प्रधानमन्त्रीका पदमा बसेर बेसार खाउ भन्ने हो ? – (जसपा र नेकपाका नेतासंग सवाल जवाफ)

भर्खरै सम्पन्न जनता समाजवादी पाटीको कार्यकारिणी समितिको बैठकबाट १० बुदें निष्कर्ष निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामाथि गैरराजनीतिक टिकाटिप्पणी सहित सरकारमाथि विभिन्न आरोप लगाएको सन्दर्भमा रहेर जसपाका कार्यकारिणी समितिका सदस्य प्रकाश अधिकारी तथा नेकपामा नेता तथा सांसद डा. सूर्य पाठकसँग अनन्त अनुरागले गरेको कुराकानीको संक्षिप्त अंशः

जसपा सनेता प्रकाश अधिकारी. नेकपा सांसद सूर्य पाठक

प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको व्यक्तिगत आरोप टिकाटिप्पणी ठिक छ ?
प्रकाश अधिकारी (जसपा)ः विल्कुल ठिक छ, हामीले निकालेको विज्ञप्ती पूर्ण रुपमा राजनीतिक छलफलमा आधारित विज्ञप्ती हो । पार्टी भित्रको राजनीतिक छलफलकै आधारमा पार्टीले निकालेको निष्कर्ष हो । विज्ञप्तीमा हामीले कुनै व्यक्तिलाई इंगित गरेका होइन, व्यक्तिसँग हाम्रो कुनै सरोकार पनि छैन, कोहीसँग व्यक्तिगतरुपमा रिसराग छैन । राजनीतिमा विचार, सिद्धान्त र व्यवहारसँग मात्रै सरोकार हुन्छ । तर, एउटा कुरा के सत्य हो भने, राजनीति गर्ने व्यक्ति केवल व्यक्ति मात्रै रहंदैन, ऊ सार्वजनिक सम्पत्ति हो, सार्वजनिक व्यक्ति हो । त्यस हिसावले सार्वजनिक पद धारण गर्ने व्यक्ति संस्था पनि हुने भएको हुनाले हामीले संस्थाको नेतृत्व गर्ने व्यक्तिको हैसियतले आफ्ना विचार र भनाइहरु व्यक्त गर्ने हो । हामीले त्यही गरेका छौं ।

तपाईहरुले जुन शब्दाबली प्रयोग गर्नुभएको छ, यदि त्यसो हो भने त उहाँ प्रधानमन्त्रीको पदमा बस्न पाउनु हुन्न नि ?

प्रकाश अधिकारी (जसपा)ः प्रधानमन्त्रीज्यूले, संस्थालाई जुन रुपमा लैजानु पर्ने हो, आज प्रधानमन्त्रीको बारेमा यस्तो भन्नुपर्ने बाध्यता किन आइपर्यो भने, हामीले प्रधानमन्त्री व्यक्तिलाई होइन, संस्थाको नेतृत्वको हिसावले भनेका हौं । प्रधानमन्त्रीले अहिले देशमा यस्तो महामारी फैलिएको छ, देशलाई जसरी जोगाएर लैजानु पर्ने थियो, जनतालाई आशा भरोसा दिनुपर्ने ठाँउमा देशलाई दिशा दिनुपर्ने बेलामा अरु तिर समय खेर फाली रहनुभएको छ । प्रधानमन्त्री पदको मर्यादाले जुन प्रकारले बोल्नुपर्ने हो, त्यो पदमा जुन गम्भीरताका साथ बोल्नुपर्ने हो, त्यो पनि हामीले पाइरहेको छैनौं ।

जुन शब्द प्रयोग भएको छ विज्ञप्तीमा, यो भन्दा पनि उपयुक्त शब्द चयन गर्न सकिन्थ्यो नि ?

