चितवन, ३२ साउन । पूर्वी चितवनको राप्ती नगरपालिका–९ मा रहेको चेत्राङखोलामा माछा मार्ने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इच्छाकामना गाउँपालिका–२ घुरेचोक घर भएका २५ वर्षीय रवि गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
राप्ती नगरपालिका–८ ससुराली घर बस्दै आएका गुरुङ खोलामा बेहोस अवस्थामा देखेपछि उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । उनको उपचारका क्रममा साँझ ५ः०० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
पुलबाट हाम फाल्दा एक जनाको मृत्यु
स्वर्गद्वारी– प्युठानको प्युठान नगरपालिका–८ बाग्दुलाको पुलबाट हामफाल्दा शनिबार एक जनाको मृत्यु भएको छ । प्युठान–१० का ५० वर्षीय धनीराम कुमालको पुलबाट हामफाल्दा मृत्यु भएको जिल्ला प्रहरी कर्यालय प्युठानले जनाएको छ ।
मानसिक अवस्था ठिक नभएका कुमालले मानसिक रोगको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको शव प्युठान नगरपालिका–४ रानीबगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णु पौडेलले जानकारी दिए । उनको शव परीक्षणका लागि जिल्ला अस्पताल प्युठानमा राखिएको छ ।
COMMENTS