पुनर्जीवन पाएका पत्रकार: एकै हातका भरमा चलेको पत्रकारिता

काठमाडौं २९ साउन । “भगीरथ, एउटा समाचार टिप त”, “भगीरथ, एउटा न्युज दिनू न,” इलामका पत्रकार भगीरथ भण्डारीले दैनिकरूपमा आफ्नै मिडियामा सामना गर्नुपर्ने प्रश्न हुन् यी । यति मात्र होइन, अरू मिडियाका पत्रकार पनि खुसुक्क उनको मिडियामा पस्छन् अनि ‘अस्तिको समाचार मलाई पनि है’ भन्दै निस्कन्छन् । भगीरथले सामना गर्नुपर्ने काम भने यतिमा मात्रै सीमित छैनन् । घरायसी मामिलादेखि अन्य काम पनि छन् उनका तर यति सबै काम गर्ने भगीरथको हात भने एउटा मात्र छ । उनी एउटै हातका भरमा तमाम काम भ्याउछन् ।

उनी अपाङ्गता भए पनि पत्रकारितामा यसको छाया भने पर्दैन । एउटै हातले पनि भगीरथ अहिले राजधानी दैनिक र जनता टेलिभिजनको इलाम संवाददाता हुन्. भने इलाम पोष्ट दैनिकको प्रबन्ध सम्पादक । उनका सामु दैनिकरूपमा आउने काम भनेको इलाम पोष्टको विज्ञापन व्यवस्थापन÷आर्थिक कारोबार अनि टेलिभिजनमा भिडियो र राजधानी दैनिकलाई समाचार पठाउने ।

यी सबै काम उनी एकै हातको भरमा गर्छन् । जो कोहीलाई भगीरथको काम देख्दा अपाङ्गता भएको भान हुँदैन । सँगै रहेका साथीभाइले एउटा काम गर्दा उनलाई दुईभन्दा बढी गर्नुपर्ने बाध्यता आइलाग्छ । योभन्दा अचम्मको कुरा त के हो भने भगीरथ एकै हातको भरमा टाइप गर्छन् र पत्रिकाको डिजाइन पनि । जो कोहीले दुवै हातले गर्न नसक्ने काम भगीरथ एकै हातले गर्छन् ।

करेन्ट लगेको त्यो हात

विसं २०६९ साउन १२ गते भगीरथलाई कालो दिन लाग्छ । इलामको फाकफोकथुम गाउँपालिकास्थित आमचोकका भगीरथ अध्ययनका लागि इलामको देउमाई नगरपालिकास्थित मङ्गलबारे बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्ष अध्ययन गर्दै थिए । त्यस दिन घरभेटीले घरको छानाको पानी कटाउन पाइपको डुँड लाउँदै थिए । त्यसैबेला घरबेटीले उनलाई पनि सहयोगका लागि बोलाए । घरबेटीको वचन काट्न नसकेर सहयोग गर्न जानुपर्ने भयो । जाँदाजाँदै उनलाई घरबाट एक मिटर पर रहेको ११ हजार भोल्टेजको लाइनले तानेर टाँस्यो । “एघार हजार भोल्टेज भएको लाइनले केही टाढाबाटै तान्दो रहेछ, झन् त्यो दिन त पानी परेकाले सबैतिर चिसो थियो, तारमा लगेर टाँसेछ मैले त केही पत्तै पाइनँ”, भगीरथले भने, “करेन्ट लागेपछि एक्कासि लाइन गएछ । हात तारमा र खुट्टा छानामा भयो ।”

वरपरका मान्छे भेला भएर भगीरथलाई भुइँमा सुताएछन् । धेरैले मरेको ठानेका रहेछन् तर खुट्टाको औँला चलेपछि ‘सास छ’ भन्दै मङ्गलबारेको अस्पताल लगेछन् । उपचारका लागि त्यहाँबाट इलाम अस्पताल हुँदै धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएछ । “म होसमा आउँदा धरानमै अस्पतालमा थिएँ”, भगीरथले भने । उपचारका लागि चार दिन बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बस्नुपर्यो ।

त्यसपछि थप उपचारका लागि ५९ दिन सुषमा कोइराला मेमोरियल ट्रष्टमा बस्नु पर्यो । ट्रष्टमा करेन्ट लागेको हात काट्नै पर्ने अस्पतालले बतायो । “मनमा अनेकौँ कुरा खेल्न थाले तर अब जिन्दगीभर एकै हातको भरमा बाँच्नुपर्छ भन्ने लाग्यो”, भगीरथले अँध्यारो मुख पार्दै भने, “फाल्दा बाँचिन्छ भने फालौँ न त भनेँ ।” उपचार सफल भएर बाँचेपछि भगीरथ भने आफू भाग्यमानी रहेको बताए । “दाहिनेतिरबाट लाइनको तारले तानेको थियो तर देब्रे हात बिग्रियो”, उनी भन्छन्, “देब्रे हातमा घडी लगाएको थिएँ त्यसले पनि छिटो तानेछ ।” उनको देब्रे हात चुँडियो भने दाहिने हात र दाहिने खुट्टामा दाग छ ।

यो दुर्घटनाबाट बाँच्नुभएका भगीरथ गत वर्ष मोटरसाइकल दुर्घटनामा परे । समाचार सङ्कलन गर्न जाने क्रममा इलाम चोक बजारमै मोटरसाइकलले ठक्कर दिएपछि एक हप्ता अस्पतालको सम्पर्कमा रहेका । यो दुर्घटनामा पनि उनको पहिले दुर्घटनामा परेको हातमै समस्या पर्यो तर दीर्घकालीन समस्या भने आएन ।

पत्रकारितामा भविष्य देख्नुहुन्न

यति धेरै सङ्घर्ष गरे पनि उनी पत्रकारितामा भविष्य देख्छन् । जिल्लाभित्र वा बाहिरका मिडियामा काम गरे पनि हात मुख जोड्न समस्या हुने गरेको उनले बताए । छ वर्षदेखि अनवरत पत्रकारिता गर्दै आउनुभएका उनले सन्दकपुर दैनिकको व्यवस्थापक र डिजाइनर भएर चार वर्ष काम गरे ।

लामो समय खट्दासमेत दुःख गरेअनुसार पैसा नभएपछि विकल्प खोज्नु पर्ने स्थिति आएको उनले बताए । “न स्थायी होइन्छ न त तलबीमै राखिन्छ”, उनले भने “साह्रै धेरै मिडियामा काम गर्दा पनि जीवन धान्न कठिन भएको छ ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board