्रो गरगहना देखाउदा त्यस्ता श्रमजिवी महिलाहरुमा कस्तो मानसिक प्रभाव पर्छ ? सोच्नुपर्दैन ?

पछिल्लो समयमा तीज पर्वमा देखिएको विकृति, विसंगतिहरुको प्रभाव समाजमा कस्तो परिरहेको छ भन्ने लाग्छ ? नयाँ पिँढीले यो तीजबाट के सिक्ने ?
हरितालिका तीज महिलाहरुको महत्वपूर्ण पर्व हो । तर, पछिल्लो समय समाजमा विकृति पो आयो कि भन्ने लाग्छ । पछिल्लो समय बढ्दै गईरहेको तडकभडक आईराछ । महिलाहरु पूरै शीरदेखि पाउसम्म गहनाले ढाकेर, महँगा कपडा लाएर तीज मनाउन हिडिंरहेको देखिन्छ ।

त्यसले अरुलाई पनि प्रभाव पारेको छ । समाज विकृत बन्दैछ जसले विभेदपूर्ण समाजलाई प्रोत्साहित गर्दैछ । गिट्टी कुट्ने, श्रम गर्ने, मिहेनत गरेर खाने श्रमजिवी महिलाहरुलाई त वर्षमा एकजोर नयाँ लुगा लाउन पनि गाह्रो हुन्छ । यो सामाजिक विभेद भएन र ?

हुनेखाने महिलाहरुले त्यत्रो गरगहना देखाउदा त्यस्ता श्रमजिवी महिलाहरुमा कस्तो मानसिक प्रभाव पर्छ ? सोच्नुपर्दैन ? आजका दिनमा हामीले सोच्न जरुरी छ, साँस्कृतिक रुपले यो समाज अघि बढिरहेको छ कि थप विकृति बढ्दो छ ?
आजका नारीले सोच्नुपर्छ । तीज सचेतनापूर्वक मनाउनुपर्यो । सुन, चाँदी, हिरामोती तपाईको घरमा होला, बजारमा देखाइरहनुपर्छ भन्ने मलाई लाग्दैन । नयाँ पुस्ताले, राजनीतिक चेतना भएका पुस्ताले यस्ता विकृति विसंगतिलाई निरुत्साहित गर्दै समतामूलक समाज निर्माणमा लाग्नुपर्छ भन्ने लाग्छ ।

ब्रत नै बसेर श्रीमान्को आयु बढ्दैन, श्रीमान्को लागि श्रीमतीले ब्रत बस्ने तर, श्रीमान्ले चाहिं दमन गर्ने ? यो हुनै सक्दैन – सुशीला नेपाल, नेतृ

वर्तमान समयमा हरितालिका तीजको धार्मिक तथा साँस्कृतिक महत्व के छ ?
सर्वप्रथम त, हिन्दु महिलाहरुको महान् चाड हरितालिका तीजको सबैमा शुभकामना दिन चाहन्छु । आजको २१ औं शताब्दीअनुरुप समाज परिवर्तनमा परम्परागतभन्दा पनि सामाजिक रुपमा परिवर्तित सन्दर्भमा तीज पर्व अगाडि बढिरहेको छ ।

यसको साँस्कृतिक पक्ष महत्वपूर्ण छ, जसले नेपाली समाजलाई परिस्कृत गरेको छ, परिमार्जित गर्दै धार्मिक, सँस्कृतिक पक्षलाई जगेर्ना गर्दै समतापूर्ण समाजको निर्माणमा अगाडि बढाउन यस्ता धार्मिक एवम् साँस्कृतिक पर्वहरुले महत्वपूर्ण भूमिका खेल्छन् भन्ने लाग्छ मलाई । यसलाई थप परिमार्जित गर्दै, समय सान्दर्भिक हुँदै समाजको यथार्थ आतसात् गर्दै अगाडि बढ्नुपर्छ ।

तडकभडक, देखासिकी गर्नुहुन्न । घाँटी हेरी हाँड निलौं । पछिल्लो समय महिनौंदिनसम्म दर खाने, पार्टीप्यालेस धाउने, अधिक आर्थिक खर्च गर्ने परिपाटीले नेपाली समाज थप विकृत बन्दै गएकोमा पछिल्लो समय महामारीका कारण सरकारले तोकेको मापदण्ड अपनाएर घरमै बसेर रमाइलोसाथ तीज मनाउन अनुरोध गर्न चाहन्छु ।

