यतिबेला काठमाडौंको स्कूलमा पढिरहेकाहरु पनि हुम्ला, जुम्लामा होलान्, कहाँको विद्यार्थी कहाँ पुगेका छन्, सबैतिर भर्चुअल कक्षा सम्भव पनि छैन । त्यसो त अनलाईन र भर्चुअल पहुँच पुगेकाहरुमा पनि पढाईको मोडालिटी परिवर्तन गर्न आवश्यक छ । जो विद्यार्थी जहाँ छन्, त्यहीं बसेर पढ्ने, पढाउने अर्थात् नेटवर्क बेस लर्निङ एप्रोचमा अघि बढ्नुको विकल्प छैन ।
काठमाडौं उपत्यकासहित देशैभरमा कोरोना महामारीको जोखिम बढेसँगै शिक्षा क्षेत्र थप अन्यौलमा
रुमलिएको छ । सरकारले असार १ गतेबाट दूरशिक्षा एवम् भर्चुअल शिक्षा सञ्चालन गरी हेरे पनि व्यवहारतः यो असफल भयो । र, अझै पनि शैक्षिक सत्रलाई कायम राख्ने, केही महिना धकेल्ने वा पाठ्यक्रम संकुचन गर्ने विषयले शिक्षा क्षेत्र अस्तव्यस्त बनाइरहेको छ ।
गत चैत ११ गते देखि सुरु भएको लकडाउन अन्त्य भयो । तर, महामारीको कहर झन् बढ्दा शिक्षा क्षेत्रको समस्या समाधानको साटो झन् बल्झेको छ । विद्यार्थीको सुनौलो जीवनको एक शैक्षिक बर्ष खेर जाने अवस्था सिर्जना भइसक्दा पनि के गर्ने भन्ने प्रश्नको जवाफ न संघ, न प्रदेश नत स्थानीय सरकारहरुसँग नै छ ।
विद्यार्थीलाई सिकाईसँग जोड्ने उद्देश्यकासाथ सरकारले गत असार १ गतेबाट दूरशिक्षा एवम् भर्चुअल शिक्षालाई अगाडी बढाउने निर्णय गरेको थियो, तर देशैभरमा प्रविधिमैत्री स्रोत–साधनको अभावका कारण सरकारको यो कार्यक्रम सफल हुन सकेन । यसअघि अर्थात् गत जेठ १८ गतेदेखि नै निजी विद्यालयहरुले अनलाईन कक्षा एवम् भर्चुअल कक्षाहरुको अभ्यास सुरुवात गरेका थिए । यो व्यावहारिक नभएको र निजी विद्यालयहरुले पैसा असुल्न चलाखी गरेको आरोपमा सरकारले अनलाईन कक्षा बन्द गर्न निर्देशन जारी गर्यो । यसैअनुरुप पोखरा महानगरपालिकाले शैक्षिक गतिविधिहरु बन्द गर्न आह्वान नै गर्यो ।

निजी तथा आवसिय विद्यालयहरुको संगठन प्याब्सनका सचिव महाकुमार घिमिरे भन्छन्– गत वर्ष पनि चैतमा हुनुपर्ने विद्यालयका परीक्षाहरु कोरोना महामारीका कारण फागुनमा नै गर्नुपरेको थियो । अब, अभिभावकहरुले त विद्यालयहरुको शुल्क परीक्षाको समयमा नै दिने चलन छ, यसले गर्दा पनि निजी विद्यालयहरु प्रभावित भएका छन् भने ७०/८० लाख विद्यार्थीहरुको पढाई अस्तव्यस्त भइरहेको छ । त्यसो त प्याब्सनले जहाँजे उपलब्ध हुन्छ अथवा पठनपाठन सञ्चालन गर्न सकिन्छ भन्ने हिसाबले ३ वटा टेलिभिजनबाट अनलाईन तथा भर्चुअल कक्षाहरु पनि सञ्चालन गरिरहेको छ ।
महिनौं लामो लकडाउन भयो, यसबीचमा लकडाउनको स्वरुपहरु बद्लिए, अन्ततः लकडाउन अन्त्य पनि भयो तर शिक्षा क्षेत्रको अन्यौल जस्ताको तस्तै रह्यो । आजको दिनमा आम विद्यार्थीको पढाई दिनानुदिन खस्कँदो छ, तर यसको जिम्मा न त सरकारले लिन्छ, नत, निजी संस्थाहरु नै यसको भार बोक्न चाहन्छन् । यद्यपि प्याब्सनका सचिव घिमिरे भने बालबालिका तथा विद्यार्थीहरुको पढाइप्रति निजी संघ, संस्थाहरु जवाफदेही छैनन् भन्ने कुरा गलत भएको दावी गर्छन् ।
