‘नेतृत्वले काम गर्न नसक्दा फेरि लकडाउनको अवस्था आएको हो’

मुलुकभरी कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । लगभग ५ सयको हाराहारीमा संक्रमितको संख्या दिनहुँ थपिने क्रम जारी छ । काठमाडौं उपत्यकामा पनि दैनिक सरदर २ सय पोजिटिभ केसहरु फेला परिरहेका छन् । यता सरकारले उपत्यकाका तीन जिल्लामा एकहप्ताको लागि निषेधाज्ञा जारी गरेको छ । यसै सन्दर्भमा रहेर स्वास्थ्य मन्त्रालयका पूर्वसचिव समेत रहिसक्नुभएका चिकित्सक डा. प्रवीण मिश्रसँग अनन्त अनुरागले गरेको कुराकानीको अंशः

उपत्यकामा फेरि एक हप्ता निषेधाज्ञा जारी गर्ने सरकारको निर्णयलाई कसरी लिनुभएको छ ?

डा. प्रवीण मिश्र: चीनबाट सुरुभएको कारोनाकाल झण्डै ९ महिना हुनथालेको छ । सरकारको सुरुदेखिकै रणनीतिमा कमीकमजोरी भएको हुनाले आज फेरि यो स्थिति आएको हो । पटकपटक विज्ञहरुबाट डब्लुएचओको गाइड लाइनअनुसार टेष्ट र ट्रेसिङ् तथा अन्य सम्बन्धित सरोकारवाला संस्थाहरुको जुन गाइडलाइन थियो त्यसलाई राम्ररी आत्मसात गरिएन । त्यसलाई सरकारी स्तरमा स्वास्थ्य मन्त्रालयबाट उच्च स्तरमा लागू गर्न सकिएन । त्यो नभएको हुनाले लकडाउन बीचमा गरियो । माघदेखि जेठ ७ सम्मको स्थिति हेर्दा मलाई लाग्छ जम्मा ३० हजारको हाराहारीमा मात्रै टेष्ट गरिएको थियो, र त्यतिबेला केसहरु पनि एकदमै न्यून थिए ।

त्यो समयलाई हामीले सदुपयोग गरेर दु्रतगतिमा टेष्ट गरेको भए, देशमा जम्मा कति केशहरु छन् त्यसअनुसारको आइसोलेसन, अथवा उपचारको जरुरत छ त्योअनुसार अस्पताललाई सशक्तिकरण गर्ने योजनामा लागेको भए आज फेरि लकडाउन गर्नुपर्ने स्थिति आउँदैनथ्यो होला । सरकारले त्यो बेला विज्ञहरुको सुझावहरुलाई मानेन । विज्ञहरुको कुरा लागू गर्न सकेन । सरकारको संयन्त्र यति कमजोर थियो, त्यो बेला भ्रष्टाचारको कुराहरु मात्र देखियो ।

त्यो समयमा सरकार कानमा तेल हालेर सुतिरहेकोजस्तो देखियो । अहिले आएर देशभित्र चुनौतीपूर्ण अवस्था सृजना भयो र पुनः लकडाउन गर्नुपर्ने भयो । यसबाट के देखिन्छ भने रणनीतिअनुसार सरकारमा संवेदशीलताको कमी देखियो । हो, यसमा एउटै सरकारको कमी नहोला । तर संघीय सरकार बढी जवाफदेही हुनुपर्ने थियो । प्रदेश र स्थानीय सरकार पनि गम्भीरतापूर्वक लाग्नुपर्नेमा त्यसमा पनि कमी देखियो ।

माघदेखि जेठ ७ सम्मको स्थिति हेर्दा मलाई लाग्छ जम्मा ३० हजारको हाराहारीमा मात्रै टेष्ट गरिएको थियो, र त्यतिबेला केसहरु पनि एकदमै न्यून थिए । त्यो समयलाई हामीले सदुपयोग गरेर दु्रतगतिमा टेष्ट गरेको भए, देशमा जम्मा कति केशहरु छन् त्यसअनुसारको आइसोलेसन, अथवा उपचारको जरुरत छ त्योअनुसार अस्पताललाई सशक्तिकरण गर्ने योजनामा लागेको भए आज फेरि लकडाउन गर्नुपर्ने स्थिति आउँदैनथ्यो होला ।

