‘अघिल्लो पुस्ताले नै नेतृत्व कब्जा गरेर बसेको हुनाले युवाका मुद्दा थाति नै रहेका छन्’

कोभिड–१९ पछि नेपालमा देखिएको युवाहरुको समस्या, चुनौती र अवसरको बारेमा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा संघ नेपालका सह–संयोजक रमेश पौडेल, युथ एडभोकेसी नेपालका अध्यक्ष नरेन्द्र खतिवडा र युवा अभियन्ता चन्दन कौशिकसँग अनन्त अनुरागले गरेको कुराकानीको अंशः

कोभिड-१९ को महामारीकै बीचमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहँदा राजनीतिक दलसँग आबद्ध युवाको हैसियतले तपाईंले कसरी लिनुभएको छ ?

रमेश पौडेल : दुनियाँमा नेपाल यस्तो देश जहाँ युवाको संख्या ज्यादा छ । युरोप, अमेरिका र अन्य देशको तुलना प्रतिशतको आधारमा हेर्दा पनि नेपालमा युवाको जनसंख्या बढी रहेको पाइन्छ । युवाको संख्या बढी हुनु देशको लागि गौरवको कुरा पनि हो । यस अर्थमा आजको अवसरमा नेपालमा सरकारी र गैरसरकारी स्तरमा युवाका लागि खोलिएका संघ संस्थाहरुले कोभिड–१९ को महामारीकै बीचमा पनि सामाजिक दुरी कायम गरी र्भचुअल माध्यमबाट युवाहरुको वर्तमान समस्या, चुनौति र अवसरकाबारेमा गम्भीर छलफलहरु आयोजना भएका छन् ।

‘अधिकार प्राप्तिको राजनीतिक आन्दोलनमा लामो समयसम्म युवाहरु परिचालित भए, तर जब युवाहरुको मुद्दालाई संस्थागत र नेतृत्व गर्ने सवालमा आउँछौं त्यसपछि विस्तारै पछाडि धकेल्दै गएको देखिन्छ ।
नेपालमा र विदेशमा पनि नेपाली युवाहरुले रोजगारी गुमाइरहेका छन् । अहिले सरकार र सरोकारवालाहरुले रोजगारी गुमाएका युवाहरुलाई पुनः कसरी व्यवस्थापन गर्ने कुरामा ध्यान दिनु जरुरी देखिन्छ ।’

यसै सन्दर्भमा युवाहरुको प्राथमिकता, शिक्षाका कुरा, रोजगारका कुरा, मनोरञ्जनका मुद्दा र सामुदायिक मुद्दाहरुके के कति पूरा भए र के कति पूरा गर्न बाँकी छ ? यसका बारेमा सरोकारवालाहरुले समीक्षा गर्न पनि जरुरी छ । अधिकार प्राप्तिको राजनीतिक आन्दोलनमा लामो समयसम्म युवाहरु परिचालित भए, तर जब युवाहरुको मुद्दालाई संस्थागत र नेतृत्व गर्ने सवालमा आउँछौं त्यसपछि विस्तारै पछाडि धकेल्दै गएको देखिन्छ । आन्दोलनको र परिवर्तनको अग्रमोर्चामा खटिएका युवाहरु नेतृत्वदायी भूमिका प्राप्त गर्न नसक्नु र अघिल्लो पुस्ताले नै नेतृत्व कब्जा गरेर बसेको हुनाले युवाका कतिपय मुद्दाहरु थाति नै रहेका छन् ।

हिजोका दिनमा निरन्तर युवाहरुले भोग्दै आएका राजनीतिक नेतृत्व, अवसर, सम्भावना आदि समस्या छँदैथिए, तर अहिले महामारीको बीचमा युवाहरुको समस्या फरक तरिकाले अगाडि आएको हो ?

