बाँकेमा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु : यातायात र हवाई उडान नखोल्न सिफारिस

काठमाडौं, २५ साउन । बाँकेमा कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा कोहलपुर नगरपालिका–२ घर भएकी ७० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट आइतबार दिउँसो मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए ।

निमोनियाका कारण शुक्रबार उनी अस्पतालमा भर्ना भएकी थिइन् । योसहित बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसअघि बैजनाथ गाउँपालिकाकी एक महिला र नरैनापुर गाउँपालिकाका एक पुरुषको कोराना संक्रमणबाट मृत्यु भएको थियो ।

यसैवीच अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखुल्ने भएको छ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर ९सीसीएमसी०को आइतबार बसेको बैठकले १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो ।

तर कोरोना भाइरसको संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ सम्म नखोल्ने प्रस्ताव तयार पारेको छ । बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिन आलोपालो गर्न प्रस्ताव गरेको छ । सीसीएमसीको बैठकले अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गरेको छ । भारतबाट आउने नेपालीहरुका लागि तोकिएको प्रवेश बिन्दु २० बाट १० मा झारिनेछ भने अन्यत्रबाट आउनेहरुलाई पूर्ण रुपमा निशेष गरिनेछ । तोकिएको प्रवेश बिन्दुबाट आवतजावत भइरहेको र सिमापार बजार क्षेत्रमा समेत कारोना संक्रमण फैलिएको भन्दै सीसीएमसीले दैनिक रुपमा किनमेल गर्न, कामदार ल्याउन हुने आवतजावततलाई पूर्ण रुपमा बन्द गर्न सिफारिस गरेको छ । यसबारे औपचारिक निर्णय भने भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने एक मन्त्रीले जानकारी दिए ।

अधिकांश जिल्लामा संक्रमितको संख्या बढ्दै गएकाले आइसोलेसनको अभाव देखिएकाले स्थानीय तह र जिल्ला संकट व्यवस्थापन केन्द्रको समन्वयमा आइसोलेसन र क्वारेन्टिनको थप व्यवस्था गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिए ।

जनस्वाथ्यका मापदण्ड पालना नगर्न संक्रमणको जोखिमसँगै मृत्युदर बढेको निष्कर्ष निकाल्दे बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board