अब ब्रत नै बसेर श्रीमान्को आयु बढ्ने भए त, जति पनि महिलाहरुको श्रीमान्सँग विछोड भएको छ, वियोग भएको छ त्यो हुँदैनथ्यो नि ? तर के छ भने, श्रीमान्को लागि चाही ब्रत बस्नुपर्छ, पूजा गर्नुपर्छ भन्ने तर, श्रीमान्ले चाहिं दमन गर्ने हिंसा गर्ने, यो गर्नुुहुँदैन । यो परम्पराको अन्त्य हुनुपर्छ ।


पहिले-पहिले हाम्रा हजुरआमा, आमाहरुले मनाउने तीज र अहिलेको तीजको मौलिकतामा के फरक छ ?
पहिला आमाहरुले, हजुरआमाहरुले आफ्नो दुख, पीडाहरु गीत–संगीतको माध्यमबाट व्यक्त गर्नुहुन्थ्यो । तीे कुराहरु हेर्दा, सुन्दा हिंसा भएको हो भन्ने लाग्छ । तर यसको मौलिकता जोगाउदै, हामी अघि बढ्नुपर्छ । तर निराहार ब्रत बसेर आफ्नो स्वास्थ्य बिगार्नुहुँदैन । बेहोश हुनेगरी, बिरामी नै हुनेगरी ब्रत बस्नुहुँदैन, यसले श्रीमान्को आयु बढ्छ भन्ने होइन । फलफूल, पानी खानुपर्छ ।

मैले त हिजो पनि सामान्य ढंगले दर खाएँ । आज पनि नुहाइधुवाई गरेर चिया, पानी, फलफूल खान्छु, सकिएन भने खाना पनि खान्छु । अब ब्रत नै बसेर श्रीमान्को आयु बढ्ने भए त, जति पनि महिलाहरुको श्रीमान्सँग विछोड भएको छ, वियोग भएको छ त्यो हुँदैनथ्यो नि ? तर के छ भने, श्रीमान्को लागि चाही ब्रत बस्नुपर्छ, पूजा गर्नुपर्छ भन्ने तर, श्रीमान्ले चाहिं दमन गर्ने हिंसा गर्ने, यो गर्नुुहुँदैन । यो परम्पराको अन्त्य हुनुपर्छ ।

नेपाली प्रथा र परम्पराहरु प्रगतिशील माध्यमबाट रुपान्तरण हुँदै जानुपर्छ – जयपुरी घर्ती, सांसद (शिक्षा तथा स्वास्थ्य समितिको सभापतिमा घर्ती)

नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा के भन्न चाहनुहुन्छ ?
तीज पर्व नेपालमा पहिलादेखि नै चलिआएको परम्परा हो । तर यस वर्ष कोरोना महामारीका कारण तीज प्रभावित बन्यो । पछिल्ला वर्षहरुमा तीजमा केही विकृति पनि आइरहेका छन्, महामारी फैलिरहेको छ । यस्तो अवस्थामा सबैले घरैमा बसेर तीज मनाउनुपर्छ भन्छु, तीजको उपलक्ष्यमा शुभकामना पनि दिन चाहन्छु ।

नेपाली समाजका चाडपर्वलाई हामीले प्रगतिशील ढंगबाट अघि बढाउँदै लैजानुपर्छ । तीजमा ब्रत बसेर श्रीमान्को आयु बढ्छ भन्ने कुरा अन्धविश्वास हो । यस्तै अन्धविश्वासी ढंगले हामीले विगतदेखि नै यस्ता चाडपर्वहरु मनाउँदै आयौं । अब भने प्रगतिशील ढंगबाट हामी अघि बढ्नुपर्छ । श्रीमान्हरुले पनि आफ्ना श्रीमतीहरुलाई सघाउनुपर्छ, श्रीमतीहरुले पनि आफ्ना श्रीमान्लाई सघाउनुपर्छ, सहयोग गर्नुपर्छ ।

मेरो व्यक्तिगत तर्फबाट भन्नुपर्दा मैले तीज मनाएको छैन, ब्रत बस्दिनँ । र भड्किलो तरिकाले मनाउन हुन्न पनि । तीज समाज रुपान्तरणको रुपमा अघि बढ्नुपर्छ । भइनभइ खर्च गरेर तीज मनाउने भन्ने होइन । यी कुराहरुलाई परिवर्तन गर्दै लैजानुपर्छ । अहिले कोरोनाको महामारीमा पनि लुकीछिपी भेटघाट गर्ने, रमाइलो गर्ने काम विल्कूलै नगर्न आग्रह गर्न चाहन्छु ।

असल र योग्य श्रीमान्का लागि व्रत बस्ने होईन, आफैं क्षमतावान र दक्ष बन्नेतर्फ लाग्नुपर्छ – रचना खड्का, युवा नेतृ