रमेश पौडेल : युवाहरुमा रोजगारीसँग जोडिने, श्रमसँग जोडिने, उत्पादनसँग जोडिने जनशक्ति बढी छ । यस अर्थमा अहिले कोभिड–१९ले उत्पादनको क्षेत्रमा बढी प्रभाव पारेको छ । कलकारखाना, उद्योग, पर्यटन क्षेत्र सुचारु हुनसकेको छैन । यता, विदेशमा रहेका युवाहरुले पनि दिनप्रतिदिन रोजगारी गुमाई रहेका छन् । यसरी हेर्दा महामारीले विगतमा कल्पनै नगरेका, सोच्दै नसोचेका समस्या देखापरेका छन् ।

प्रतिशतको आधारमा हेर्दा कोभिड–१९ को मारमा सबैभन्दा बढी युवाहरु नै परेका छन् । अहिले विश्ववजारमै सबैभन्दा बढी रोजगारी गुमाउने युवा जमात नै बढी छन् । नेपालमा र विदेशमा पनि नेपाली युवाहरुले रोजगारी गुमाइरहेका छन् । अहिले सरकार र सरोकारवालाहरुले रोजगारी गुमाएका युवाहरुलाई पुनः कसरी व्यवस्थापन गर्ने कुरामा ध्यान दिनु जरुरी देखिन्छ ।

नेपालको सन्दर्भमा युवाहरुलाई उचित व्यवस्थापन गर्ने कुरा, रोजगारका कुरा, अवसरका कुरा हेर्दा अब वर्तमान युवाहरुका चुनौति के छन् ?

नरेन्द्र खतिवडा: पहिले युवाको अवस्थाको कुरा गरौं, नेपालको अर्थतन्त्रको मेरुदण्ड भनेको बैदेशिक रोजगारमा गएका युवाहरुले पठाएको रेमिट्यान्स हो । अहिले कोभिड–१९ को कारणले विदेशमा रहेका ४० लाख युवाहरु नेपाल फर्किन्छु भन्दै गर्दाखेरी नेपाल सरकारले प्लेन चार्टरको जुन भाडा तोकिएको छ, हाम्रै राजदुतावासले खण्डन गर्नुपरयो कि त्यति भाडा लाग्दैन, त्योभन्दा कम दरमा पनि व्यवस्थापन गर्न सकिन्छ ।

त्यसले के देखायो भन्दा, राज्यले कहिं न कहिं युवाहरुबाट पैसा असुल्न चाहन्छ । कोभिडले गर्दा अहिले कैयौं युवाहरुले आत्महत्या गर्ने परिस्थिति सिर्जना भएको छ । करिब १ लाख युवाहरु जो शिक्षासँग सम्बन्धित छन्, तिनीहरुको बारेमा सरकारले कुनै ठोस निष्कर्ष निकाल्न नसक्दा तिनीहरु एक किसिमको डिप्रेसनमा रहेको अवस्था छ ।

रोजागारीको सम्बन्धमा जो रोजगार थिए, अहिले बेतलबी बिदा बस्नु परेको छे । जो रोजगारीको खोजी गरिरहेका छन्, तिनीहरुको कुनै पनि सुनिश्चिता नभएको अवस्था छ । क्वारेन्टीनमा बसेको युवाको संख्या हेर्दा सबैभन्दा बढी युवाहरु त्यहाँ संक्रमित भएर बसेका छन् । यद्यपि युवाहरुको मृत्युदर कम देखिन्छ । यसरी बृहत परिदृश्यमा हेर्दा सरकारले के तयारी गरेको छ त ? सरकारले त केही पनि तयारी गरेको छैन ।

त्यसकारण हामीले के भनेका छौं भने, यदि यही परिस्थितिले अगाडि बढिरह्यो भने, नेपालको जुन पुरानो व्यक्तिहरु सत्तामा हालीमुहाली गरी युवाहरुमा भ्रम सृजना गरी रहेका थिए, अहिलेको परिस्थितिले एउटा चुनौति पनि सृजना भएको छ, सँगसँगै अवसर पनि सृजना भएको छ । विद्यमान अवस्थामा युवाहरुको मुद्दालाई ठीक ढंगले सम्बोधन गर्ने हो र उनीहरुको क्षमता अभिबृद्धि गरी अगाडि बढ्ने हो भने नयाँ अवसर पनि सृजना हुन सक्दछ ।

युवाहरुको अवसर र भूमिकाको कुरा गर्ने हो भने, अहिले युवाहरुको भूमिका बढेर गएको देखिन्छ, तर सो अनुसार चलायमान भएको देखिएन ? कहाँनेर समस्या भयो ?

