स्थानीय प्रशासनलाई ‘कर्फ्यु’ सम्मको अधिकार, आज कहाँ-कहाँ गरियो निषेधाज्ञा ?

काठमाडौं, २ भदौ । नेपालमा कोरोना संक्रमण दर बढिरहेको छ । काठमाडौं उपत्यकामा दैनिक रुपमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि निषेधाज्ञा गर्ने वा लकडाउन गर्ने भन्ने बारेमा सरकारी अधिकारीहरुको आन्तरिक तयारी हुँदैछ ।

तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू उपत्यकामा लकडाउन गर्ने कि नगर्ने भन्ने बारेमा निर्णयका लागि छलफल गर्दैछन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार काठमाडौं बाहिरबाट लुकिछिपी उपत्यकामा भित्रिने क्रम नरोकिएको जस्ता कारणले आवतजावतलाई कडा पार्न के गर्न सकिन्छ भन्ने विषयमा छलफलहरु भइरहेको छ ।

अत्यावश्यक बाहेकका पसल बन्द गर्न, भिडभाड, जात्रा, सभा, जुलुस, महोत्सव जस्ता गतिविधि नगर्न, सरकारले जारी गरेका स्वास्थ्यका मापदण्ड पालना गर्न आम सर्वसाधारणलाई आग्रह गरिएको थियो। तर, उक्त आदेशको पालन कहि कतैबाट नभएपछि कडारुपमै प्रस्तुत हुनुपर्ने अवस्था सिर्जना भएको जनप्रतिनीधिहरुको भनाई छ ।

स्थानीय प्रशासनलाई ‘कर्फ्यु’ सम्मको अधिकार
सरकारले कोरोना भाइरस संक्रमण बढेको क्षेत्रमा नियन्त्रणका लागि कर्फयु, निषेधाज्ञाको अधिकार स्थानीय प्रशासनलाई दिने निर्णय गरेको छ । हिजो सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएकोले उच्च संक्रमण भएको क्षेत्रमा सेमी लकडाउन गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिने निर्णय गरेको छ । एक मन्त्रीका अनुसार उच्च कोरोना संक्रमित क्षेत्रमा ‘कर्फ्यु’ को अधिकार स्थानीय प्रशासनलाई दिने मन्त्रिपरिषदले निर्णय गरेको हो ।

सीडीओ लाई अधिकार थपियो
त्यस्तै, कोरोना संक्रमणको जोखिम विश्लेषण गरेर प्रमुख जिल्ला अधिकारी सीडीओले जुनसुकै बेला पनि निषेधाज्ञा जारी गर्न सक्ने अधिकार प्रदान भएको छ । सरकारले कोरोना भाइरस सङ्क्रमणको जोखिम विश्लेषण गरेर सिडिओलाई जुनसुकै बेला निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार प्रदान गरेको हो ।

सोमबारको मन्त्रीपरिषद्को बैठकले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिले जोखिमको विश्लेषण गरी सम्बन्धित जिल्लाभरि वा जिल्लाको कुनै भागमा मात्रै लागू हुने गरी निषेधाज्ञा जारी गर्न सक्ने निर्णय गरेको हो । त्यसको लागि सरकारले स्थानीय प्रशासन ऐन २०२८ को अधिकार प्रमुख जिल्ला अधिकारीलाई सुम्पने निर्णय गरेको हो ।

निषेधाज्ञा जारी भएको अवस्थामा सरकारी कार्यालयमा न्यूनतम कर्मचारीसहित कार्यालय चलाउने, अरुलाई घरबाटै काम गर्ने व्यवस्था मिलाउन पनि सरकारले निर्देशन दिएको छ । यस्तै सङ्क्रामक रोग ऐन २०२० तथा सरकारले जारी गरेका अरु निर्देशनअनुसारका निर्देशिका, आदेश तथा निर्णय अटेर गरेमा कडा कारबाही गर्न पनि सरकारले प्रमुख जिल्ला अधिकारीसहित विभिन्न मन्त्रालय र गृह प्रशासनलाई निर्देशन दिएको छ ।

