आज मात्रै कोरोनाबाट ६ जनाको मृत्यु, कति पुग्यो मृतकको संख्या ?

काठमाडौं, २ भदौ । नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । कास्कीमा २ जना र ललितपुर, काभ्रे, मोरङ र बाँकेमा एक एक जनाको मृत्यु भएको हो । कास्कीमा आज विहान पौने ११ बजे ८७ वर्षीय वृद्धको मृत्यु भएको छ । पोखरा महानगरपालिका १६ का ती वृद्ध कोरोना पुष्टि भई हिजो पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान कोभिड १९ उपचार केन्द्रको आइसीयुमा भर्ना भएका थिए ।

उनको उपचारका क्रममा आज मृत्यु भएको प्रदेश स्वाथ्य निर्देशनालयले जनाएको छ । मधुमेह, मृगौला लगायत दीर्घ रोगबाट पीडित उनी उच्च ज्वरो र स्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए । योसहित गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस अघि आज विहान पोखरामा उपचारका क्रममा मृत्यु भएकी एक महिलाको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

तनहु ब्यास नगरपालिका–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका सञ्चालक डाक्टर पदम खड्काले जानकारी दिनुभयो । उनको कोरोना परीक्षणको रिपोर्ट आज विहान आएको हो । महिलामा मधुमेह, उच्च रक्तचाप, मुटुको समस्या र निमोनिया रहेको डाक्टर खड्काले जानकारी दिनुभयो । यसै गरी ललितपुरस्थित पाटन अस्पतालमा नेपाली कांग्रेसका नवलपरासी जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । नवलपरासी सुस्ता पश्चिम घर भएका ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे निधन भएको हो । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते पाटन अस्पतालमा पुगेर भर्ना भएका गिरीको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको र बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालले जनाएको छ । यसैगरी, बाँकेमा कोरोना संक्रमणले गएराति एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या चार पुगेको छ । कोरोनाका कारण काभ्रेको धुलिखेल अस्पतालमा आज विहान एक वृद्धको मृत्यु भएको छ । धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिनुभयो । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ । यस्तै कोशी अस्पतालमा ४७ वर्षीय पुरुषको कोरोना भाइरसका कारण मृत्यु भएको छ । आइतबार साँझ अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका ८ का संक्रमितको सोमबार साँझ ५ बजे मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट चुमनलाल दासले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board