प्रकाश अधिकारी (जसपा)ः प्रधानमन्त्रीज्यूले कोरोनामो इस्युमा, अन्तराष्ट्रिरय इस्युमा, छिमेकीसँगको सम्बन्धमा जुन अभिव्यक्ति उहाँको आईराख्या छ, उहाँ शारिरीक रुपमा कमजोर भएर हो कि मानसिक रुपमा उहाँ विक्षिप्त हुनुहुन्छ कि ? भन्ने चैं हामीलाई लाग्या छ ।

तपाईहरुले त निष्कर्ष नै निकाल्नु भएको छ नि ?
प्रकाश अधिकारीः उहाँलाई हामीले शारिरीक र मानसिक रुपमा कमजोर भनेका छौं । मानसिक रोगी भनेका छैनौं ।

एउटा राजनीतिक दलले प्रधानमन्त्रीज्यूलाई नै किटान गरेर यसरी आक्षेप र अरोप लगाउनु कति जायज छ ? सूर्य पाठक(नेकपा) : एउटा राजनीतिक दलले राजनीतिक चरित्रभित्र रहेर सरकारका कामकारबाहीप्रति टिकाटिप्पणी गर्छन् भने खण्डन गर्न सकिन्छ, बहस गर्न सकिन्छ । तर, के लाग्छ भने, वैचारिक स्खलन भएका, मुद्दाविहिन, गन्तव्यविहिन र सिद्धान्त नभएकाहरुले यहाँ भन्दा बढी बोल्ने विषय नै अरु के हुन्छ र ? यतिबेला उहाँहरुले जुन खालले आरोपित गर्नुभयो, यो कुनै नौलो होइन । उहाँहरुले २०७१, ०७२ सालतिर तत्कालिन एक पार्टीसँग गठनबन्धनमा हुनुहुन्थ्यो, त्यतिबेला पनि उहाँहरुले यस्तै आरोप लगाउनुभएको थियो । तर, त्यही केपी ओली भारतको नाकाबन्दी विरुद्ध डटेर सामाना गर्नुभयो, उहाँकै प्रमुख सहयोगमा संविधान घोषणा भयो । देशका जनताले लगभग उहाँलाई दुई तिहाईको सरकारको प्रधानमन्त्री चयन गरे । त्यही भएर उहाँहरुको तुच्छ टिकाटिप्पणीको बारेमा केही भन्नु छैन, जनताले हेरेका छन् । जनताले पक्कै मूल्याकंन गर्नुहुनेछ । एउटा दलले विकासको बारेमा, सरकारको नीतिको बारेमा, सरकारको कार्यशैलीमा फरक विचार मज्जाले राख्न सकिन्छ । तर, कुनै पनि देशको कार्यकारी प्रधानमन्त्रीलाई शारिरीक र मानसिक रोगी भएजस्तो गम्भीर आरोप लगाउन मिल्छ ? यो त कुष्ठाग्रस्त, अराजनीतिक, यस्ता आरोपका बारेमा के छलफल गर्नु ? जनतालाई नै निर्णय गर्न छोडिदिउं जस्तो लाग्छ ।

राजनीतिमा आक्षेप, आरोप, प्रत्यारोप गर्ने एउटा स्तर त होला नि ?

सूर्य पाठकः उहाँहरुको नजरमा यो ठिकै होला, उहाँहरु कसैलाई खुशी पार्नका लागि यस्तो आरोप लगाउनुभएको होला । जब देशमा सरकारले नयाँ नक्सा सार्वजनिक गर्यो, नागरिकताको बारेमा सुस्पष्ट रुपमा धारणाहरु बाहिर आए, त्यसपछि त हामीसँग कोही कोही त असाध्य रिसाइरहेका छन् नि । ति रिसाएकाहरुलाई खुशी बनाउनका लागि पनि यस्ता शब्दहरु हालिएको हो कि । तर, यो प्रेस विज्ञप्तीले उहाँहरुको राजनीतिक कद घटाएको छ ।

आरोप लगाउने पनि त एउटा सिमा होला नि ताकि भोली पुनः एक ठाँउमा बस्नुपर्यो भने शिर झुकाएर उभिनु नपरोस ?

