नेपाल–पाकिस्तान सहकार्य

यतिवेला इस्लामिक गणतन्त्र पाकिस्तान आफ्नो स्थापनाको ७४ औं वर्षउत्सव मनाइरहेको छ । र, यो वर्ष नेपाल–पाकिस्तान कूटनीतिक सम्वन्ध स्थापनाको ४० औं वर्ष पनि हो । विगत ६ दशकदेखि नेपाल र पाकिस्तानबीच आपसी विश्वास, समझदारी र सहयोगका आधारमा द्विपक्षीय सम्बन्ध रहँदै आएको छ । त्यसो त दुई देशबीचको सम्बन्ध शासकीय सीमामा नबाँधिएर जनस्तरमै विकास भएकाले औपचारिक कूटनीतिक सम्बन्ध स्थापना हुनभन्दा अगावैदेखि शुरु भएको व्यापार, पर्यटन र लगानी पछिल्ला दशकहरुमा अझ फस्टाएको छ ।

नेपाल र पाकिस्तान दुवै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का संस्थापक राष्ट्र हुन । यो क्षेत्रको शान्ति स्थिरता र दीगो विकासका लागि गतिशील सार्कको आवश्यकता छ । तर भारत र पाकिस्तानबीचको लामो समयदेखिको तिक्ततापूर्ण सम्बन्धका कारण सार्क पटक पटक प्रभावित बन्ने गरेको छ । यसैले विधानत प्रत्येक वर्ष आयोजना हुनेपर्ने सार्क शिखर सम्मेलन विगत सार्कको स्थापनायतामा ३५ वर्षमा केवल १८ पटक मात्र सम्पन्न हुनसकेको छ ।

पछिल्लो पटक सन् २०१४मा नेपालमा सम्पन्न १८ औं सम्मेलनपछि भारतले सहभागी हुन असमर्थता जनाएकाले ६वर्ष वित्दा पनि पाकिस्तानमा हुनुपर्ने १९ औं शिखर सम्मेलन आयोजना हुन सकेको छैन । नेपाल सार्कको वर्तमान अध्यक्ष राष्ट्र भएकाले यसको गतिशीलताका लागि भारत लगायत सबै सदस्य राष्ट्रसँग सम्वाद गरेर अघि बढ्नु पर्ने खाँचो छ । विगतमा संयुक्त राष्ट संघको महासभाको बेला पारेर परराष्टमन्त्री प्रदीप ज्ञवालीले सार्क सम्मेलन आयोजनाका लागि यस प्रकारको पहल गर्नुभए पनि खासै उपलब्धिमूलक हुन सकेन । तर एउटा पहलले अपेक्षित नतिजा प्राप्त भएन भनेर नेपाल चुपचाप बस्न मिल्दैन ।

प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचित हुनासाथ तत्कालीन पाकिस्तानी प्रधानमन्त्री शाहिर खान अब्बासीले नेपाल भ्रमण गरेर सार्कलाई पुनर्जीवन दिन नेपालको पहलको अपेक्षा ब्यक्त गर्नुभएको थियो । १९ औं सार्कका लागि आयोजक राष्ट्र पाकिस्तानको यो चाहनालाई नेपालले असल भावनाका साथ ग्रहण गर्नुपर्छ । वर्तमान अवस्थामा सार्कको पुर्नर्जीवन नेपालका लागि कुटनीतिक क्षमता बढाउने अवसर त हुने छ नै, विद्यमान नेपाल–पाकिस्तान सम्बन्धलाई थप उचाइमा पु¥याउने अवसरसमेत बन्नेछ ।

भारत र पाकिस्तानबीच यतिवेला निकै तिक्ततापूर्ण सम्बन्ध छ । खासगरी गत वर्ष भारतले संविधानको धारा ३७० खारेज गरेर भारत प्रशाशित जम्मु–काश्मीर राज्यलाई दिएको विशेष राज्यको दर्जा कटौती गरेपछि यी दुई राष्ट्रबीच थप तनाव बढेको छ । आणविक शक्तिबाट सुसज्जित दक्षिण एशियाका यी दुई शक्तिहरुबीचको तनावले उनीहरु मात्र होइन समग्र सार्क क्षेत्र प्रभावित हुन्छ । विगतमा तीन पटकसम्म युद्धमा उत्रिसकेका यी दुई राष्टबीचको मित्रता र सहकार्य दक्षिण एशियाली क्षेत्रको आजको आवश्यकता हो । दुइ राष्ट्रबीचको सहकार्यबाट विकास र समृद्धिको ढोका त खुल्छ नै, दक्षिण एशियाको साझा समस्या बनेको प्राकृतिक विपत्ति, गरिवी र आतंकवादजस्ता समस्यासँग जुध्न थप बल पुग्छ । सार्कको अध्यक्ष राष्ट्रको हैसियतले नेपालले भारत र पाकिस्तानबीचको तनाव मत्थर गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । आन्तरिक राजनीतिक मुद्दाबाट माथि उठेर क्षेत्रीय शान्ति, स्थिरता र प्रगतिको लक्ष्यसहित दुबै राष्ट्रका नेतृत्वबीचको निरन्तर संवादबाट मात्रै यो तनाव मत्थर गर्न सकिन्छ ।

नेपाल र पाकिस्तानबीचको विगत ६ दशकको इतिहासमा कहिल्यै कटुता उत्पन्न भएको छैन । प्राकृतिक विपद्का बेला दुवैले एक–अर्कालाई सघाएका छन् । उद्योग, पर्यटन र लगँनीको क्षेत्रको सहयोगबाहेक नेपालमा प्राविधिक जनशक्ति विकासका लागि पाकिस्तानले ५ सयभन्दा बढी विद्यार्थीहरुलाई छात्रवृत्ति दिएको छ । आगामी दिनमा दुई देशबीच थप सहकार्य र सम्बन्ध सुदृढीकरण हुनेमा आशावादी हुन सकिन्छ । ७३ औं राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी जनताप्रति हाम्रो शुभकामना !

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board