काठमाडौं, ३० साउन । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय पुगेको छ । पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ ।
श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिए ।
मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको छ । यस्तै कोशी अस्पताल, बिराटनगरमा उपचाररत मोरङ र सिराहाका एकएक जनाको मृत्यु भएको छ। मोरङको विराटनगर महानगपालिका–१३ का ३० वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु ३ जेठमा पुष्टि भएको थियो । बाह्रबिसे, सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केसीको जेठ २ गते धुलिखेल अस्पतालमा मृत्यु भएको थियो । साँझ धनुषामा मृत्यु भएका एक व्यक्तिमा संक्रमण पुष्टि भएपछि मृतकको संख्या १ सय पुगेको हो ।
प्रतिक्रिया