घिमिरेका अनुसार अझै पनि शैक्षिक सत्रको क्यालेन्डर बिग्रिएको छैन र असम्भव पनि छैन । चारवटा कथा पढाउने ठाउँमा एउटा कथा पढाएर भएपनि यो वर्षको शैक्षिक सत्रलाई सफलतातिर डो¥याउन सकिने उनको भनाई छ । यसको लागि सिलेबसमा पनि धेरथोर परमार्जन गर्न आवश्यक हुन्छ । तर तल्लो तहका विद्यार्थीहरुमा भने दुइवटा मात्रै विकल्प छ, एउटा त कोरोना संक्रमणको जोखिमलाई न्यूनीकरण गर्नु नै हो भने अर्को चाहिं घर–घरमा, टोल–टोलमा जहाँ–जहाँ सम्भावनाहरु छन्, त्यही अभिभावक, शिक्षक वा भोलेन्टरहरुले पढाउनुपर्छ । कोरोनाविरुद्धको कुनै खोप नबनिसकेको अवस्थामा फर्मली एजुकेशन सुरु हुन नसकुन्जेल यही विधि अपनाउनुपर्ने उनको भनाइ छ ।
देशैभरमा झण्डै ५० प्रतिशत विद्यार्थी वैकल्पिक एवम् दूरशिक्षाको पहुँचबाट बाहिर रहने अवस्थामा छन् । टिच फर नेपालको २०७६ मा गरिएको एउटा अध्ययनले ग्रामीण क्षेत्रमा सार्वजनिक विद्यालयमा पढ्ने ६ प्रतिशत र निजी विद्यालयमा पढ्ने १६ प्रतिशत विद्यार्थीहरुमा मात्रै ईन्टरनेटको पहुँच देखाउँछ । राजधानी काठमाडौंमा अवस्थित बागमती प्रदेशमा ५६ प्रतिशत जनसंख्यामा मात्रै इन्टरनेटको पहुँच छ । आर्थिक सर्वेक्षण २०७६ अनुसार ५४ प्रतिशत नागरिकमा ईन्टरनेटको पहुँच छ भने सार्वजनिक विद्यालयमा पढ्ने ६ प्रतिशत र निजी विद्यालयमा पढ्ने १६ प्रतिशत विद्यार्थीहरुमा मात्रै ईन्टरनेटको पहुँच छ । यस अर्थमा भर्चुअल कक्षा मात्रै अहिलेको अवस्थामा पठनपाठनको विकल्प बन्न सक्दैन ।
विद्यालयहरुको आन्तरिक मूल्यांकनको आधारमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा छिटोभन्दा छिटो निकाल्ने तयारी गरिरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाईरहेको छ । यसबाट एसईई तहका ४ लाखका हाराहारीका विद्यार्थीहरुलाई मनोवैज्ञानिक रुपमा राहत पुगेपनि अन्य तहका ८० लाखभन्दा बढि विद्यार्थीहरुलाई दिशानिर्देश गर्न नसकिरहेको अवस्था छ । यो विषयमा खुला विश्वविद्यालयका उपकुलपति लेखनाथ शर्मा भर्चुअल कक्षाबारे आफूहरुको अनुभव यसरी बताउँछन्, – हामी त बेलुका ६ देखि १० बजेसम्म फेस टु फेस क्लास गर्छौ, यसरी नै ।
विद्यार्थीहरुलाई अथेन्टिक एसेस्मेन्टहरु दिन्छौं, एसाईन्मेन्टहरु दिन्छौं, सानो–सानो टेस्ट र क्वीज्हरु गर्छौं । यसले अनलाईन कक्षा प्रभावकारी हुनमा सहयोग गर्छ । यो दुइ प्रकारको हुन्छ, एउटा ट्रेडिस्नल एसेस्मेन्ट र अर्को अथेन्टिक एसेस्मेन्ट । अथेन्टिक एसेस्मेन्टमा विद्यार्थीहरुले प्राजेक्टहरु गर्छन्, एसे गर्छन् र रियल प्रब्लमहरुसँग टेस्ट र प्राक्टिस गर्ने विधि हुन्छ । हामी कवालिटीमा कम्पोरमाईज् गर्दैनौं । अहिले कोभिड–१९ को बेलामा स्वास्थ्य सुरक्षालाई नै प्राथमिकतामा राखिनुपर्ने शर्माको भनाई छ । र, यससँगै जोडिएको अनलाईन कक्षा, यो पनि हामीले भनेजस्तो भने नहुने शर्माको अनुभव छ । यसलाई पावर ब्याक् अप्मार्फत व्यवस्थापन गर्नुपर्ने उनको सुझाव छ, जस्तो कि, एसाईन्मेन्टहरु, वर्कबुकहरु डेभलप् गरेर ।