सूर्य पाठकः सरकारको गतिविधि, नीति, कार्यक्रममा, राजनीतिक मुद्दामा प्रतिपक्षीको हैसियतले विरोध गर्नु उचित नै हो । सरकारले पनि प्रतिपक्षीको उचित सुझाव र सल्लाह ग्रहण पनि गर्नु पर्दछ । तर उहाँहरुको यस्तो गैरराजनीतिक टिकाटिप्पणीले उहाँहरुको ओज बढ्छ र ? राजनीतिमा र राजनीतिक कुरा गर्नु पर्यो, व्यक्ति विशेषलाई इंगित गरेर यस्तो कुण्ठाग्रस्त टिप्पणी पनि गर्ने हो र भन्या ?

प्रधानमन्त्री जस्तो पदमा रहनुभएको व्यक्तिलाई यस्तो आरोप लगाउनुपर्ने बाध्यता किन आयो ?
प्रकाश अधिकारी(जसपा) ः यो प्रधानमन्त्रीसँग व्यक्तिगत रुपमा कुनै पनि कुण्ठा होइन । हामी विचारकै धनी छौं । हामीले राजनीतिक कुरा नै गरेको हो ।

तपाईहरुको आरोप अनुसार त उहाँ प्रधानमन्त्री पदको लागि योग्य रहनु भएन नि ? त्यसो हो भने अविश्वासको प्रस्ताव ल्याउनुस न त संसदमा ?

प्रकाश अधिकारीः त्यो चरण पनि आउन सक्छ, हामी अविश्वासको प्रस्ताव पनि ल्याउंला, कोरोनाको लागि बेसार खाऊ, धनिया खाऊ भन्नु यो कुन मानसिकता हो ? प्रधानमन्त्रीको पदमा बसेका व्यक्तिले बोल्ने कुरा हो ? प्रधानमन्त्रीको पदिय दायित्व के हो ? कुनै पनि छिमेकी देशको निशान छापको बारेमा बर्खिलाप गर्नु, प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेको व्यक्तिले बोलेको सुहाउंछ ? त्यो पनि संसदमा रोष्ट्रममा उभिएर ? अहिले राम अध्योध्यमा जन्मेको हो कि नेपालमा ? गौतम बुद्ध भारतमा जन्मेको हो कि नेपालमा ? यि कुराहरुमा अहिले विवाद चर्काउनु पर्ने आवश्यकता के हो ? देखाउन के खोजिएको, भन्न के खोजिएको, पुष्टि गर्न के खोजिएको हो ? मुद्दाहरु एकतिर छन् देशमा, भ्रष्टाचार, सुशासन, जनजीविका लगायतका विषयमा बोल्नु पर्दैन ?

हिजो तपाईको पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीसँगै सरकारमा हुँदासम्म त्यतिबेला तिलस्मी देख्नुभएको थियो त ?

प्रकाश हामी कतै तिलस्मी देख्या थिएनौं । संविधान संशोधन गर्ने शर्तमा सहमति गरेर हामी सरकारमा गएका थियौं । संविधान संशोधनको प्रस्ताव लग्दाखेरी ठाडै लत्याइयो, हामी सत्तामा ओलीजी राम्रो हुनुहुन्छ भनेर गएको होइन, हामी ओली सरकारलाई बहुमत पुर्याउन सरकारमा गएका पनि थिएनौं । हामी राजनीतिक सहमति गरेर गएका हौं । उहांहरुको आग्रहमा सहमतिको आधारमा हाम्रो माग पूरा गर्ने शर्तमा हामी गएका हौं । हामीसँग गरिएको सहमति पालना नभएपछि हामी तुरुन्तै सरकारबाट बाहिर आएका हौं ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board