कोरोना नियन्त्रण सरकारको प्रमुख उद्देश्य हो: मुख्यमन्त्री भट्ट

काठमाडौं १ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वव्यापी महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्नु नै सरकारको प्रमुख उद्देश्य रहेको बताए ।

प्रेस सेन्टर डोटीले आज डोटीको दिपायल राजपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने, “कोरोना रोकथाम तथा नियन्त्रणमा प्रदेश सरकार बढी केन्द्रित भएको छ, कोरोनालाई परास्त गरेरै छोड्ने छौँ ।”

मुख्यमन्त्री भट्टले प्रदेश सरकारले कोरोना नियन्त्रणमा उल्लेख्य भूमिका खेलिरहेका कारण समुदायमा कोरोना फैलिन नपाएको दाबीसमेत गरे । उनले भने “भारतबाट रोजगारी गरि फर्किएका ८० देखि ९० हजार नागरिक क्वारेन्टिनमा राख्ने सम्भवतः हाम्रै प्रदेश पहिलो हो, हामीले बेलैमा सचेत अपनाउँदा समुदायमा कोरोना सर्नबाट बचाएका छौँ, हामी कोरोनालाई नियन्त्रण गरेरै छोड्छौँ ।”

मुख्यमन्त्री भट्टले सङ्घीय सरकारले प्रदेश सरकारको कुरा नसुन्दा सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको बताए । “हामीले सीमानाका सिल गरौँ र पिसिआर परीक्षण गरेर मात्रै नेपाल छिर्न दिउभन्दा सङ्घीय सरकारले मानेन, सीमानाका खुलायो, अहिले कोरोना सङ्क्रमितको सङ्ख्या बढ्यो”,उनले भने “सङ्घीय सरकारले प्रदेश सरकारले भनेको नमान्दा जम्मा दुई जना सङ्क्रमित देखिएको सुदूरपश्चिममा हजारौँ सङ्क्रमित थपिए, हामीलाई कन्ट्रोल गर्न समस्या भयो ।”

एउटै गाउँपालिकामा वर्षेनी एउटै किसिमका योजना बजेट पर्ने गरेको भन्ने पत्रकारको जिज्ञासामा मुख्यमन्त्री भट्टले प्रदेश सरकारले वर्षेनी एउटै योजनामा बजेट नहालेको र कहीँकतैबाट त्यसरी बजेट परेको भए तत्काल खारेज गरिनेसमेत बताए । उनले भने , “प्रदेश सरकारले जानीजानी एउटै योजनामा वर्षेनी बजेट हालेको छैन, कहीँकतै कुनै गलत तरिकाबाट बजेट गएको भए खारेज हुन्छ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board