युवा नेतृको नजरमा तीजको महत्व के छ भन्ने लाग्छ ?
नेपाली समाजमा खासगरी हिन्दु महिलाहरुमा शिवको पूजा, अर्चना गरी श्रीमान् नै भगवान् हुन् भन्ने हिसाबले हरितालिका तीज मनाईदै आइरहेको देखिन्छ । तीजको धार्मिक र सामाजिक दुवै पक्ष छन् । पहिला आफ्नो दुख, पीडा भुलाउने स्वतन्त्र दिनको रुपमा हर्षोल्लास एवम् उमंगका साथ तीज मनाईन्थ्यो । तर आजकल राजनीतिक तथा सामाजिक परिवर्तन सँगसँगै विभिन्न संघ, संगठन र संस्थागत रुपमा पनि तीज मनाउने चलन आइरहेको छ । म चाहिं यसलाई दुइ हिसाबले हेर्छु, एक धार्मिक, रुढीवादी एवम् अन्धविश्वास ।

अर्को आजकल तडगभडग गर्ने, गरगहना, लुगा प्रदर्शन गर्ने गर्छन् तर, गर्ने काम धेरै बाँकी छ आज पनि । म चाही यसलाई सामाजिक रुपमा लिन्छु । नेपालमा यसको साँस्कृतिक र सामाजिक पक्ष छ । तर यसका गलत कुराहरु हेरफेर हुन जरुरी छ । सचेत हुनुपर्छ । हाम्रा चाडपर्वहरु जति सक्यो धेरैले मनाउन सकेको राम्रो हुन्छ नि होइन र ? यसर्थ तीज समाजका सबै वर्गले मनाउन सक्ने खालको हुनुपर्छ, यसले नै सामाजिक सशक्तिकरणलाई पनि विकसित गर्दै लान्छ । सबैजना भेला भएर रमाइलो गरेर मनाइने तीजमा कोही दिदीबिहिनीको साडी छैन भनेर तीज मनाउन सकिएन भने त नरमाइलो हुन्छ नि । यसर्थ, तीज लगायत सबै चाडपर्वहरु सबैले मनाउन सक्यो भने धेरै राम्रो हुन्छ ।
मैले त तीजलाई विगतदेखि नै सामान्य ढंगबाट मनाउँदै आईरहेको छु । भनिहालें, तीजलाई धार्मिकभन्दा पनि सामाजिक रुपमा मनाउदै आएको छु । म कक्षा ५,६ तिरै पढ्दा अनेरास्ववियुमा संगठित भएर काम गरेको थिए । त्यसपछि विभिन्न किताबहरु अध्ययन गर्ने मौका पाएँ । नारी बन्धन र मुक्ति लगायत विभिन्न प्रगतिशील पुस्तकहरु पढेदेखि नै ममा एकखालको जागरण आयो । धार्मिक, साँस्कृतिक परिवर्तनको चेतना आयो ममा ।

आजको परिवर्तित सन्दर्भमा हाम्रा धार्मिक तथा साँस्कृतिक प्रथा र परम्पराहरुलाई आजको युवाले कसरी लिनुपर्छ ?
आजको युग २१ औं शताब्दीको विज्ञानको युग हो । प्रविधियुक्त समयमा रुढीवादी र प्रथा र परम्पराहरुलाई समयानुकूल परिवर्तन गर्दै अघि बढ्नुपर्छ । देश सुहाउँदो सांस्कृतिक रुपले सचेत युवाशक्ति जसले आफ्नो छुट्टै धार्मिक, साँस्कृतिक विशिष्टतालाई विश्वमञ्चमा उभ्याउनसक्ने बनाउन सक्नुपर्छ । विश्वले अनुशरण गर्न सक्ने बनाउनुपर्छ न कि, पुरानै रुढीवादी प्रथा र परम्परालाई निरन्तरता दिएर । म एक शब्दमा भन्न चाहन्छु, यस्ता पर्वहरुलाई निरपेक्ष नभई सापेक्षताका आधारमा हेरिनुपर्छ नकि, देखासिकीको आधारमा परम्परालाई धान्ने नाममा ।

तर, आजका शिक्षित र प्रगतिशील महिलाहरु पनि साउन लाग्ने बित्तिकै हरियो चुरा र मेहन्दी खोज्दै हिड्नुहुन्छ । ब्रत बसेर महादेवजस्तो पति पाउने कुरा भन्दा पनि आजको युवाले विज्ञानका नियममा विश्वास गर्नुप¥यो । असल र सक्षम पति खोज्नेभन्दा पनि आजका नारीहरु आफैं सक्षम हुनुप¥यो, क्षमतावान बन्नप¥यो । क्षमतावान भए आफैं सक्षम पति पाइन्छ । यसर्थ, आजका युवा वर्गहरुमा म यही अपिल गर्न चाहन्छु ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board