चन्दन कौशिक: म जुन संस्थामा बाल्यकालदेखि नै आवद्ध छ, त्यो संस्थाको जन्मदाताले भन्नुभएको थियो, इफ यु गो फरवार्ड यु डाइ, इफ यु गो व्याकवार्ड यु डाइ, सो बेटर गो फरवार्ड एण्ड डाइ (तिमी पछाडि गए पनि मर्छौ, अगाडि गए पनि मर्छौ, जता गए पनि मर्नु नै छ भने अगाडि गएर मर्नु बेश) । कोभिडको बीचमा युवाहरुको लागि यो एउटा मोटिभेसनल डोज हुन सक्छ ।

कोभिडको बीचमा युवाहरुले विश्वभरी जुन प्रकारको भूमिका निर्वाह गर्नु पर्दथ्यो, निर्वाह गर्न सकिएको छैन । विगतमा युवा दिवस मनाउँदै गएका हामी पनि सडकमा गएर नारा लगाउने गथ्र्यौं, हे युवा जय युवा, आज बाटोमा हे युवा, जय युवाको ठाँउमा इनफ इज इनफको नारा आई सक्यो, कोभिड–१९ कै पार्टसँग जोडिएर यो भएको होला । तर यी दुईटै पार्टभन्दा माथि उठेर मलाई भन्न मन लागेको कोभिड–१९ को परिवेशमा युवाहरुलाई लिड गरेर अगाडि बढ्ने हो र अगृणी भूमिका दिने हो भने, हामीले युथपावर भन्छौं, अब त्यो परिवर्तन हुनुपर्यो अहिलेको परिवेशमा ।

‘नेपालको सन्दर्भमा त्यसलाई थोरै परिवर्तन गरी युथपावरलाई, पावर युथको रुपमा ब्याख्या गर्न सक्नुपर्छ । युथपावर एउटा डिमाण्डिङ नेचरको थ्योरी हो । डिमाण्डिङ थ्योरीको नेचरले काम गछौं भने, यस्तो कठिन बेलामा हामीलाई काम गर्न गाह्रो हुन्छ ।’

युवाहरु एक किसिमको फ्रस्टेसनमा सडकमा पुगेका छन् । जेजस्ता विषय र माग लिएर तिनीहरुले राज्य र जनताप्रतिको दायित्वबोध गरेका हुन् कि अर्थोकै केही हो ?

चन्दन कौशिक: हिजोसम्म हामीले जे जे कुरामा अल्झेर युथ इन्गेजमेन्टहरु बढायौं । अब, त्यो इन्गेजमेन्टलाई समाधान र सूत्रपात कसरी गर्ने हामीले कहाँ लाने त ? हिजोसम्म हामी युथपावरको कुरा गर्दथ्यौं, नेपालको सन्दर्भमा त्यसलाई थोरै परिवर्तन गरी युथपावरलाई, पावर युथको रुपमा ब्याख्या गर्न सक्नुपर्छ । युथपावर एउटा डिमाण्डिङ नेचरको थ्योरी हो ।

डिमाण्डिङ थ्योरीको नेचरले काम गछौं भने, यस्तो कठिन बेलामा हामीलाई काम गर्न गाह्रो हुन्छ । हामी पावर युथ हौं भनेर हामीले बुझिदिने र त्यही किसिमको व्याख्या गरी दिने हो भने, फोर्स पावर युथहरुले नेतृत्व गरेर सही दिशा दिने हो भने, मलाई लाग्छ धेरै हदसम्म काम गर्नलाई सहज हुन्छ । सरकारको जति पनि कनेक्टिङ कामहरु छन्, पावर युथले त्यसलाई सही ठाँउमा ल्याउनलाई अग्रणी भूमिका गर्नसक्छ जस्तो लाग्छ मलाई ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board