कोरोना उच्च जोखिममा उपत्यका
पछिल्लो समय कोरोनाको उच्च जोखिममा उपत्यकामा पनि रहेको छ । यसअघि तराईका केहि जिल्लाहरु कोरोना संक्रमणको उच्च जोखिमा रहेका थिए । तर, अहिले काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर बढिरहेको छ । उपत्यकामा मात्रै कोरोना सङ्क्रमितको संख्या दुई हजार नाघेको छ ।

मिक्लाजुङमा एक साता लकडाउन
जिल्लाको मिक्लाजुङ गाउँपालिकाले सोमबारदेखि एक साता बन्दाबन्दी लकडाउन गरेको छ । समुदायमा समेत कोभिड–१९ सङ्क्रमण फैलिएको मोरङसँग सीमा जोडिएको उक्त गाउँपालिकाले सङ्क्रमण फैलन सक्ने भन्दै एक साता लकडाउन गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाले एम्बुलेन्स बाहेकका सबै सवारीका साधन सञ्चालनमा रोक लगाएको छ । गाउँपालिकाको सङ्कट ब्यवस्थापन केन्द्रको आइतबार बसेको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत अरुण राईले जानकारी दिए ।

औषधि, खाद्यान्न र दूग्ध बाहेक सबै प्रकारका बजार पसल एक साताका लागि बन्द गरिएको गाउँपालिकाले सूचना प्रकाशन गरी जनाएको छ । यस्तै अत्यावाश्यक बाहेक मोटरसाइकल सञ्चालनमा समेत रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राईले बताए ।

गाउँपालिकाले अनिश्चित कालका लागि गाउँपालिका भित्र लाग्ने हाट बजार बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले मास्कको प्रयोगलाई अनिवार्य गर्न आह्वान समेत गरेको छ । यस्तै कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा भीडभाड हुने क्षेत्रमा भीडभाड हुनबाट रोक्न सम्बन्धित स्थानीय तहहरुलाई आग्रह गर्ने तथा सङ्घीय सरकार र प्रदेश सरकारबाट निर्णय भएअनुसार बन्दाबन्दी हटेपछिको अवस्थामा अपनाउनुपर्ने सावधानी अपनाउने कार्यलाई कडाइ गर्ने निर्णय गरेको छ ।

सप्तरीमा भदौ १५ गतेसम्म निषेधाज्ञा
कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्र सप्तरीको आज बसेको बैठकले भदौ १५ गतेसम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरले बताए । सप्तरी जिल्लाभरि गत साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा आज मध्य राति सकिन लागेका बेला बैठकले पुनः थप गर्ने निर्णय गरेको बैठकमा सहभागी नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले बताए ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा राजनीतिक दल, नागरिक समाजसहित आज बसेको बैठकले निषेधाज्ञालाई निरन्तरता दिँदै अवधि थप गर्ने निर्णय गरेको हो । प्रजिअ आचार्यले जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या दुई सय नाघेको र विभिन्न स्थानमा संक्रमित बढिरहेकाले निषेधाज्ञालाई निरन्तरता दिनुपरेको बताए ।

प्रजिअ आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३० र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिकासहित सप्तरी जिल्लाभरि अनावश्यक हिँडडुल र आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निषेधाज्ञाको निर्णय गरेको जनाइएको छ । अत्यावश्यक कामसमेत तोकिएबमोजिमको स्वास्थ्य सुरक्षा सतर्कताको मापदण्डको पूर्ण पालना गरी गर्न, गराउन निषेधाज्ञा जारी गरिएको बताउँदै प्रजिअ आचार्यले चाडपर्वसमेत घरपरिवारका बीच घरभित्रै मनाउन आग्रह गरेका छन् ।

हनुहमाननगर कंकालिनी नगरपालिकामा आज एकै परिवारका आठसहित ११ जना संक्रमित देखिएपछि जिल्लामा संक्रमित ६८३ पुगेको स्वास्थ्य कार्यालयले विज्ञप्ति जारी गरी जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आजसम्म सप्तरीमा ९७ महिला र ५८६ पुरुष गरी कुल ६८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ । बाँकी संक्रमितमध्ये ४८ महिला र ४१२ पुरुष गरी कुल ४६० जना निको भएर घर फर्किएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजितकुमार झाले बताए ।

