चितवन, २८ साउन । भरतपुरको मौलाकालिका अस्पतालमा उपचाररत इच्छाकामना गाउँपालिका–५ की ७८ वर्षकी एक वृद्धामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि चितवनको इच्छाकामना गाउँपालिका सिल गरिएको छ । गाउँपालिकाको आकस्मिक बैठकले बुधबारदेखि एक सातासम्म गाउँपालिका क्षेत्र सिल गरेको हो ।
गाउँपालिकाका प्रशासकीय अधिकृत सुकदेव लम्सालले समुदायस्तरमा संक्रमण फैलिन नदिन एक साता सिल गरेर पूर्व सावधानी अपनाइएको बताए ।
‘बिरामीलाई भेट्न गएका व्यक्ति गाउँमा आएर बैठकतिर पनि गएको देखियो । मुग्लिन, फिस्लिङ, कुरिनटार लगायतका क्षेत्रमा पनि संक्रमण फैलिएको छ की भन्ने देखिएकोले सिल गरेको प्रशासकिय अधिकृत लम्सालले बताए ।
गाउँपालिकाले मुग्लिन नारायणगढ सडकखण्ड र पृथ्वी राजमार्गमा भने सवारी साधन रोक्न नपाउने गरी सञ्चालन हुने छन भने स्थानीय रुटका सवारी भने एक साताका लागि बन्द गरिएको छ । गाउँपालिकाले मातहतमा रहेको सरकारी कार्यालय एक हप्ताको लागि बन्द गर्ने, राजमार्ग क्षेत्रका होटल, रेस्टुरेन्ट पूर्ण रुपमा बन्द गर्ने, खाद्यान्न तथा अत्यावस्यक सामग्री बिक्री गर्ने पसलहरु हरेक दिन बिहान ७ बजे देखि १० बजेसम्म तीन घण्टा सुरक्षित विधि अपनाएर खोल्न दिने निर्णय गरेको छ ।
COMMENTS