लोगो त्रुटीपूर्ण भएको भन्दै आलोचना भएपछि संसद सचिवालयले गर्‍यो फिर्ता

काठमाडौं, ३ भदौ । सांसदहरुलाई वितरण गर्न बनाइएको लोगो त्रुटीपूर्ण भएको भन्दै आलोचना भएपछि संसद सचिवालयले घरेलु कार्यालयलाई फिर्ता गरेको छ । पुनः नयाँ लोगो बनाएर ल्याउन भन्दै संसद सचिवालयले बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई ती लोगोहरु फिर्ता पठाएको हो ।

मंगलबार सभाभुखसहित बसेको संसद सचिवालय र घरेलु कार्यालयका अधिकारीको बैठकले पुनः नयाँ लोगो बनाउने निर्णय गरेको थियो । निर्णयअनुसार मंगलबार नै १९० वटा लोगो फिर्ता लगिसकेको हस्तकला इकाइ अधिकृत गणेश राउतले जानकारी दिए । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्टममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो ।

निर्णयअनुसार नयाँ लोगो बनाउने जिम्मा बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयलाई दिइएको थियो । गत आइतबार उक्त लोगो संघीय संसदका महासचिव डा. भरतराज गौतमले सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरेका थिए । उक्त लोगो सार्वजनिक भएपछि नेपालको नक्सा नमिलेको भन्दै आलोचना सुरु भएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board