बागलुङ बजार एक साता बन्द
कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए मध्यरातिदेखि लागू हुने गरी यही भदौ ७ गतेसम्म बजार बन्द गर्ने निर्णय भएको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष युवराज राजभण्डारीद्वारा सोमबार जारी विज्ञप्तिमा “अत्यावश्यक खाद्य सामग्री, मासुजन्य, दुग्धजन्य, पानी, औषधि, सरसफाइका सामग्री, तरकारी, ग्यास, इन्धनबाहेकका सबै उद्योग तथा पसलहरु बन्द गरिदिनुहुन अनुरोध छ”, उल्लेख छ ।

अत्यावश्यक वस्तु किनमेल पनि बिहान ७ः३० देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म मात्र गर्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको छ । सङ्घले पसल, व्यवसाय सञ्चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन व्यवसायीमा आग्रह गरेको छ । बागलुङ नगरपालिका–१, २, ३ र ४ वडाले पनि वडाबाट प्रदान गरिने सेवा एक सातालाई बन्द गरिएको जनाएका छन् । अत्यावश्यकबाहेकका अन्य पसल, व्यवसाय र सेवा बन्द गरी सहयोग गरिदिन वडाले सबैमा आग्रह गरेका छन् । सङ्घ र वडाको निर्णयअनुसार आज बिहानैदेखि अत्यावश्यकबाहेकका पसल, व्यवसाय बन्द छन् ।

“बजारमा भीडभाड बढेकाले कोराना फैलने डर भयो, त्यसैले कडाइ गर्ने निर्णय भएको हो”, वडा नं २ का अध्यक्ष जीवन आचार्यले भने, समुदायका व्यक्तिमा कोरोना देखिन थालेपछि जिल्लामा कडाइ गर्न थालिएको हो । केही दिनअघि जनप्रतिनिधि, स्वास्थ्यकर्मी, व्यवसायीलगायतमा कोरोना पुष्टि भएको थियो । यसअघि जिल्ला सङ्कट व्यवस्थापन र सुरक्षा समितिले आइतबारदेखि लागू हुने गरी सवारी साधनलाई जोर÷बिजोर प्रणालीका आधारमा चलाउने निर्णय गरेको थियो ।

यस्तै खुला स्थानमा भीडभाड गर्ने, भेला हुने र जुलुस आदिजस्ता कार्यलाई रोक लगाइएको छ । नित्य पूजापाठबाहेक मन्दिरमा हुने धार्मिक कार्य बन्द गर्ने, मेला, जात्रा, सार्वजनिक कार्यक्रम, गोष्ठी, सेमिनार, भेला आयोजना गर्न नपाइने निर्णय गरिएको छ । होटल, रेष्टुराँलाई पनि प्याकिङ गरी खाना लैजाने टेकअवे सेवा मात्र प्रदान गर्न अनुरोध गरिएको छ । वडाध्यक्षमा कोरोना देखिएपछि बडिगाड गाउँपालिका पनि भदौ ७ गतेसम्मलाई सिल गरिएको छ ।

कास्कीमा भदौ ७ सम्म निषेधाज्ञा
कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समिति कास्कीको आज बसेको बैठकले उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए ।

उहाँका अनुसार आज राति १२ बजेदेखि ६ दिनसम्म कास्कीमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञाको अवधिमा खाद्य पदार्थ र औषधिबाहेक अरु सबै पसल बन्द रहने जनाइएको छ । सो अवधिमा घर बाहिर निस्कन पाइने छैन । स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मी तथा अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक जिप्रकाबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् भने सरकारी, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था पनि बन्द रहनेछन् ।

हिन्दू महिलाको महान् पर्व तीज र कुशे औंसी जस्ता चाडमा मानिसको भीडभाड हुने र सङ्क्रमण अझ फैलने सक्ने अवस्थालाई ध्यान दिएर निषेधाज्ञा लागु गरिएको जनाइएको छ ।

महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा
कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू निषेधाज्ञा आदेश जारी भएको छ । सोमबार भदौ १० मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी गरेको हो ।

यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम जलेश्वर नगरपालिकाकोे मुख्य बजारक्षेत्र र छिमेकको महोत्तरी गाउँपालिकाका वडा नं ३ र ५ मा मात्र गत साउन २१ गतेदेखि पटकपटक गरी निषेधाज्ञा जारी गर्दै आएको थियो । पछिल्ला केही दिनयता जिल्लाका सबैजसो भेगमा सङ्क्रमण निकै बढेको हुँदा यसलाई रोकथामका लागि आवागमन रोक्न जिल्लाभरि नै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सोमबार साँझ जारी गर्नुभएको आदेशमा उल्लेख छ ।

जिल्लास्थित कोभिड-१९ सङ्क्रमण व्यवस्थापन समितिको बैठकको निर्णयानुसार जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो । अत्यावश्यक काम र निर्माणकार्यलाई अवरोध नपुग्ने गरी भदौ १० मध्यरातसम्मलाई निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।यसक्रममा हिँडडुल, सवारीसाधन, हाटबजार र मेलाजात्रा सबै बन्द गरिएको आदेशमा उल्लेख छ । औषधि पसल र अस्पतालबाहेक अन्य सबै पसल बन्द रहनेछन् । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई तत्काल कारवाही गरिने प्रजिअ कटुवालको भनाइ छ ।

यसअघि स्थानीय प्रशासन (जिल्ला प्रशासन) ले सीमित क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि जिल्लाका स्थानीय तह र उद्योग वाणिज्य सङ्घको समन्वयमा बर्दिवास, भङ्गाहा, गौशाला, औरही, लोहारपट्टी र बलवासहितका नगरपालिका क्षेत्रमा साप्ताहिक हाटबजार साउन २१ यता बन्द गराउँदै आएका थिए । ती प्रयत्न प्रभावकारी नभएपछि जिल्लाभरि नै निषेधाज्ञा लागू गर्न स्थानीय प्रशासनलाई दबाब बढेको थियो ।

महोत्तरीमा कोभिड–१९ सङ्क्रमणबाट हालसम्म दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा सोमबार साँझसम्म एक हजार ८८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यसमध्ये १२ जनामा सोमबार सङ्क्रमण पुष्टि भएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए । जिल्लाका सङ्क्रमितमध्ये ३७० जना उपचारपछि निको भएर घर फर्केका कार्यालयले जनाएको छ ।

प्युठानमा यातायात बन्द
प्युठानमा आज राति १२ बजेदेखि पूर्ण रुपमा सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अध्यक्षतामा आज बसेको कोभिड संकट व्यवस्थापन समितिको बैठकले सार्वजनिक तथा निजी सवारीसाधन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दर बढी भएका जिल्लाका व्यक्तिको आवातजावत प्युठानमा बढी हुन थालेपछि यातायात बन्द गर्न थालिएको जिल्ला प्रशासन कार्यालय प्युठानका सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताए । उनले भने,‘अत्यावश्यकबाहेक अन्य सवारीसाधन पूर्ण रुपमा बन्द हुनेछन् ।’ चाडपर्वका समयमा व्यक्तिको आवतजावत बढी हुने भएकाले यही भदौ १५ गतेसम यातायात बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

मृत्यु हुनेको संख्या ११४ पुग्यो
कोरोना संक्रमितको संख्या नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो अहिलेसम्म दैनिक पुष्टि भएको सङ्क्रमितको उच्चतम सङ्ख्या हो।

त्यस्तै, काठमाडौं उपत्यकामा आज सोमबार २ सय ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा। जागेश्वर गौतमले जनाए । संक्रमितमध्ये काठमाडौंमा १३८, ललितपुरमा ५० र भक्तपुरमा १७ जना छन्। सोमबार काठमाडौं उपत्यकामा १ सय ६८ जनामा कोरोना पुष्टि भएको थियो।

के छ पछिल्लो अपडेट ?
कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११४ पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,२५७ पुगेको छ। अहिले देशभरि १०,५६३ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी मङ्गलवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।