तर, सरकारका मन्त्रीको दाबीअनुसार त सरकारले कोरोना नियन्त्रण र रोकथामका लागि पूरै शक्ति लगाएको भनिन्छ नि ?
डा.प्रवीण मिश्र : सरकारको दावी त छ तर, त्यसको परिणाम आइरहेको छैन । म धेरै मेहनेत गर्छु, पढ्छु, तर परीक्षामा फेल हुन्छु, त्यो दावीको कुनै मतलव भयो ? भनाईको अर्थ के हो भने, सरकारले साँच्चै यति राम्ररी काम गरेको भएआज यो स्थिति आउँदै आउँदैनथ्यो । हाम्रो बोर्डर पनि सिल गरियो नि, त्यो बेला ? कोरोना संक्रमण भयो भने बढीमा २ हप्ताभन्दा बढी त जाँदैन ।

चार पाँच महिना लकडाउन गर्दा पनि हामीले नियन्त्रण गर्न सकेनौं भने हाम्रै असक्षमता हो नि ? प्रधानमन्त्रीले रोष्टममा उभिएर कोरोना केही होइन, बेसार पानी खाने, एक दुई पटक हाच्छयुँ गरिदिने, यसले जनतामा एउटा नकारात्मक सन्देश गयो । यसले जनतामा एक किसिमको भ्रम सृजना ग¥यो, कोरोना भनेको केही होइन भन्ने । र, जनताले यसलाई एकदम सामान्य रुपमा लिए । प्रधानमन्त्रीजस्तो मान्छेले रोष्टममा उभिएर यस्तो बोल्नु हुँदैनथ्यो ।

सरकारको स्तरबाट त्यो बेला अरु काम गर्दैगए पनि कम्तिमा जनस्वास्थ्य सरोकारको रुपमा मास्क हरेक जनतामा पु¥याउनु पथ्र्यो, सरकारले त्यसलाई व्यवस्थापन गर्न सकेन । यसको विभिन्न कारण छन्, किनभने स्वास्थ्य मन्त्रालयभित्र नेतृत्व थिएन । स्वास्थ्य मन्त्रालयमा नन्मेडिकल नेतृत्व भएपछि स्वास्थ्यको धेरै कुराको संवेदनशीलता थाहा हुँदैन । नेतृत्वमा मेडिकल बुझेको मान्छे भयो भने कतै चुक भयो भन्ने यसको असर कहाँ हुन्छ बुझेका हुन्छन् । जे भयो भयो ।

अब सरकारले कम्तिमा बलियो रुपमा कार्यकारी निर्देशनबाटै निजी कलेज, निजी अस्पताल, निजी क्लिनिकसँग राम्ररी समन्वय गरेर समुदाय स्तरमा पुगेर भ्यावह स्थिति आउन नदिन व्यवस्थापनतिर जानुपर्यो। अस्पतालमा बेड, आवश्यक मानव संशाधन, यस्तो बेला खटिएका कर्मचारीहरुलाई बढीभन्दा बढी इन्सेन्टिभस दिएर उहाँहरुलाई काममा आर्कषित गर्नुपर्यो। औषधी र अन्य उपकरणको व्यवस्था गर्नुपर्यो । उनीहरुको सुरक्षाको व्यवस्था गर्नुपर्यो । अझै पनि सरकार यो र त्यो भनेर अल्मिलिनथाल्यो भने हाम्रो दुर्भाग्य हुनेछ । मैले धेरै पहिलेदेखि नै भन्दैआएको छु नेपालमा डिसेम्बरसम्म स्थिति गम्भीर हुनसक्छ । त्यसको लागि तयारी हुनलाई मैले विभिन्न माध्यमबाट भन्दै आएको छु । नभन्दै स्थिति त्यतैतिर अगाडि बढेको छ ।

चार पाँच महिना लकडाउन गर्दा पनि हामीले नियन्त्रण गर्न सकेनौं भने हाम्रै असक्षमता हो नि ? प्रधानमन्त्रीले रोष्टममा उभिएर कोरोना केही होइन, बेसार पानी खाने, एक दुई पटक हाच्छयुँ गरिदिने, यसले जनतामा एउटा नकारात्मक सन्देश गयो ।

यसले जनतामा एक किसिमको भ्रम सृजना गर्यो , कोरोना भनेको केही होइन भन्ने । र, जनताले यसलाई एकदम सामान्य रुपमा लिए ।

तपाईं स्वास्थ्य मन्त्रालयको नेतृत्वमा रहेको अनुभव छ, बताइदिनुस, स्वास्थ्य मन्त्रालय अहिलेको महामारी नियन्त्रण, रोकथाम गर्नका लागि प्राविधिक रुपमा कत्तिको सक्षम छ ?
डा. प्रवीण मिश्र: सरकारी संयन्त्र अहिलेको कोरोना महामारी नियन्त्रण र रोकथाम गर्न सक्षम छैन । तर, सरकारसँग भएका अरु गैरसरकारी, निजी तथा गैर नाफामूलक एनजिओ, आइएनजिओहरु छन् । यस्तो महामारीको स्थितिमा सरकारले त्यसलाई एडप्ट गर्न सक्दछ, लिन सक्छ ।

