काठमाडौं,३० साउन । १५ दिन अघिसम्म आकाशिएको तरकारीको मूल्य केही दिनयता ओरालो लागेको छ । दुई साताको अन्तरालमा ८२ प्रतिशतसम्म मूल्य घटेको व्यवसायी तथा उपभोक्ताले बताएका छन् । बाढी र पहिरोका कारण काठमाडौं आउने बाटो अवरुद्ध हुंदा तरकारीको मूल्य बढेको थियो । बाटो सहज भएसंगै मूल्य पनि सस्तो भएको व्यवसायीले जानकारी दिए ।
पछिल्लो दुई सातामा अधिकांश तरकारीको मूल्य घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । साउन १६ गते घिरौलाको प्रतिकिलो थोक मूल्य ९८ रुपैया थियो भने अहिले १८ रुपैया प्रतिकिलोमा झरेको छ । यस्तै तीन सय ६० रुपैया प्रतिकिलोको हरियो धनिया ७३ प्रतिशतले सस्तिएर ९५ रुपैया प्रतिकिलो कायम भएको छ । यस अवधिमा तिते करेला, गाजर, तने बोडी, टनेल तथा सानो गोलभेडाको मूल्यमा पनि उच्च गिरावट आएको बजार विकास समितिले जनाएको छ । भारतीय रातो आलुमा दुई प्रतिशत र टनेल गोलभेडामा ४५ र सानो गोलभेडामा ३३ प्रतिशतको मूल्य गिरावट आएको छ ।
COMMENTS