यतिबेला काठमाडौंको प्राईभेट स्कूलमा पढिरहेकाहरु पनि हुम्ला, जुम्लामा होलान्, कहाँको विद्यार्थी कहाँ पुगेका छन्, सबैतिर भर्चुअल कक्षा सम्भव पनि छैन, यो अवस्थामा पेपर एण्ड पेन्सिलको सहायताबाट पनि पढाइलाइ अगाडि बढाईनुपर्छ । त्यसो त अनलाईन र भर्चुअल पहुँच पुगेकाहरुमा पनि पढाईको मोडालिटी परिवर्तन गर्न आवश्यक छ । जो विद्यार्थी जहाँ छन्, त्यहीं बसेर पढ्ने, पढाउने अर्थात् नेटवर्क बेस लर्निङ एप्रोचमा हामी अघि बढ्नुपर्ने शर्माको धारणा छ । यससँगै यो संकटको समयमा कम्युनिटी बेस लर्निङ पनि उपयुक्त हुन सक्ने शर्माको सुझाव छ । तथापि, जसरी हुन्छ, त्यसरी पढाइ र सिकाइलाई विद्यार्थीहरुस“ग जोडिराख्नुपर्नेमा उनले जोड दिएका छन् ।
लकडाउन भएको ३ महिनाभन्दा बढी अवधि पश्चात् सरकारले सुरु गरेको दूरशिक्षा एवम् भर्चुअल शिक्षाका लागि सरकारले २५ करोड रुपैंया रकम छुट्याएको थियो । जुन रकम विनियोजन तथा सञ्चालनमा निजी विद्यालयहरुसँग सहकार्य नगरिएको भन्दै प्याब्सन तथा एनप्याबसन लगायतका निजी विद्यालयहरुका संघ, संस्थाहरुले असन्तुष्टि जनाएका थिए । देशैभरका ३५ हजार विद्यालयमध्ये झण्डै ३ हजार विद्यालयहरु अहिले क्वारिन्टीनमा परिवर्तन भएका कारण पनि विद्यालय तथा पठनपाठन सञ्चालनमा थप समस्या थपिरहेको छ ।

कोरोना महामारीका कारण प्राविधिक शिक्षा क्षेत्रमा पनि उत्तिकै प्रभाव परिरहेको छ । तथापि, समयानुकूल पढाईलाई निरन्तरता दिन आफूहरुले पहल गरिरहेको निजी प्राविधिक शिक्षालय महासंघले जनाएको छ । सबैका कारण शिक्षा क्षेत्रमा समस्याहरु थपिएका छन्, तर दोष मात्रै निजी विद्यालय सम्बद्ध संघ, संस्थाहरुले पाउने भन्दै निजी प्राविधिक शिक्षालय महासंघले पनि असन्तुष्टि जनाईरहेको छ । तथापि, आगामी दिनमा थप प्रभावकारी रुपमा प्राविधिक शिक्षालाई अगाडि बढाउनुपर्ने महासंघका अध्यक्ष शैलेन्द्र मोहन झाले बताए ।
यसैक्रममा पछिल्लो समय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरु विद्यालयमा पुग्नुपर्ने निर्णय गरेको थियो । तर यो पनि प्रभावकारीरुपमा कार्यान्वयन हुन सकिरहेको छैन । समय र जिम्मेवारी स्पष्ट हुन नसक्दा शिक्षकहरु विद्यालय पुगेनन् । यसले पनि शिक्षा क्षेत्रको गतिविधि अगाडि बढ्न नसकिरहेको हो । तथापि, कोरोना महामारीको समयमा स्वास्थ्य सुरक्षा अपनाई शैक्षिक सत्र अगाडि बढाउनुपर्नेमा भने सबैले जोड दिइरहेका छन् । कोरोनामुक्त जिल्लाहरुका विद्यालयहरुमै पनि ज्वरो नाप्ने थर्मल गन, मास्क, स्यानिटाईजरदेखि सामाजिक र भौतिक दुरीको समस्या उत्पन्न हुन सक्नेप्रति अभिभावक, विद्यार्थी र सरोकारवाला सबै चिन्तित छन् । यसले गर्दा वर्तमान अवस्थामा देशको शैक्षिक गतिविधि थप अस्तव्यस्त बनिरहेको छ ।
प्रतिक्रिया