चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा अमेरिकी गुप्तचर पक्राउ

काठमाडौं, ३ भदौ । चीनका लागि जासुसी गरेको आरोपमा अमेरिकी गुप्तचर निकाय सीआईएका भूतपूर्व अधिकारीलाई पक्राउ गरिएको छ । एक नातेदारसँग मिलेर जासुसी गरेको आरोपमा ती पक्राउ परेका हुन् । ६७ वर्षीय एलेक्ज्यान्डर युक चिङ मालाई गत शुक्रवार पक्राउ गरिएको र अभियोग लगाइएको अमेरिकी न्याय मन्त्रालयले एउटा विज्ञप्तिमा उल्लेख गरेको छ । उनले राष्ट्रिय सुरक्षासम्बन्धी वर्गीकृत सूचना चिनियाँ गुप्तचर अधिकारीहरूलाई दिएको आरोप लगाइएको छ ।

चीन र अमेरिकाबीच तनाव चुलिएको बेला जासुसीका आरोपमा पक्राउ परेका उनी सबैभन्दा महत्त्वपूर्ण व्यक्ति हुन् । मालाई मङ्गलवार अदालतमा पेस गरिन लागेको छ । दोषी ठहर भएमा उनलाई आजीवन कारावास सजाय हुनसक्छ । माको जन्म हङकङमा भएको थियो । तर उनी अमेरिकाका अङ्गीकृत नागरिक हुन्। उनले सन् १९८२ मा सीआईएमा काम गर्न थालेका थिए। अभियोजनकर्ताहरूका अनुसार सात वर्षपछि सीआईए छोडेर उनी अर्कै काम गर्न चीनको शाङ्घाई गए र २००१ मा फर्किए। मार्च २००१ मा हङ्कङमा भेटघाटहरू भएपछि मा र उनका नातेदारले एक दशक चीनका लागि जासुसी गरेको आरोप छ । ती दुईले सीआईएका कर्मचारी, गतिविधि र सञ्चार गोप्य राख्ने उपायहरूबारे चिनियाँ पक्षलाई जानकारी दिएको बताइएको छ ।

हङकङमा भएको एउटा भेटमा गोप्य सूचना दिएबापत माले ५०,००० डलर लिएको भिडिओ प्रमाण उपलब्ध भएको अमेरिकाको दाबी छ । अदातलमा पेस गरिएको कागतपत्रमा हवाईमा बस्दा माले चीनका लागि सूचना संकलन गर्ने उद्देश्यले एफबीआईमा काम गर्न खोजेको उल्लेख छ । उनलाई एफबीआईको होनोलुलुस्थित कार्यालयले सन् २००४ मा करारमा भाषाविद्को जागिर दिएको थियो । उनले त्यहाँबाट गोप्य कागजपत्र चोरेको आरोप छ । तर उनलाई किन पक्राउ गरिएको थिएन भन्ने स्पष्ट छैन। माको षड्यन्त्रमा संलग्न उनका नातेदारको नाम उल्लेख गरिएको छैन । तर उनी ८५ वर्षका भएको र अमेरिकाका अङ्गीकृत नागरिक भएको अभियोजनकर्ताहरूको भनाइ छ।

बीबीसीबाट

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board