अंग्रेजीमा टिकेको भारतको भविष्य कति सुरक्षित ?

करोडौँ भारतीयका लागि अंग्रेजी सिक्नु रोजगारी पाउनु मात्रै होइन, ऐतिहासिक गल्तीहरूलाई सही मार्गमा ल्याउने उत्तम अवसर पनि हो

भारतले नयाँ राष्ट्रिय शिक्षानीति तय गरेको छ, जुन सन् १९८६ यताको पहिलो शिक्षानीति हो । प्रधानमन्त्री नरेन्द्र मोदीअन्तर्गतको भारतको पहिलो हिन्दू राष्ट्रवादी बहुमत सरकार अघिल्ला धर्मनिरपेक्ष सरकारले तय गरेको शिक्षानीति बदल्न दृढ देखिएको छ । यो नयाँ नीति अन्य कुरामा निकै सजग देखिन्छ, केवल यसले भारतको भविष्यको एक महत्वपूर्ण तत्वका रूपमा रहेको अंग्रेजीलाई बेवास्ता गरेको छ ।

यो नीति भन्छ, ‘जहाँ–जहाँ सम्भव हुन्छ, त्यहाँ कम्तीमा कक्षा ५ सम्म शिक्षणको भाषा मातृभाषा वा स्थानीय वा क्षेत्रीय भाषा हुनेछ, जसलाई यथाशक्य कक्षा ८ र माथि पनि विस्तार गरिनेछ ।’ यो बयान वास्तवमा विश्वमा कहीँ पनि विवादको विषय होइन । तर, के सबै नागरिक आफ्ना बालबालिका मातृभाषामा पढून् भन्ने चाहन्छन् त ?

यो कुरा भारतमा यति सरल छैन । किनकि यो मुलुक अतुलनीय रूपले बहुभाषिक मुलुक हो । तथ्यांक विभागका अनुसार भारतमा १० हजारभन्दा बढीले बोल्ने भाषा १२२ छन् । सरकारी कामकाज (अफिसियल)को भाषा मात्रै पनि २३ वटा छन् । भारतीय नोटमा समेत १७ भाषा छन् । कुनै पनि भाषा बोल्ने मानिस भारतभर जहाँसुकै बसाइँसराइ गरेर जान सक्ने हुँदा अक्सर क्षेत्रीय राजनीति भाषाको वरिपरि त्यत्तिकै घुम्छ, जति जातीयताका वरिपरि घुम्छ । अर्को शब्दमा भन्दा एउटा बच्चाको घरमा बोलिने भाषा त्यस स्थानको स्थानीय भाषा वा क्षेत्रीय भाषाभन्दा फरक हुन सक्छ । आप्रवासनको आकर्षणमा रहेको भारतको आर्थिक राजधानी मुम्बईलाई नै लिऊँ, प्राविधिक रूपले यहाँको स्थानीय भाषा मराठी छ, तर बहुसंख्यक मुम्बईवासीको घरमा मराठी बोलिँदैन । यी अवरोधबाट पार पाउन कुन भाषालाई साझा भाषा बनाउने भन्ने विषय भारतको केन्द्रीय भाषा विवाद हो । यस सम्बन्धमा विशेषगरी उत्तर भारतको उत्तर सधैं नै ‘हिन्दी’ हुने गरेको छ, जुन भाषा अरूको तुलनामा केही धेरैले बोल्छन् । तर, त्यसमा पनि एकरूपता छैन । बाँकीको रोजाइ अंग्रेजी हुन्छ ।

