सुरक्षा गार्डलाई कोरोना पोजेटिभ देखिएपछि सर्वोच्च न्यायाधीश सेल्फ–आइसोलेसनमा

काठमाडौं, २९ साउन ।  सुरक्षा गार्डलाई कोरोना पोजेटिभ देखिएपछि सर्वोच्च अदालतका दुई न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाल सेल्फ आइसोलेसनमा बसेका छन्। उनीहरूले सामाजिक सञ्जाल फेसबुकमार्फत् यसको जानकारी गराएका हुन्।

साउन २२ गते बिहीबारसम्म खतिवडाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई बुधबार कोरोना देखिएपछि उनीहरू आफ्नै घरमा आइसोलेसनमा बसेका हुन्।

साउन २२ गते बिहीबारसम्म मेरो सुरक्षाका लागि खटिएका एक जना सुरक्षाकर्मीमा कोभिड– १९ पोजेटिभ देखियो। नमूना २६ गते दिएको र नतिजा आज करिब १: ३० बजे थाहा भयो। त्यसैले शंकाको अवस्था पैदा भएको छ। मैले आफूमा संक्रमणको लक्षण वा असहजता अहिलेसम्म महशुस गरेको छैन। आशा छ मलाई संक्रमण भएको छैन होला। तथापि सतर्कता र सावधानी अपनाउन आवश्यक ठानेर अहिले म आफ्नै निवासमा सामाजिक दुरी कायम राखेर बसेको छु, न्यायाधीश खतिवडाले फेसबुकमा लेखेका छन्।

स्वास्थ्य मन्त्रालयका सम्बन्धित अधिकारीहरूसँग सम्पर्क र प्रारम्भिक परामर्श भएको छ। थप नयाँ कुरा भए यथासमय सम्प्रेषण गरिने नै छ। यसलाई सहज र सामान्य रूपमा लिइदिनु हुन सबै शुभेच्छुक प्रियजनमा अनुरोध छ।

न्यायाधीश खतिवडाले आफूलाई कुनै लक्षण नदेखिएको र यसलाई सामान्य रूपमा लिन सबैसँग आग्रह गरेका छन्। खतिवडाले फेसबुकमा यस्तो जानकारी दिएपछि अर्का न्यायाधीश फुयालले त्यसैमा कमेन्ट गर्दै आफू खतिवडासँग एउटै इजलासमा काम गरेकाले आइसोलेसनमा बसेको जनाउ दिएका हुन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति