आजबाट ‘सवारी पास’ बन्द, एक जिल्लाबाट अर्काे जिल्लामा जान नपाइने

काठमाडौं, २९ साउन । कोरोना संक्रमण हुने क्रम बढ्दै गएपछि आजबाट देशभर अर्काे व्यवस्था नभएसम्मका लागि ‘सवारी पास’ बन्द गरिएको छ । सरकारले देशका सबै ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आजबाट ‘सवारी पास’ वितरण बन्द गर्न निर्देशन दिएको हो ।

मन्त्रिपरिषदबाट विभिन्न मितिमा भएका निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा यसअघि दिने गरिएको ‘सवारी पास’ आजबाट नदिन गृह मन्त्रालयले भनेको छ । मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र पठाइसकेको छ ।

अर्काे व्यवस्था नभएसम्मका लागि सवारी पास बन्द गराउन मन्त्रालयले निर्देशन दिएको छ । यो निर्णयसंगै अब एक जिल्लाबाट अर्काे जिल्लामा गाडीमार्फत जान पाइने छैन । काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) लाई भने सरकारले यसअघिदेखि नै एक जिल्ला मानेको छ ।

नागढुंगाबाट जबरजस्ती काठमाडौं छिर्न खोज्ने पक्राउ
काठमाडौं छिर्ने मुख्य नाका नागढुंगाबाट जबरजस्ती आउँन खोज्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गएराति पौने ११ बजेतिर नागढुंगाबाट काठमाडौं प्रवेश गर्न लागेका नुवाकोट शिवपुरी गाउँपालिका २ का कमल तामाङ, सुर्खेतको गुर्वाकोट गाउँपालिका १ का बिक्की नेपाली र रुपन्देहीको बुटवल ११ का विशाल रसाईलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सरकारले यही १५ गतेदेखि बेलुकी ७ बजेदेखि बिहान ७ बजेसम्म नाकाबाट प्रवेश गर्न नदिने निर्णय गरिसकेको छ । तर उनीहरुले काठमाडौं प्रवेश गर्न पाउनुपर्ने माग राखेर जबरजस्ती गर्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

उनीहरुलाई अहिले महानगरीय प्रहरी वित्त थानकोटमा राखिएको छ । उपत्यकामा कोरोना संक्रमण बढ्न थालेपछि सरकारले रोकथाम तथा नियन्त्रणको लागि भन्दै कडाइ गर्न थालेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board