नेपालमा रहेका ‘क’ वर्गका २७ वटा वाणिज्य बैंकहरुले आर्थिक वर्ष २०७७/७८ को आधार दर (बेस रेट) घटाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा अधिकांश बैंकहरुको बेस रेट घटेको छ । कोभिड-१९ कारण पनि आर्थिक गत आर्थिक वर्षमा बैंकको नाफासमेत घटिरहेको अवस्थामा यस आर्थिक वर्षमा बैंकको ब्याजदर रेट समेत घटाउनु परेको हो ।
बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक तीन महिनामा प्रकाशित गर्ने वित्तीय विवरणमा आधार दर परिवर्तन गर्ने गरेका छन । अहिले कर्जाको माग नभएको अवस्था नभए पनि अर्थतन्त्रलाई चलायमान गराउनका लागि बैंकहरुले बेस रेटलाई घटाएको देखिन्छ ।
‘अहिले निक्षेपको रेट घटेको भएर पनि बेसरेट घटेको हो । अर्काे बजारमा तरलता छ । अहिले त कतिपय बैंकले प्रिमियम पनि नलिइरहेको अवस्था छ’
ऋण लिएर व्यवसाय चलाउने अवस्था छैन: शाह
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बैकहरुले बेस रेट घटाउँदा पुराना ऋणीहरुलाई केही राहतको महसुस भएको बताउँछन् । ‘अहिले निक्षेपको रेट घटेको भएरपनि बेसरेट घटेको हो । अर्काे बजारमा तरलता छ । अहिले त कतिपय बैंकले प्रिमियम पनि नलिइरहेको अवस्था छ । अहिले बैकबाट ऋण लिने ग्राहक पाइँदैन । यसरी बेस रेट घट्दै जाँदा निक्षेपको व्याज पनि घट्ने देखिन्छ,’ उनले भने ।
अहिले सबै बैंकहरुको बेस रेट घटेको छ । अहिलेको जस्तै वातावरण रहिरहने हो भने यो आर्थिक वर्षमै सबै बैंकको बेस रेट उस्तै हुने शाहको दावी छ । शाहले भने, ‘अहिले बैंकले ब्याज नै लिदैनौं भने पनि ग्राहक ऋण लिन आउने अवस्था छैन । बेसरेट कम हुँदा सामान्य अवस्थामा अर्थतन्त्रलाई असर गर्छ । तर अहिले महामारीको अवस्थामा बेसरेट कम भए पनि बढी भए पनि खासै असर गर्दैन ।’ उनले थपे ‘अहिले ऋण लिएर गर्ने के भन्ने नै छैन । जति ब्याज कम भए पनि ऋण लिएर व्यवसाय चलाउन नसक्ने अवस्था छ अहिले ।’
बैंकिङ विज्ञ अनलराज भट्टराईले बैंकले निक्षेपमा व्याजदर घटाएकै कारण बेस रेट घटेको बताउँछन् । भट्टराई भन्छन्, ‘अहिले कोभिड–१९ का कारण बजारमा कर्जाको माग नभएको अवस्था छ । यस्तो अवस्थामा बैंकहरुले बेस दर घटाएर बजारलाई राहत दिने प्रयास गरेका छन । नयाँ कर्जामा बेस रेट घटाउनु राम्रो भए पनि पुरानो कर्जाको पनि ब्याजदर घटाउन पर्छ ।’
उनले भने, ‘बैकहरुले बेस रेट घटाउनु अहिलेको अवस्थामा राहत दिनु हो । अब बैंकहरुले पुरानो कर्जालाई पनि घटाइदिनु पर्यो । प्रिमियम दर घट्नुपर्यो । बेस रेट घटायो भनेर प्रिमियम बढायो भने फेरि ब्याजदर त बढिहाल्छ । त्यसैले प्रिमियम पनि घट्नुपर्यो । प्रिमियम दरलाई जस्ताको तस्तै राख्दा ग्राहकलाई केही फाइदा हुँदैन । बेसरेट घटेको कारणले पुरानाको कर्जाको प्रियियम बढाउनु हुदैन ।’
कुन बैंकको कति छ बेसरेट ?
बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार सबैभन्दा कम आधार दर राष्ट्रिय बाणिज्य बैंकको छ । सरकारी स्वामित्वमा रहेको बैकले गत वर्षको भन्दा कम गराएको भए पनि सस्तो नै छ । सबैभन्दा सस्तो बेस रेट भएका कारण राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिंदा ऋणीलाई सबैभन्दा सस्तो पर्नेछ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा ५.५० प्रतिशत रहेको बेस रेट यस अर्थिक वर्षमा ५ दशमलव ८० प्रतिशत बनाएको छ ।
यस्तै दोस्रो नम्बरमा नेपाल बैंकको बेस रेट कम छ । उसको अघिल्लो आर्थिक वर्ष ७.९८ प्रतिशत थियो भने अहिले झण्डै १ प्रतिशत घटाए ६.९९ प्रतिशतमा झारेको छ । यस्तै तेस्रो कम ब्याजरदर लिनेमा स्ट्यान्डर्ड चार्टर्ड बैक रहेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको बेस रेट ७ प्रतिशत रहेको छ । चौथो नम्बरमा नबिल बैंकको बेस रेट रहेको छ । उसले अघिल्लो वर्ष ८.०९ प्रतिशत रहेको बेस रेटलाई घटाएर ७.३२ प्रतिशत बनाएको छ ।
यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकको ७.५१ प्रतिशत, एभरेष्ट बैकको ८.०५ प्रतिशत, हिमालय बैंकको ८.३८ प्रतिशत, प्रभु बैंकको ८.ं३२ प्रतिशत, एनआइसी बैंकको ७.७० प्रतिशत, मेगा बैंकको ८.३२ प्रतिशत, ग्लोबल आइएमई बैंकको ८.४२ प्रतिशत, नेपाल बंगलादेश बैंकको ८.६२ प्रतिशत, सानीमा बैंकको ८.६२ प्रतिशत, प्राइम कमर्सियल बैंकको ८ं.६२ प्रतिशत, बैंक अफ काठमाडांैको ८.७१ प्रतिशत, सनराइज बैंकको ८.९५ प्रतिशत, एनएमबी बैंकको ८.८५ प्रतिशत, एनसिसी बैंकको ९.०३ प्रतिशत, सिद्धार्थ बैकको ९.०३प्रतिशत, सिटिजन बैंकको ९.०४ प्रतिशत, माछापुच्छे बैकको ९.२१ प्रतिशत, लक्ष्मी बैकको ९.२३ प्रतिशत, नेपाल एसबिआई बैंकको ९.२५ प्रतिशत, कृषि विकास बैकको ९.२६ प्रतिशत, सेञ्चुरी बैकको ८.३८ प्रतिशत, सिभिल बैंकको ९.८४ प्रतिशत र कुमारी बैंकको १०.०८ प्रतिशत रहेको छ । बैकिङ तरलताको कारण यसरी सबै बैंकहरुले अघिल्लो वर्षभन्दा यस आर्थिक वर्षमा आफनो बेस रेट घटाएको देखिन्छ ।
COMMENTS