स्वास्थ्य मन्त्रालयका अनुुसार सङ्क्रमितहरूमध्ये २,८८७ जना घरमै र बाँकी ६,७५२ जना संस्थागत आइसोलेशनमा रहेका छन् । अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। विगत २४ घण्टामा १३,४६१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक परीक्षण भएको बताइएको छ।

कैदीबन्दीमा कोरोना संक्रमणः जिल्ला अस्पताल सिल

जिल्ला कारागारमा रहेका कैदीबन्दीमा कोभिड –१९०को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए ।

जबरजस्ती करणी मुद्दामा चार वर्षदेखि कारागारमा कैद सजाय भोग्दै आएका ६० वर्षीय एक कैदीको सोमबार राति आएको रिपोर्टमा कोरोना संक्रमण देखिएपछि उनको उपचार गराइएको जिल्ला अस्पतालसमेत शिल गरिएको हो । कैदीबन्दीलाई ज्वरो, रुघाखोकीका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि शनिबार उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो ।

कैदीबन्दीका उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र अन्य सम्पर्कमा आएका व्यक्तिको अहिले कन्ट्रयाक्ट टे«ेसिङ शुरु भएको छ । कारागारमा १५० कैदीबन्दी छन् । प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कारागारको सुरक्षासमेत नेपाली सेनाले गर्दै आएको छ । प्रहरीमा कोरोना देखिएपछि कारागार भित्र आउजाउ गर्न बन्द गरिएका अवस्थामा पनि कोरोना संक्रमण देखिएकाले आफू अन्योलमा परेको जेलर चूडामणि भण्डारीले बताए ।

जिल्ला अस्पतालले आज सूचना जारी गर्दै अस्पतालमा उपचार गराइएका कारागारका एक पुरुषमा कोरोना संक्रमणको पुष्टि भएकाले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्रयाक्ट टे«सिङ गर्नुपर्ने र अस्पताल निर्मलीकरण गर्नुपर्ने भएकाले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यही भदौ ८ गतेसम्म अस्पताल शिल गर्ने निर्णय गरेकाले सबै सेवा बन्द गरिएको जनाएको छ । कैदीबन्दीमा संक्रमण पुष्टि भएसंँगै जिल्लामा संक्रमितको संख्या ३०४ पुगेको छ भने १७२ जना निको भएर घर फर्किएका छन् ।



विश्वभर कोरोना संक्रमितको संख्या कति पुग्यो ?
विश्वभर कोरोना संक्रमितको कुल संख २ करोड २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९१ हजार ५२१ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार बिहान विहानसम्म कोरोना संक्रमितको संख्या २ करोड २० लाख ४१ हजार ३०४ पुगेको हो।

यस्तै एकै दिन थप ४ हजार ८३ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ७ लाख ७७ हजार १९४ पुगेको छ । संक्रमितमध्ये १ करोड ४७ लाख ८३ हजार ६७० जना संक्रमण मुक्त भएका छन् । निको हुनेको यो संख्या ६६ प्रतिशत हो । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३ हजार ३७६ जनाको मृत्यु भएको छ । ३२ लाख ३ हजार ५११ जना संक्रमित भएकोमा १९ लाख १७ हजार ५८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ४८ हजार ४६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६६ लाख १८ हजार ८५ पुगेको छ । त्यसमध्ये ३६ लाख ४४ हजार ५८६ जना संक्रमणमुक्त भएका छन् । यस्तै एसियाली मुलुकहरूमा १ लाख २१ हजार ५२४ जनाको मृत्यु भएको छ । ५७ लाख ३८ हजार २२२ जना संक्रमित भएकोमा ४४ लाख ६६ हजार ७२६ जना संक्रमणमुक्त भएका छन् । दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ७७ हजार ४२३ जनाको मृत्यु भएको छ । ५३ लाख २२ हजार ८६७ जना संक्रमित भएकोमा ३८ लाख ८८ हजार ६३६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २५ हजार ९४२ जनाको ज्यान गएको छ भने ११ लाख ३२ हजार १०१ संक्रमित छन् । संक्रमितमध्ये ८ लाख ४९ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ४४७ जनाको मृत्यु भएको छ । २५ हजार ७९७ जना संक्रमित भएकोमा १६ हजार २९० जना संक्रमणमुक्त भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board