अब पास भएकालाई पनि उपत्यकामा ‘नो ईन्ट्रि’, नेपाल प्रवेश गर्न तोकियो १० नाका

काठमाडौं, २७ साउन । काठमाडौं उपत्यकाका कोरोना भाईरसका संक्रमित बढेसँगै उपत्यकामा प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न थालिएको छ । उपत्यकाका स्थानीय तहले अत्यावश्यकबाहेकका पास भएका व्यक्तिलाई पनि उपत्यका प्रवेशमा रोक लगाउन थालेका छन् ।

स्थानीय निकायले एम्बुलेन्स, खाद्यान्न ढुवानी र अत्यावश्यक सेवाबाहेकका पास बहाकलाई पनि काठमाडौं उपत्यका प्रवेश निषेध गर्नेगरी अनुगमन थालेको बताएका छन् । काठमाडौं उपत्यका मेयर फोरमले हिजो गरेको तयारीलाई आजैदेखि कार्यान्वयन गर्नेगरी सबै स्थानीय तहले छलफल थालेका हुन् ।

चन्द्रागिरी नगरपालिकाले काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगामा अनुगमन गर्ने बताइएको छ । नगरपालिका प्रमुख घनश्याम गिरीका अनुसार अत्यावश्यक काम भनेर जिप्रकाबाट पास लिएर उपत्यका आउने क्रम बढेपछि नाकामै कडाइ गर्नेगरी तयारी थालेको बताए । पैदल हिँडेर काठमाडौं भित्रिनेहरुलाई पनि नियन्त्रणका लागि छलफल भईरहेको नगरपालिकाले जनाएको छ ।

नेपाल प्रवेश गर्न तोकियो १० नाका
सरकारले कोरोना संक्रमण बढेपछि भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाकामात्रै तोकेको छ । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार अहिले नेपाल प्रवेश गर्न १० वटा सीमा नाका कायम गरिएको बताए । यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएको थियो

नेपाल प्रवेश गर्न पाईने सिमा नाकाहरुमा झापाको काँडडभिट्टा, मोरङको रानी, सिरहाको मार्डर नाका , रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी रहेको छ । सरकारले कोरोना संक्रमणको जोखिमका कारण अन्य नाकाबाट भने नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको छ ।

पछिल्लो २४ घन्टामा थप ४ को मृत्यु, ६३८ जनामा स‌ंक्रमण
पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट ४ जना मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या संख्या ८३ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले धनुषा, काभ्रे र सिन्धुपाल्चोकका गरी थप ४ जनाको मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा धनुषाका ६० र ५० वर्षीय पुरुष, काभ्रेकी ५० वर्षीया महिला तथा सिन्धुपाल्चोकका ८४ वर्षीय पुरुष रहेका छन् ।

पछिल्लो २४ घन्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएको जानकारी दिए ।

कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको मन्त्रालयका प्रवक्ता गौतमले जनाए । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् । हालसम्म ८३ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएकामध्ये उपत्यकामा १३४ रहेका छन् । हिजो सोमबार मात्रै ४२ जना संक्रमित थपिएको उपत्यकामा वितेको २४ घण्टाभित्र १३४ जना संक्रमित थपिएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board