म्याग्दीको उडाइनो झरनामा युवाको आकर्षण

गलेश्वर, ४ भदौ । म्याग्दीको बेनी नगरपालिका-२ स्थित बगरफाँटमा रहेको आकर्षक उडाइनो झरना यतिखेर सर्वसाधारणका लागि मन बहलाउने र रमाइलो गर्ने गतिलो स्थानका रुपमा विकास हुँदै गएको छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने सम्भावना भएको यो झरना करिब २५० मिटर अग्लो छ । सदरमुकाम बेनीबजारदेखि करिब ४५ मिनेटको दूरी र बेनी–बगरफाँट–बरङ्जा सडकअन्तर्गत बगरफाँट गाउँबाट डेढ किलोमिटर दक्षिणमा पर्ने यो झरनामा हिजोआज युवकयुवतीको भीड लाग्ने गर्दछ । यसले कोरोना सङ्क्रमणको जोखिमलाई समेत बढाएको छ ।

बेनपा–३ भकिम्लीको तोराखेतबाट झर्ने सो झरना पानीको स्थायी स्रोत नहुँदा हिउँदमा सुक्ने र बर्खामा बग्ने गर्दछ । पूर्वाधार विकास र प्रचारप्रसार गर्न सके आकर्षक पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुँदै गरेको लभहिल, टोड्के, भकिम्लीको स्वर्गद्वारी आश्रमजस्तै यो झरना अर्को पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयवासीको भनाइ छ ।

म्याग्दीका बुद्धिजीवी एवं इतिहासका अध्येता चन्द्रप्रकाश बानियाँ म्याग्दी नदीको पानी लिफ्ट गरेर भए पनि झरनालाई निरन्तरता दिनुपर्ने बताउनुहुन्छ । सो झरनाका कारण सदरमुकाम बेनी र बगरफाँटको मात्रै नभई पुलस्त्य डाँडो, ढोलठाना, मल्लाज, गाजने र टोड्केको समेत प्राकृतिक सुन्दरतामा आकर्षण थपिने उहाँको भनाइ छ । म्याग्दी खोलाको काखमा सुन्दर शान्त बगरफाँट बस्ती र विभिन्न झरना हेर्दै करिब २ किलोमिटरको यात्रापछि पुगिन्छ कोप्रे र उडाइनो झरनामा । यहाँ दैनिक ५० देखि दुई सय युवा रमाउन आउने गर्दछन् ।

यहाँ दुई झरना छन्ः एउटा कोप्रे र अर्को उडाइनो झरना । यी दुवै भरना युवक युवतीका लागि खुसीका अनमोल खजाना बनेका छन् । कोरोनाको त्रासबाट आजित युवकयुवती यहाँ आएर रमाइलो गर्दै दिन बिताउने गरेको बेनी नगरपालिका-३ का वडा सदस्य गेमबहादुर घर्ती मगरले बताए ।

बेनी-२ बगरफाँटमा पर्ने उडाइनो झरना र बेनी -३ भकिम्लीको दुधेखोलामा पर्ने कोप्रो झरना दुवै वडाका आकर्षक झरना हुन् । अन्य दिनभन्दा बिदाका दिनमा यहाँ घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको पाइएको छ भने किशोरकिशोरी र युवा समूहले बढी अवलोकन गर्ने गरेको स्थानीयवासीको भनाइ छ । यी दुई झरना पर्यटकीयस्थल लव्ली हिलपछिको दोस्रो बढी तस्वीर खिँचिने स्थान भएको बेनीबाट झरनामा घुम्न आएका छवि आचार्यले बताए ।

रमणीय जङ्गलका बीचमा रहेको झरना वरिपरि जङ्गली जनावर र पशुपक्षीको वासस्थानसमेत छ । प्राकृतिक स्वरूप नबिग्रने गरी सुविधायुक्त पर्यटकीय पूर्वाधार व्यवस्थापनका लागि योजना बनाइने बेनपा–२ का वडा सदस्य चन्द्रबहादुर कुँवरले बताए ।

पैदल वा सवारी दुवैको प्रयोग गरी पुग्न सकिने यस झरनालाई व्यवस्थित गरी प्रचारप्रसार गर्न सकिएमा म्याग्दीको पर्यटनमा थप इँटा थपिने उनको भनाइ छ । यहाँ पर्यटकीय पूर्वाधारको विकास गर्ने हो भने भकिम्ली बेलढुङ्गा तथा मङ्गला गाउँपालिकाको झाँक्रीपानीसम्म पुग्ने आन्तरिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने स्थानीयवासीको भनाइ छ ।

