यो पटक ‘तीज घरभित्रै मनाऔँ’

काठमाडौँ, ४ भदौ । आज हरितालिका तीजको अघिल्लो दिन अर्थात् दर खाने दिन । विगतका वर्षमा तीजको एक महिनाअघिदेखि दर खाएर रमाइलो गर्दै आइरहेका महिला यस वर्ष भने कोरोना कहरले घरभित्रै बसेका छन् ।

कोरोना भाइरसका कारण नेपाल पनि ठूलो पीडामा छ । काठमाडौँ उपत्यकामा सरकारले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको जनाउँदै निषेधाज्ञा आजदेखि जारी गरेको छ । यसका कारण अत्यावश्यकबाहेक अन्य सम्पूर्ण सेवा बन्द छन् ।

धार्मिकरुपमा निकै नै महत्व बोकेको हरितालिका तीजमा बाहिर नगई घरभित्रै उपबास बसेर मनाउने तयारीमा रहेको बताउनुहुन्छ वनस्थलीकी स्थानीय सीता परियार । विगतका वर्षमा दिदीबहिनीहरुलाई घरमै बोलाएर दर खुवाउनमा व्यस्त रहने उहाँले यस वर्ष भने कुनै तयारी गरेका छैन, भन्छन्, “दिदीबहिनी बिनाको तीजको के अर्थ ?”

त्यसो त उहाँको मनमा कोरोना लागिहाल्छ कि भन्ने भय नभएको होइन । जथाभावी चाडपर्व मनाउँदा झनै रोगको सङ्क्रमण बढ्न सक्ने भन्दै सरकारले निषेधाज्ञा जारी गर्नु सकारात्मक रहेको उनको तर्क छ ।

उनी जस्तै यहाँकी ४० वर्षीय अर्की स्थानीय विद्या चापागाईं पनि सरकारले गरेको निर्णयप्रति सकारात्मक छन् । विगत २५ वर्षदेखि तीज पर्व मनाउँदै आएकी उनी अहिलेसम्म पनि यस्तो स्थिति नआएको बताउँछिन्। विगतको तीज खर्चिलो भएको भन्दै उनले यस वर्ष खर्चको वचत भएको जानकारी दिए । “आफ्नै गल्तीले रोग लाग्न दिनुभन्दा सुरक्षित बस्नु धेरै नै उपयुक्त हो”, उनी भन्छिन, “रोगबाट बच्न सके अर्को वर्ष पक्कै मनाउन पाइहालिन्छ नि ”

विगतका वर्षमा दिदीहरुसँग तीज मनाउँदै आएकी उनी कोरोनाले गर्दा यस वर्ष केही खल्लो महसुस भएको बताउँछिन् । भन्छिन्, “यो वर्ष त तीज आए जस्तै लागेको छैन ।” ४५ वर्षीय अर्की स्थानीय साबित्री ढकालको अनुभव पनि उस्तै छ । विगतका वर्षमा दर खाने दिन किनमेल र पकाउनमा व्यस्त रहने उनीले माइती जान नपाउनुको पीडा आफूभित्रै दबाउनुपरेको बताईन् । तर सामाजिक सञ्जालबाट प्रत्येक्ष भिडियोमार्फत कुरा गर्न पाउँदा खिन्नता केही कम भएको उनले बताईन् ।

त्रिभुवन विश्वविद्यालय संस्कृति विभागका पूर्वप्रमुख डा वीणा पौडेलले मन्दिर जान नपाए पनि घरभित्रै पूजाआराधना गरेर यस पर्वलाई मनाउन सकिने जानकारी दिए । “तीज पर्व हाम्रो मनोविज्ञानसँग सम्बन्धित रहेकाले कसरी मनाउने भन्ने हामीमा नै निर्भर रहन्छ”, उनले भने, विगतको वर्षभन्दा यस वर्षको तीज केही फरक तर पछिका लागि अविष्मरणीय रहने उनको तर्क छ ।
यो पर्वमा विवाहित महिलाले श्रीमान्को लामो आयुका लागि व्रत बस्ने गर्दछन् भने अविवाहित महिलाले भगवान् शिवजस्तै श्रीमान् पाउँ भने बस्दै आएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board