जाजरकोटमा पहिरोपीडितको व्यथाः वर्षाको भल पिउन बाध्य

जाजरकोट, २ भदौ । बाढीपहिरोका कारण खानेपानीका मुहान, पाइन लाइन बगाउँदा बारेकोटका स्थानीयवासी वर्षाको भल पानी पिउन बाध्य भएका छन् । गत असार २५ गते गएको बाढीपहिरोले जाजरकोटको दुर्गम बारेकोट गाउँपालिकामा खानेपानी आयोजना अवरुद्ध बनाएको छ ।

खानेपानी अवरुद्ध भएपछि बारेकोटका दुई हजार घरपरिवार शुद्ध खानेपानीको सुविधाबाट वञ्चित भएका छन् । बारेकोट–४ सार्कीटोल, जिरी, तल्लो जिरी, तलकोट, गोठगाउँ, वडा नं ५ को तोलखाना, कालाखोली, भैलोखाना, वडा नं ६ को धुमा, घर्तीगाउँ, ताँसी, वडा नं ७ को स्याला, सुवाकोट, लुहाग, वडा नं १ को धौलाकोट, कोट्ली, तल्लो सिर्पाचौर, तलिआगरलगायत वडाका बस्तीमा खानेपानीको चरम अभाव भएको छ ।

पहिरोका कारण दर्जनाँै खानेपानी आयोजना बन्द भएका छन् । गाउँमा आपूर्ति हुँदै आएका खानेपानी पहिरोले क्षति पु¥याएपछि स्थानीयवासी वर्षाको भल खोलामा बग्ने धमिलो पानी पिउन बाध्य भएको बारेकोट–४ का भक्तबहादुर शाहीले बताउनुभयो । शुद्ध पिउने पानी अभावमा स्थानीय बासिन्दामा झाडापखाला, आउँ, जुकालगायत रोगको जोखिम बढेको छ ।

पहिरोले खानेपानीका पाइप, ट्याङ्की बगाएर लगेपछि खानेपानीको समस्या भएको पहिरो पीडितको गुनासो छ । विस्थापित बसेको स्थानमा समेत खानेपानीको व्यवस्थापन हुनसकेको छैन । उनीहरू खोला, कुवा, नाउलाको दुषित पानी प्रयोग गर्न बाध्य भएको कालाखोलीका विस्थापित बेलु नेपानीको भनाइ छ । पहिरोले खानेपानी अवरुद्ध बनाएपछि वडा नं ४ मा ५०० घर, वडा नं ५ मा ४१० घर, वडा नं ६ मा ३५० घर, वडा नं ७ मा ६०० घर, वडा नं १ मा २०० घरका दुई हजार घरपरिवार खानेपानी सुविधाबाट वञ्चित भएका छन् ।

तत्कालै खानेपानी आयोजना मर्मत तथा निर्माण गर्न सकिने अवस्था नै छैन । यसका लागि अल्पकालीन र दीर्घकालीन व्यवस्था गरेर खानेपानी सञ्चालनमा ल्याइने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए । बारेकोट गाउँपालिकामा गएको बाढीपहिरोले करिब रु ३५ करोडको क्षति पु¥याएको छ । बारेकोटमा पहिरोमा परी ११ जनाको मृत्यु भएको छ भने तीन अझै बेपत्ता छन् ।

गाउँपालिकाका अनुसार पहिरोमा तीन घाइते भए भने ६० घर पूर्णरूपमा भत्किएका छन् । तीन सय ३४ परिवारका ८०० जना विस्थापित भएर गोठ, विद्यालय र सार्वजनिक ठाउँमा बसिरहेका छन् । वडा नं ४, ५, ६, ७ र १ मा बढी क्षति भएको छ । पहिरोले पुर्याएको क्षतिको मुचुल्का उठाउने काम भइरहेको छ । अधिकांश गाउँमा हिँडडुल गर्ने बाटो छैन । विद्युत्, खानेपानी र सिँचाइ कुलो, सडक पहिरोकै कारण अवरुद्ध भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board