भारतीय कर्मचारीतन्त्र तथा राजनीतिकर्मीहरू भारत र यसका नागरिकलाई बलियो बनाउन चाहन्छन् भने उनीहरूले पक्कै पनि बुझेको हुनुपर्छ, भारतको महानताको मार्ग अंग्रेजी हुँदै जान्छ ।
गत वर्ष यो नयाँ शिक्षानीतिको पहिलो मस्यौदाले विद्यार्थीले हिन्दी अनिवार्य सिक्नुपर्ने सुझाब दिएर गैरहिन्दीभाषी नागरिकलाई आक्रोशित तुल्याएको थियो । त्यो मस्यौदा, मोदीको भारतीय जनता पार्टी उद्गम भएको हिन्दीभाषी उत्तर–भारतलाई केन्द्रमा राखेर आएको थियो । तर, बढो सुझबुझका साथ अन्तिम मस्यौदामा हिन्दीलाई पहिलो भाषा बनाउने मनसाय हटाइएको थियो । प्रशासन संघीयताको अन्य पक्षबारे पनि सतर्क रहोस् भन्ने जोकोही चाहन्छ । यति हुँदा पनि अंगे्रजीको विशेष स्थानलाई स्वीकार गर्ने अनिच्छालाई भने यो नीतिमा अझ सुदृढ रूपले सुरक्षित गरिएको छ । भारतीयका लागि अंग्रजीको विशेष स्थान छ । यो भाषा मुलुकभित्र कम विवादास्पद सम्पर्क भाषाका रूपमा मात्रै छैन, अधिकांश भारतीयका लागि समृद्धितर्फको पहिलो कदम पनि हो ।

मुलुकभर अंग्रेजी सिकाउने स्कुलहरू च्याउसरी खुलेका छन् । तीमध्ये अधिकांश सामान्य भाषा स्कुल मात्रै होइनन् । अंग्रेजीमार्फत ती स्कुल जागरुक भारतीय नौजवानलाई बहुआयामिक क्षमता सिकाउन प्रतिबद्ध छन् । अहिलेका नौजवान भारतीय र तिनका अभिभावकका लागि अंग्रेजीमा कुराकानी गर्न सक्ने क्षमता विश्वव्यापी सीप प्राप्त गर्ने कडी हो । विशेषगरी ऐतिहासिक रूपले सीमान्तकृत भारतीय समुदायका लागि यो वरदान हो । सुप्रसिद्ध दलित विद्वान् चन्द्र भान प्रसाद, भारतमा अंग्रेजी शिक्षा लागू गर्ने १९औँ शताब्दीका बेलायती नोकरशाह थोमस बाबिंटन म्याकालेको जन्मदिनका अवसरमा हरेक वर्ष भव्य पार्टी आयोजना गर्छन् । प्रसादजस्ता थुप्रैका लागि, अंग्रेजीले बृहत् सांस्कृतिक एवं आर्थिक विश्वमा पहुँच प्रदान गर्छ । जसले कतिपयलाई पुस्तैनी जकडिरहेको दलनको परिस्थतिलाई बदल्न मद्दत गरेको छ । करोडौँ भारतीयका लागि अंग्रेजी सिक्नु रोजगारी पाउनु मात्रै होइन, ऐतिहासिक गल्तीहरूलाई सही मार्गमा ल्याउने उत्तम अवसर पनि हो । समाजलाई विभेदरहित र निष्पक्ष बनाउनेतर्फको मार्ग पनि हो ।

यसबाहेक, सन् २०२० मा प्रवेश गरेसँगै भारतको छनोटलाई चीनसँगको भूराजनीति एवं भूआर्थिक प्रतिस्पर्धाले आकार दिँदै जानेछ । अधिकांश कार्ड चीनसँग छन् । भारतको केही सबल पक्षमध्ये अंग्रेजीप्रतिको भोक र सुपरिचितता पनि एक हो, जसबाट भारतीयले आफूलाई बहु–संस्कृतिमा बलियोसँग सम्मिलित गर्न सकेका छन् । साथै, यसले विश्वव्यापी सेवा एवं व्यापार सञ्जालको हिस्सा बन्ने क्रममा भारतीय इन्टरप्राइजेजहरूको लागत पनि कम गराएको छ ।

भारत र चीनको तनावबीच यो शिक्षानीतिको मस्यौदाबाट विद्यार्थीका लागि तेस्रो भाषाका रूपमा राख्न खोजिएको मन्डारिन भाषालाई हटाइएको अधिकांशको नजरबाट छिपेको छैन । यदि भारतीय कर्मचारीतन्त्र तथा राजनीतिकर्मीहरू भारत र यसका नागरिकलाई बलियो बनाउन चाहन्छन् भने उनीहरूले पक्कै पनि बुझेको हुनुपर्छ, भारतको महानताको मार्ग अंग्रेजी हुँदै जान्छ ।

(शर्मा भारतीय अर्थशास्त्री हुन् –ब्लुमवर्गबाट, २०७७ ५ भदौ )

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board