मनलाग्दी राहत, राहतमै विभेद

काठमाडौं २७ साउन । बाढी र पहिराका कारण घरगोठ भत्किएकालाई जिल्ला विपद् व्यवस्थापन समितिले दिने राहतमा विभेद हुने गरेको भेटिएको छ । समितिले बाढीपहिरो पीडितलाई मनलाग्दी राहत वितरण गरेको हो ।

यही साउन ७ गते बागलुङ नगरपालिका–५ मालिकामा पहिराका कारण भत्किएका पाँच घरपरिवारका लागि समितिले उपलब्ध गराउने राहत रकम फरक–फरक छ । एकै दिन घर भत्किएका हेमराज रेग्मीलाई समितिले रु १२ हजार उपलब्ध गराएको छ भने सोही ठाउँकी गङ्गा पौडेल उपाध्यायलाई रु ६ हजार उपलब्ध गराएको छ ।

मालिकाकै भरत रेग्मीले समितिका तर्फबाट रु १० हजार राहत लिएको छ । उनको गोठसमेत काम नलाग्ने गरेर भत्किएको छ । केही साताअघि पहिरोकै कारण घर भत्किएका बागलुङ नगरपालिका–४ कुँडुलेका टङ्कनाथ आचार्यले भने रु १५ हजार राहत पाउएका छन् । प्रजिअको नेतृत्वमा रहेको समितिले फरक–फरक समयमा राहतका लागि पुग्ने सर्वसाधारणलाई फरक फरक हिसाबले राहत दिएको पाइएको हो ।“क्षतिको हिसाबले भन्ने हो भने कम राहत पाउनेको क्षति बढी भएको छ”, बागलुङ –५ का वडाध्यक्ष शिवप्रसाद सापकोटाले भने, “प्रमुखजिल्ला अधिकारीलाई कुराकानी गर्दा बजेट नभएकाले फरक फरक भएको भने ।”

सरकारले पछिल्लो पटक बनाएको विधिअनुसार पाँचजनाको परिवारसम्मलाई घर भत्किएमा १५ हजार र त्योभन्दा धेरै परिवार सङ्ख्या भएमा प्रतिपरिवार रु २० हजार राहत रकम उपलब्ध गराउने व्यवस्था छ । पछिल्लो विधि बनाउनुपूर्व समेत घरगोठ बस्नै नमिल्ने गरी भत्केको परिवारलाई रु १५ हजारसम्म दिने व्यवस्था थियो । “हामीले केही जान्दैनौँ जति दिए उति लिइयो”, गङ्गाले भने, “हामीलाई त तपाईंले पाउने यत्ति हो भनेर दिएँ ।” विपद् व्यवस्थापन समितिबाट पाएको रकमले परिवारको एक महिनाको खाद्यान्न खर्चसमेत नपुग्ने उनले गुनासो गरे ।

बागलुङका प्रजिअ सुरेश न्यौपानेले बजेट कम भएकाले घटनाको अवस्था हेरेर रकम उपलब्ध गराउँदै आएको जानकारी दिए। “नयाँ विधि बनेको छ, बजेट पुरानै अनुसार आउँछ”,उनले भने, “बजेट नभएकाले मुचुल्काका आधारमा राहत दिनु परेको हो, सबै ठाउँमा आफैँ पुग्न सम्भव हुँदैन, कागजका आधारमा दिएका छौँ ।” विपद्को सामना गरिरहेका न्यून वर्गीय परिवारले भन्दा मध्यम वर्गका परिवारले राहत रकम धेरै पाएको वडाध्यक्ष सापकोटा बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board