सरकारको त्यस्ता संस्थाको मातहतमा उचित व्यवस्थापन गरेर कोरोना संक्रमितहरुको उचित उपचार गर्न सक्छ । त्यसको लागि एउटा संयन्त्र बनाउनुपर्छ । मलाई लाग्छ, महामारीको जुन ऐन छ, त्यसमा यसको व्यवस्था गरिएको छ, त्यसलाई टेकेर सरकार अगाडि बढनुपर्छ ।

१२० दिनको लकडाउनमा संक्रमित संख्या र मृतकको संख्या न्यून थियो, अब कोरोनासँग लिभिंग टुगेदरको विकल्प छैन । जनता आफैं सचेत हुनुको विकल्प छैन ? तपाई यसमा सहमत हुनुहुन्छ ?
डा. प्रवीण मिश्र : कुनै पनि भ्याक्सिनबिना कोरोनासँग लिभिंगटुगेदर गरेर बस्नु घातक हुन सक्छ । ८० प्रतिशतलाई कोरोना यसै पनि ठिक भएर जान्छ, तर हामीकहाँ नन्कम्युनिकेवल रोग हेर्ने हो भने त्यो पनि उत्तिकै छ । सरकारले त्यतातिर पनि काम गरिरहेको छैन । यदि हामी कोरोनासँग लिभिंग टुगेदर गर्ने हो भने, हामी आफैं पनि सचेत हुन जरुरी छ र सरकारले स्वास्थ्य शिक्षामा जोड दिनैपर्छ । स्वास्थ्य शिक्षाको माध्यमबाट जनतामा यसको जागरण गराउने ।

अर्काे महत्वपूर्ण कुरा सरकारले तत्काल यसको भ्याक्सिनको लागि पहल गर्नुपर्यो। हामी पनि सुरक्षित बसेर अरुलाई पनि सुरक्षित तरिकाले राख्न सकियो भने यो विस्तारै आफैं पनि जान्छ । यसमा समय अलि बढी लाग्न सक्छ । तर, विश्वका अन्य देशहरुले बनाएको भ्याक्सिनको लागि पहल गर्ने, गम्भीर विरामीहरुलाई उचित उपचार गर्ने र जनस्वास्थ्यको माध्यमबाट जनचेतना फैलाउन सकियो भने अवश्य पनि गम्भीर अवस्थाबाट हामी जोगिन सक्छौं । हामी अगाडि जानुको विकल्प छैन, तर यसको उचित व्यवस्थापन गर्नु जरुरी छ ।

पहिले त हामी जुनुसुकै अवस्थालाई पनि व्यवस्थापन गर्न सक्षम थियौं । अहिले हाम्रो जनसंख्या बढ्दैगयो, बजेट बढ्दै गयो भने, हाम्रो कार्यक्षमता किन घट्दै गएको छ ?

तपाईँको भनाइको तात्पर्य अहिले हाम्रो स्वास्थ्य मन्त्रालय र नेतृत्व विगतका भन्दा बढी कमजोर भएका हुन् ?
डा.प्रवीण मिश्र : यो मेरो होइन, पूरा देशको बुझाइ हो । सञ्चारमाध्यम, पत्रपत्रिका, सामाजिक सञ्जाल जताततै हेर्नुस् त, यो असफलता कसको हो ? स्वास्थ्य मन्त्रालय भनेको केवल भवन मात्र त होइन नि ! त्यो भवनको असफलता त होइन नि ! त्यहाँ नेतृत्व छ, जुन नेतृत्वले सही तरिकाले व्यवस्थापन गर्न नसक्दा असफल भएको हो । मैले अवकाश पाएको पनि लगभग ६ बर्ष भैसक्यो, पहिले त हामी जुनुसुकै अवस्थालाई पनि व्यवस्थापन गर्न सक्षम थियौं ।

अहिले हाम्रो जनसंख्या बढ्दैगयो, बजेट बढ्दै गयो भने, हाम्रो कार्यक्षमता किन घट्दै गएको छ ? खोजीको विषय होइन ? तपाई सञ्चारमाध्यमले खोजी गर्नुप¥यो नि ? सबै कुरा बढ्दै जाने तर कार्यक्षमता घट्दै जाने कुरा अनुसन्धानको विषय होइन ? कसै न कसैले यसलाई अनुसन्धान त गर्नुप¥यो । अहिले दोस्रो पटक लकडाउन हुँदैछ । यसमा जनताको के दोष ? यो केवल नेतृत्वले काम गर्न नसक्नुको कारणले यस्तो अवस्था सृजना भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board