काठमाडौं, १ भदौं अभिनेत्री पुजा शर्माको निवेदनप्रति नेपाली फिल्मका ७ संस्थाले ऐक्यबद्धता जनाउँदै पत्रकार प्रकाश सुवेदीले सञ्चालन गर्दै आएको ‘रजतपट’ र ‘ग्लामर गफ’ कार्यक्रममा सहभागी नहुन फिल्मकर्मीलाई आग्रह गरेको छ ।
एपी वान टेलिभिजनको रजतपट कार्यक्रमका प्रस्तोता सुवेदीले कार्यक्रममा आफुले बोलेको बिषयमाथि माफी मागी सक्दा पनि विभिन्न ७ फिल्म संस्थाले एक विज्ञप्ति जारी गर्दै ‘रजतपट’ र ‘ग्लामर गफ’ कार्यक्रममा सहभागी नहुन फिल्मकर्मीलाई आग्रह गरेपछि उनीहरुको विरोध हुन थालेको हो । सुवेदीले एक अभिनेत्रीको शारीरिक बनावटलाई लिएर अशिष्ट शब्द प्रयोग गरेका थिए । अभिव्यक्ति र स्वतन्त्रताको नाममा कसैको मानमर्दन गर्न, शारीरिक बनावट अशिष्ट आक्षेप लगाउन र व्यक्तिगत चरित्र हत्या गर्न कसैलाई अधिकार नभएको ७ संस्थाद्वारा जारी संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उनको उक्त शैलीको व्यापक विरोध भएपछि उनले हात जोडेर पटक–पटक माफी समेत मागिसकेका छन् । तर, उक्त शब्द आफूप्रति लक्षित रहेको भन्दै अभिनेत्री पूजा शर्माले फिल्म सम्बद्ध विभिन्न संघ–संस्थामा उजुरी दिएकी थिइन् ।
नेपाली फिल्मसँग सम्बन्धित कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघको अहिले चर्को विरोध भइरहेको छ । ७ संस्थाको विरोधमा उनीहरुकै संस्थाका सहकर्मी,चलचित्रकर्मी, रंगपत्रकार र सर्वसाधारण उत्रिएका छन् ।
सुवेदीले गल्ती महसुस गरेर माफी मागिसकेको अवस्थामा फिल्म सम्बद्ध ७ संघसंस्था मिलेर फिल्मकर्मीलाई कार्यक्रममा नजानू दुर्भाग्यपूर्ण रहेको नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणाले बताए । निर्देशक प्रदीप भट्टराई पनि रिसको झोकमा एउटा व्यक्तिले मनमनै लिएको निर्णय जस्तो सात संस्थाको निर्णय लागेको बताए । अभिनेत्री रेखा थापाले निषेधले निषेध र बहिष्कारले बहिष्कार जन्माउने भन्दै घुमाउरो पारमा ७ संस्थाको निर्णयको बिरोध जनाएकी छन् ।
COMMENTS