नेपालको अद्यावधिक नक्सासहित संसदको नयाँ लोगो तयार

काठमाडौं, ३२ साउन । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ प्रतीक (लोगो) तयार भएको छ । संघीय संसदले तयार गरेको उक्त लोगो आइतबार संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको हो ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहाललाई लोगो हस्तान्तरण गरिएको हो ।

सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दाहालले आइतबारदेखि नै नयाँ लोगो लगाएका छन् । गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको अद्यावधिक नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो ।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो । दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रति लोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति