नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

काठमाडौं, २८ साउन । कोरोना सङ्क्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको पुष्टि छ । गएको सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र मङ्गलबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ को सडकमा मृत भेटिएका बाराको विश्रामपुर ५ का ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै २४ घण्टामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको हो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९२ जना पुगेको छ । यसअघि काठमाण्डौको किस्ट अस्पतालमा उपचारको क्रममा काठमाण्डौको टेकुकी ७८ वर्षीया महिला र बाराको कलैयाका ७५ वर्षीय पुरुषको मृत्यु भएको थियो । यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धनुषाको जनकपुरकी ३८ वर्षीया महिला र मेडिसिटी अस्पतालमा जनकपुरकै ७२ वर्षीय पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका १४ को धुँवाकोटका ३२ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा मृत्यु भएको छ । यस्तै कोरोना विशेष अस्पताल बुटवलमा उपचारको क्रममा कपिलवस्तु नगरपालिका २ को तौलिहवाका ४२ वर्षीय पुरुष र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिका २ का ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै सप्तरीको डाक्नेश्वरी–८ घर भइ राजविराज ६ मा बस्ने ७२ वर्षीय पुरुषको आइसोलेशनमा लैजाने क्रममा एम्बुलेन्समै मृत्यु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board