शव नभेटिएपछि कुशको शव बनाएर दाहसंस्कार

काठमाडौं, २५ साउन । लिखु नदीले बगाएर बेपत्ता भएका ओखलढुङ्गाका एक युवक फेला नपरेपछि परिवारले अन्तिम दाहसंस्कार गरेको छ । चम्पादेवी गाउँपालिका–१० रानीवन निगालेका ३६ वर्षीय रोहितकुमार ढुङ्गेललाई गत बुधबार लिखुले बगाएको थियो । नदीले बगाएका ढुङ्गेलको उद्धार गर्न नसकिएको र शवसमेत नभेटिएपछि जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर आज अन्तिम दाहसंस्कार गरेको हो ।

ढुङ्गेल गत बुधबार बुबा र ससुरासँग गोठ सार्न गएका थिए । गाईबाख्रा खोला तार्ने क्रममा ससुरालाई नदीले बगाउन खोजेपछि ससुरा बचाउने क्रममा उनलाई नदीले बगाएको थियो । प्रहरी र स्थानीयवासीले निरन्तर खोजी गर्दा पनि फेला पार्न नसकेपछि परिवारले शुक्रबार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको चम्पादेवी–१० का वडाध्यक्ष उज्जन बुढाथोकीले जानकारी दिए । “उनलाई नदीले बगाएको सुन्नासाथ प्रहरी र स्थानीय हामी सबैले निरन्तर खोजियो, फेला पार्न सकिएन”, वडाध्यक्ष बुढाथोकीले भने, “कुशको शव बनाएर दाहसंस्कार गरी परिवारले आफ्नो संस्कारअनुसार काजकिरियाको काम थालेको छ ।” नदीले बगाएर बेपत्ता भएका ढुङ्गेलका श्रीमती र दुई सन्तान छन् ।

प्रहरीले भने ढुङ्गेलको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले बताए । जिल्लाभित्रको लिखु नदी किनारमा जिल्लाकै प्रहरी जनशक्ति र अन्य जिल्लाको प्रहरीलाई समेत सूचना दिएर शव खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । ओखलढुङ्गामा बर्सेनि पहिरोबाट ठूलो जनधनको क्षति हुँदै आएको छ ।

फरार अभियुक्त पक्राउ

ओखलढुङ्गामा जबर्जस्ती करणी उद्योगका फरार अभियुुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । जबर्जस्ती करणी उद्योगमा फरार रहेका जिल्लाको लिखु गाउँपालिका–५ का ५० वर्षीय रिकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

करीब छ महिनादेखि प्रहरीको फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओलढुङ्गाका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए । विसं २०७६ माघ २४ गते लिखु गाउँपालिका– ४ यसमकी ४५ वर्षीया एक महिलालाई जबर्जस्ती करणी उद्योग गरी थापा फरार भएका थिए । अभियुक्त थापालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board