म्याग्दीमा उच्च सर्तकता : एउटा नाका खुला
कोरोना भाइरस ९कोभिड–१९ ० को जोखिम नियन्त्रणका लागि म्याग्दीमा उच्च सर्तकता अपनाइएको छ । म्याग्दी प्रवेश गर्ने सबै नाकामा सुरक्षा चेकजाँचलाई कडाइ गर्नुका साथै मङ्गलबार रातिदेखि सिल गरिएको छ । अत्यवाश्यक कामका लागि आवतजावत गर्न कालिपुलस्थित एउटा नाकालाई मात्र साँझ ७ बजेसम्म खुला गरिएको छ । एउटा मात्र नाकाबाट आवतजावत गर्न पाएपछि बेनी प्रवेश गर्ने कालीपुल नाकामा सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

बेनीसंगै सीमाना जोडिएका पर्वतको जलजजा गाउँपालिकाका जनताको आउजाउ हुने र दैनिकीसंग प्रत्यक्ष सरोकार रहने यस नाकामा कडाइ गरिएपछि विशेष गरेर मल्लाज, पारीबेनी, मिलनचोक, धाइरिङबाट दैनिकरुपमा बेनीमा आउने, कर्मचारी, व्यापारी, कृषकलगायत सर्वसाधारण मर्कामा परेको बताइएको छ ।

कालीपुल नाकामा कडाइ गरिएपछि पर्वतबाट उपचारका लागि बेनी अस्पतालमा आउने बिरामीलाई निकै सास्ती भएको मिलनचोकका श्याम आचार्यले बताए । त्यहाँ खटिएका सुरक्षाकर्मीले सर्वसाधरणलाई सम्झाईबुझाई वारपार गर्न दिएका छन् । बुधबार एक जना सर्वसाधारण कालिपुलमा लाइनमा नै बेहोस हुँदा उपचारका लागि प्रहरीले उनलाई बेनी अस्पतालमा प्र्याएको थियो ।

“म कार्यालय जानका लागि आएको हुँ”, एक जनाले भने, “यहाँ आएर तीन घण्टादेखि लाइनमा बसेको छु । यसले मजस्तै अन्यलाई पनि कार्यालय आवतजावत गर्न निकै सास्ती भएको छ ।” पर्वत बेनी र म्याग्दी बेनीविच आवतजावतमा सहजता हुनुपर्ने उनीहरुको माग छ । व्यवसायिक काम, बैकिङ्ग कारोबारलगायत अन्य विभिन्न कामका लागि पर्वत बेनीवासीलाई म्याग्दी बेनीमा आउनुपर्ने बाध्यता छ । उक्त बाध्यतालाई मध्यनजर गरेर आवतजावतलाई सहज बनाउनुपर्ने धारणा उनीहरुको छ ।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले कसैलाई दुःख दिने मनसायले नभै कोभिड—१९को उच्च जोखिमलाई मध्यनजर गर्दै नाकामा कडाइ गरिएको बताए । उनले पारीबेनी र दैनिक रुपमा आउजाउ गर्नुपर्ने कर्मचारी, व्यापारीलगायत उपचारका लागि बेनी अस्पताल आउनेलाई सहज वातावरण बनाइएको जानकारी दिए । बुधबार पोखराबाट आएका दुई जनालाई स्थानीय तहको समन्वयमा क्वारेन्टिनमा राखिएको प्रजिअ अधिकारीको भनाइ छ ।

हिजोमात्र कालिपुल नाकाबाट १ सय ६१ जना म्याग्दी बेनी प्रवेश गरेका छन् । कालिपुल नाका हुदै म्याग्दी बेनीमा व्यवसाय गर्न आउने व्यवसायीलाई उद्योग वाणिज्य सङ्घलाई परिचय पत्र बनाउन आग्रह गरिएको स्थानीय प्रशासनले जनाएको छ । नाकामा कडाइ नगर्ने हो भने छिमेकी जिल्लामा समुदाय स्तरमा नै फैलिएको कारोना सङ्क्रमणबाट म्याग्दी पनि उच्च जोखिममा पर्न सक्ने प्रजिअ अधिकारीको भनाइ छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board